जसपा विवाद : आयोगले दियो पुरानै कार्यकारिणी समितिलाई मान्यता, ११ साउनमा सनाखत गर्ने – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

जसपा विवाद : आयोगले दियो पुरानै कार्यकारिणी समितिलाई मान्यता, ११ साउनमा सनाखत गर्ने

    मा प्रकाशित

काठमाडौं, साउन ५ ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद निरूपण गर्न केन्द्रीय कार्यकारिणी समितिको सनाखत गर्ने भएको छ।

बिहीबार भएको सुनवाइपछि आयोगले पुरानै ५१ सदस्यीय कमिटीलाई साउन ११ गते ११ बजे सनाखतका लागि बोलाएको हो ।

अध्यक्ष उपेन्द्र यादवले आधिकारिकताको दाबी गर्दै पेश गरेको निवेदनमाथि सुनुवाइ गर्दै प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा गठित इजलासले यस्तो आदेश दिएको हो।

‘एकीकरण बखतका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई आफ्नो परिचय खुल्ने सक्कल नागरिकताको प्रमाण पत्र अथवा मतदाता परिचयपत्रको सक्कल लिएर साउन ११ गते ११ बजे आयोगमा उपस्थित हुन जानकारी गराउने आदेश भएको छ,’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने।

अध्यक्ष उपेन्द्र यादवले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिको ३० सदस्यको हस्ताक्षरसहित बहुमत आफूसँग रहेको भन्दै असार ४ गते आधिकारिकताको दाबी प्रस्तुत गरेका थिए।

त्यसअघि असार ४ गते अर्का अध्यक्ष महन्थ ठाकुरले यादव पक्षीय २० जनालाई निष्कासन गरी आफू पक्षीका लागि राखेर कार्यकारिणी समिति पुनगर्ठन गरेका थिए।

तर, आयोगले महन्थ पक्षले गठन गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिन अस्वीकार गरेको छ।

पुरानै केन्द्रीय समितिका सदस्यहरूलाई सनाखत गरिने भएपछि महन्थ पक्षलाई बहुमतको संख्या पुर्‍याउन सकस पर्ने देखिएको छ।

उपेन्द्र पक्षीय कार्यकारिणी समिति सदस्य रामसहाय यादव आफूहरूसँग बहुमत रहेको र त्यही आधारमा आधिकारिकताको दाबी प्रस्तुत गरेको बताए।

प्रवक्ता श्रेष्ठले साउन ११ गते कार्यकारिणी समितिको सनाखतपछि इजलासले थप निर्णय गर्ने बताएका छन्।

‘आयोगमा दाबी पेश गर्नुअघि त्यस्तो दलको तर्फबाट आयोगमा पेश भएको केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूमध्ये जुन पक्षसँग त्यस्तो समितिका पदाधिकारी र सदस्यको बहुमत रहेको छ त्यस्तो पक्षलाई विवाद उत्पन्न हुनुअघिको दलको हैसियतमा मान्यता दिइ अर्को पक्षलाई छुट्टै राजनीतिक दलको रूपमा मान्यता दिइ दर्ता गर्न सक्नेछ,’ राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४(६) मा भनिएको छ।

तर, विभाजित दलको मान्यता पाउन केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत सदस्य पुग्नुपर्ने सोही दफाको उफदफा (१) मा भनिएको छ।आयोमेलबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्