राजनीतिक रुपमा बहुमतमा छु, बहुमत गुमाए एक मिनेट पदमा बस्दिनँ : मुख्यमन्त्री पोखरेल – Kanika Khabar
Friday, May 23Nepali News Portal

राजनीतिक रुपमा बहुमतमा छु, बहुमत गुमाए एक मिनेट पदमा बस्दिनँ : मुख्यमन्त्री पोखरेल

    मा प्रकाशित

जेठ २८, दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफू राजनीतिक रुपमा पूर्ण बहुमत रहेको बताएका छन् । आफू पूर्ण बहुमतमा रहेको र कहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा नबस्ने उनले बताएका हुन् ।

प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमका विषयमा शुक्रबार आफ्नो धारणाको राख्दै उनले जनता समाजवादी पार्टीले कारवाही गरेपछि पदमुक्त भएका चारजना मन्त्रीको सांसद पद सर्वोच्च अदालतको आदेशपछि कायम रहेकाले आफूसँग राजनीतिक रुपमा बहुमत रहेको मुख्यमन्त्री बताए ।
‘म संसदभित्रको राजनीतिक गणितमा विश्वास गर्छु, जबसम्म राजनीतिकरुपमा सत्तापक्षमा बहुमत रहन्छ म मुख्यमन्त्री रहन्छु’ उनले भने, ‘म अराजनीतिक तरिकामा विश्वास गर्दिन, राजनीतिक रुपमा बहुमत गुम्यो भने स्वाभाविक रुपमा एक मिनेट पनि सत्तामा रहनु हुँदैन भन्ने लाग्छ मलाई ।’

लुम्बिनी प्रदेशमा ८३ जना संसद रहेका छन् । ८३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीको दल नेकपा एमालेका ३८ सांसद छन् । गत वैशाख १९ गते उनी नेकपा एमालेसंग एकल बहुमत रहेको दावी गर्दै संविधानको १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।

तर अहिले एमालेको एकल बहुमत नभएको र जसपाका ४ जना सरकारमा सहभागी भएकाले सरकार संविधानको धारा १६(२)मा परिवर्तन भएकाले यो धारा अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने विपक्षी दलहरुको माग छ ।

तत्कालीन नेकपाबाट उपनिर्वाचन जितेकी विमला खत्री वलीले माओवादी केन्द्र रोजेको, एमालेका एकजना सांसद अमर बहादुर डाँगीले राजीनामा दिएका र दुईजनाले माओवादी केन्द्रका कूलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन समर्थन गर्दै हस्ताक्षर गरेपछि पोखरेल अल्पमतमा परेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्