क्वारअन्टिनबाट एक लाेग्नेकाे भावुक पत्र – Kanika Khabar
Monday, December 9Nepali News Portal

क्वारअन्टिनबाट एक लाेग्नेकाे भावुक पत्र

    मा प्रकाशित

 

 

‌प्रिय

सायद यी शब्दमा बुनिएका भावना तिमीसामु प्रतिबिम्बित हुने अवसर प्राप्त गर्लान् या नगर्लान् तर यो ज्वालामुखी स्वरूप मनमा घोलिएका भावना विस्फोट गराई शितलता प्राप्त गर्ने अभिलाषामा छु।

कसैको स्वार्थपूर्तिको लागि भाइ आफ्ना साथीहरूसँग भेरीका माछाको चारो भएछ। स्तब्ध छु, त्यहाँको माहोल कस्तो होला भनेर? कहाली लागेर आउँछ त्यो सबै सम्झदा ।

आमालाई कस्तो बितिरहेको छ होला भनेर ? जसले जनयुद्धको बेलामा आफ्नो लोग्ने गुमाइन् अनि बलिदानीको नाममा आफ्नो यौवनलाई सम्हालेर हाम्रो भविष्यको पर्खाइमा बाँचिरहिन्। आज एउटा छोरा भेरीको माछाको सिकार र कसैलाई राजनीति गर्ने आधार बन्यो अनि अर्को छोरा कोरोनाले ग्रसित हुँदै भारतको अत्याचार सहदै दशगजाबाट यो पत्र लेख्दै छु।

गुनासो जनताको नाममा राजनीति गर्ने र बहुरुपी बन्दै हिड्नेसँग होइन। हात्ती छाप चप्पल किनेर लगाउन नसक्नेहरू अहिले राजा महाराजा हुदै अरबौंको राष्ट्र दोहन गर्ने, बलात्कारी, भ्रस्टाचारी, हत्याराहरुलाई संरक्षण गर्नेहरुसँग पनि मेरो कुनै गुनासो छैन। पतिको हत्याको पीडा भजाएर चुनाव जित्ने अनि प्रमुख पदमा हुँदा पनि हत्यारा पत्ता लगाउन पनि नखोज्नेहरसँग होइन प्रिय मेरो गुनासो।

कथित नेताहरुले कालोलाई सेतो र सेतोलाई कालो भन्न पनि पछि नपर्ने `एस म्यान´ हरुलाई के भन्नु ? जसको सोचको हैसियत जति छ उसले त्यति नै देखाउने हो। गुनासो छ त केवल आफैँसँग। पढेलेखेको पनि थिए केही गर्छु भन्ने हिम्मत पनि थियो। तर स्वाभिमानी नेपाली भई म बाँच्न सकिनँ । नेपालमा इमान्दारी , स्वविवेक, स्वाभिमान मात्र गुण केवल आत्महत्या गर्नेको लागि मात्र रहेछन्। कसैको क्षमता यहाँ राजनीतिले निर्धारण गर्छ उसको योग्यता र सिपले होइन। मैले मेरो योग्यता र सिपलाई विष बनाउन सकिनँ र कसैको `एस म्यान´ भएर बाँच्न पनि मेरो स्वाभिमानले दिएन प्रिय।

सस्तो लोकप्रियताका लागि मात्र पत्रकार सम्मेलन र सामाजिक सञ्जालमा देखिएको राष्ट्रियता करोडौंको कार्पेटमा चिप्लिएछ। संकटको घडीमा घुँडाले छातीमा टेकेर मुखमा मुक्का हानेको जस्तो व्यवहार गर्ने सरकारको के भरोसा गर्न सकिन्छ र ? मेरो उपचार कसरी होला र ? माइला बा क्वारअन्टिनमा नराम्रोसँग मरेछन् बिचरा । त्यो मृत्यु म मर्न चाहन्नँ। त्यसैले लिपुलेक गएर मर्न चाहन्छु। कमसेकम मेरो आत्माले शान्ति पाउला, पूर्खाको आत्मालाई शान्ति मिल्ला।

थाहा छैन तिमी र आमा रहन्छौ या रहदैनौ। यो महामारीले दया गर्छ या गर्दैन। हुन त अब गुमाउनलाई के नै बाँकी रह्यो र ? यदि रह्यौ भने त्यो पेटभित्रको बच्चाले संसार देख्ने अबसर पायो भने उसको नाम “क्वारअन्टिन” राख्नू र उसलाई यो देशको सङ्क्रमणबाट टाढा क्वारअन्टिनमा राख्नू ।

उही

बेनाम बेघर

गौरीफन्टा नाका दशगजा

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्