श्रीमतीलाई जन्मदिनको उपहार स्वरुप राष्ट्रिय भावको पत्र – Kanika Khabar
Saturday, April 20Nepali News Portal

श्रीमतीलाई जन्मदिनको उपहार स्वरुप राष्ट्रिय भावको पत्र

    मा प्रकाशित

“तिम्रो पतिभन्दा अघि म देशको सिपाही ” पृय जीवन सङ्गीनी ! तिम्रो जन्म दिन खुब रमाइलो गरी पश्चिमाले जडौरीस्वरुप उपहार दिएको सस्कार ,केक काटेर मनाउने मन मलाई पनि थियो/छ । तर कोरोनाले देश सन्त्रासमा रहेको बेला काटेको केकको के अर्थ होला र? हुन त मेरो देशका प्रधानमन्त्रीले मुलुकप्रतिको माया र समर्पण देखाउन होला सायद देशकै नक्साको केक बनाएर काट्दा पनि मेरो देशको भुभागमा भारतीय सेना सडक बनाउने नाममा मेरै मातृभूमिमा गैँती बेल्चा हान्दै रहेछ ,पहरा फुटाउने नाममा आमाको कोखमा बिष्फोटक पदार्थ पड्काउँदै रहेछ। धन्न मेरो प्रधानमन्त्रीलाई त्यतिबेला सीमा जोडिएका आठमध्ये सात छिमेकीसँग सीमाकै लागि विस्तारवादी भारतले लिपुमा सडक खनेको थाहा रहेनछ । केकमा अनेक आलोचना हुँदा सातु मुछ्दै नमुछ्नु मुछेसी खान घिन नमान्नु भनेझैं भएका प्रधानमन्त्रीले उसका नक्सामा मेरो देश समेटेकोमा नक्सा छापेर के भो र एक इन्च जमिन छोडिन्नँ भनेसी मलाई कताकता मरिसकेको खलाँतीमा सास हालेझै भाको थ्यो ।

तर विगतका दृश्य रिल बनेर घुम्छन् दिमागमा प्रिय । नेताका लागि कुन देश कुन विदेश ? कतिपय बेला त लाग्छ,मानववस्ती भएको भए चन्द्रमामा पनि सरकार बनाउन यिनीहरु पार्टी गठन गर्थे, दलदलमा फसेर मुलुकप्रतिको जिम्मेवारी बिर्सेन्थे-चुनाबमा ब्युझन्थे अनि जनतालाई गुमराहमा राखेर कतिपय रास्ट्रनै संकटमा पर्ने सन्धी सम्झौता गर्थे होलान् । अब यो बिर्सन चाहेको मेरो अधुरो सपना होस् ।

तर प्रिय ढिलै भए पनि मेरो देशका प्रधानमन्त्रीले पुन: एकपटक दिवङ्गत भएकी आमाको दुधको भारा सम्झेजस्तो लागेको छ, विगतका बडे भैयाका मन्त्रणा र लगानी अनि आश्वासन बिर्सेर नक्सा छापेर देखाएका छन् । फेरि शंका यत्ति छ, कतै नक्साको मूल्य एमसीसीमा त चुकाउन पर्ने हैन ? शंका छ,कतै दिल्लीसँग मुकाबिला गर्ने नाममा कतै हाम्रो सार्बभौमसत्ता वासिन्टनसँग धितो त राखिने छैन ? विगतमा यस्तै आश्वासन बाँडेर मुलुकको नदीनालादेखी निर्णय अधिकार समेत विदेशीको लकरमा राखिएको दृष्टान्त छ हामीसँग। कोशीको पानी उ लान्छ,बाढी र वितण्डा हामीलाई । गण्डकीको नहर हाम्रो भूमिमा खन्छ,मरुभूमीकरण हामीलाई । शारदामा हाम्रो जमिनमा बाँध हाल्छ -भन्छ पानी आधाआधा । तर पानी उसलाई,समृद्धिको सपनाको तिर्खा हामीलाई । यसरी नै विगतमा हामीलाई उत्तानो पार्ने नेता ,सरकार र दरबारको कोपभाजन नभएको भए आज लिपु कोक्याउने थिएन,लिम्पियाधुरा दुख्ने थिएन अनि कालापानी चिच्याउने थिएन । हरेक रास्ट्रघात र सत्ताको लोलोपोतोसँग हामीलाई गुमराहमा राखिएको छ। कालापानीमा भारतीय सेना परेड खेल्दा नदेख्ने को थियो ? हाम्रो भूमि समावेश गरेर ४५ वर्ष अघि नै नक्सा बनाउन रोक्ने को थियो ? दिल्लीमै बसेर भारतसँग सुरुङ युद्ध गर्छु भन्ने को थियो ? महाकाली सम्झौताबाट मुलुकमा मध्यरातमा सूर्य उदाउँछ भन्ने को थियो ? एकएकको हिसाब गर्नु छ प्रिय। त्यो पनि लकडाउनमा बसेर सामाजिक दूरी कायम गरेर । हिसाब गर्नुछ, अनि रखबारी गर्नुछ बिगतका लोन्डुपहरु कतै प्रधानमन्त्रीका आशपास पुग्लान् र बिताउलान् । कि नेता,प्रशाशक या शासक बनेर विगतमा बाउन्न्न थप्पर त्रिपन्न घुस्सा खाएकाहरु अब चाहिँ सुध्रिए ? सोध्नु छ विगतका रत्नाकरहरु उस्तै छन् कि असली वाल्मीकि बनिसके?

प्रिय,हरेक पतिलाई पत्नीको जन्म दिनमा बहुमुल्य कोशेली दिन पाए हुन्थ्यो जस्तो लाग्छ नि । मेरो पेशामा कतिपयकोमा त्यसरी सौजन्यमा नजरना प्राप्त हुन्छ र त बोल्दैनन् नेपालको चौथो अङग अनि खुल्दैन यिनको विवेकको ढोका भन्ने पनि छ । तर नचिनेको र नदेखेको चोर बाउ बराबर भन्छन् ,त्यसैले तिमीलाई यही गनगन भयो है उपहार। फेरि मलाई भारतका मिडियाजस्तो छालाको मात्र पोसाकमा आउने शौख पनि त छैन, न दाताको बफादारीमा नुनले गलाएकाहरुजस्तो चुप बस्न मन छ ।

तिम्रो जन्म दिनमा विदेशबाट उधारोमा ल्याइएको “ह्यापी बर्थ डे “भन्न छोडेर मेरो भूमिमा ५९ वर्षदेखि बलात् बसेका भारतीय सेनालाई लल्कार्न मन पो छ त मलाई । तर डर लाग्छ,कतै त्यतिबेला दिल्ली र तिनका एमएम नरवाणेहरुले हाम्रा शासकले गोप्य रुपमा ती भूमि नै विनिमय गरेको तमसुक पो देखाउँछन् कि ?

प्रिय, आजकल शङ्का गर्ने बानीले निद्रा लाग्नै छाडेको छ, मनिषालाई सानो ट्विट गर्दा सामाजिक लाञ्छना लगाउने र मानवीयता नै त्याग्ने हुतिहाराहरुले कालापथ्थरमा काम गर्न जाने अनि कोइला खानीमा ध्वाँसे बनेका मेरा भाइहरुसँग कतै गलत व्यवहार नगरुन् । गोर्खा बटालियनका नाममा सर्जिकल स्ट्राइकमा मेरा भारत महान भन्दै लडेका बहादुर गोर्खालीलाई विभेद नगरियोस् अनि फेरि कसैलाई आपराधिकरुपमा गोबिन्द गौतम नबनाइयोस् । प्रिय,यो साल यसै भो, अर्को सालको झन भर छैन । किनकि म त मेरा प्रधानमन्त्रीलाई खुट्टा कपाउँलान् भनेर आड दिन पो हिडेँ बालुवाटार लकडाउनको वास्ता नगरी,मेरा प्रधानमन्त्रीको कानमा खुफियाले कानेखुसी गर्लान् भनेर जासुसी गर्न तुल्लिएँ,म त मेरा नेता बिक्लान् भनेर खबरदारीको हल्लाबोलमा पो सरिक भएँ।यसैको नाममा उत्तेजनाको आडमा संवेदना नगुमोस् भनेर साइरन फुक्न देबनारायणहरुलाई बोलाउन जान्छु प्रिय ।

म कति दिन आउन्नँ थाहा छैन, सल्लाह मिलेन अनि अन्तरास्ट्रिय जगतले पनि मत्स्य न्याय गर्यो भने त म बलभद्र र भक्तिहरुसँग सहमती गरेर अमरसिंह सहित किल्लाबाट विदेशी फौज लखेटेर आफ्नो आँटोकिलो बाँधेर उतै बस्न पनि सक्छु ।त्यतिबेला मेरो यादले सतायो भने ,मन बुझेन भने चित्त बुझाउन भने पनि अमर सहिद गङ्गालालले आफ्नो बुबालाई पठाएको चिट्ठी पढ्नू,सिरानीमा राखेर सुत्नु ल ।

तर पनि झिनो आशा प्रिय,मेरो प्रधानमन्त्रीले सिंह होशमै चढेका हुन् भने मलाई आशा पलाएको छ,यिनी नेल्सन बन्लान् लेन्डुप नबनून्, महात्मा गान्धी बनून् मोदी र नेहरु नबनून् अनि पृथ्वीनारायण शाह बनून् राजा चोग्याल जस्तो लाचार नबनून् ।

आऊ, तिम्रो जन्म दिनमा तिमी र म म बरू एउटा गीत गाऔँ –

कालपानी हाम्रो हो लिपु पनि हाम्रो ।

           लिम्पियाधुरा छोड भारत यसमै छ तिम्रो राम्रो ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्