कनिका डेस्क
जेठ २०, दाङ ।
लकडाउनकै बीचमा सरकारले उद्योगी तथा व्यवसायीलाई आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गर्न गरेको छ । सार्वजनिक सूचना नै निकालेर सरकारले कर तिर्न दबाव दिएको छ ।
यद्यपी लकडाउन शुरु भएपछि सरकारले करको भुक्तानी गर्ने समयावधि १४ वैशाखको मन्त्रिपरिषद बैठकले जेठ २५ सम्म बढाएको थियो ।
तर, पछिल्लोपटक लकडाउन लम्बिदै जाँदा सरकारले औपचारीक निर्णय भने गरेको छैन । बरु आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जविरवाना बच्न आग्रह गर्दै सार्वजनिक सूचना भने निकालेको छ ।
लकडाउन अवधिमा आर्थिक गतिविधि समेत ठप्प प्रायः छन् । यस्तो अवस्थामा कर तिर्न थप समय दिनुपनेर् माग उद्योगी तथा व्यवसायीको रहेकोछ ।
उता अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्री भने जेठ २५ पछि करहरुको विवरण बुझाउने र कर तिर्ने समय नथपिएको बताउँछन् ।
‘हामीले दुई महिना समय दिएकै हो, अब पनि कर उठाएनौं भने हिसाव–किताव मिलाउन गाह्रो हुन्छ,’ खत्रीले भने,’ यो महामारीको कहिले सम्म जान्छ हामि कसैलाई थाहा छैन, आर्थीक मसान्त लाग्दै छ । भएका कारोबार र आम्दानीको कर अब तोकिएको मितिमा बुझाउनै पर्छ । नत्र नियमअनुसार लाग्ने ब्याज र जरिवाना लाग्छ।’
आन्तरिक राजस्व विभागको सुचना अनुसार मूल्य अभिवृद्धि कर ऐनअनुसार फागुन र चैत महिनाको मासिक, २०७६ साल माघ–फागुन महिनाको द्विमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद जेठ २५ सम्म छ ।
मूल्य अभिवृद्धि कर फिर्ता प्रयोजनका लागि मूल्य अभिवृद्धि ऐनअनुसार कर फिर्ताका लागि दिन पाउने निवेदन अवधि सकिएपछि पनि २५ जेठसम्म नै छ ।
अन्तशुल्क ऐनअनुसार २०७६ साल फागुन र चैत महिनाको बुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तशुल्क दाखिला गर्ने म्याद पनि सोही मितिसम्म छ ।
सूचनाअनुसार आयकर ऐनअनुसार फागुन र चैत महिनाको बुझाउनु पर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको संशोधित विवरणसहित दोस्रो किस्ताको रकम समेत २५ जेठसम्म बुझाउनपर्नेछ ।
आर्थिक ऐनअनुसार फागुन र चैत महिनाको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दूरसञ्चार सेवा दस्तुर बुझाउने म्याद समेत सोही दिसम्म मात्र छ ।