डायरीको पानाबाट : उत्तरदायित्व बिर्सिएको सरकार – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

डायरीको पानाबाट : उत्तरदायित्व बिर्सिएको सरकार

    मा प्रकाशित

बिनोद पोख्रेल

२०७७ भदौ २० गते
अस्वस्थता कम हुँदै गएको छ तर लेख्न मन आजको हकमा पटक्कै थिएन । प्रतिबद्धता नभएको भए मैले कलम नै पकडे नै थिएन । अस्वस्थताले भावनाहरलाई पनि आफूमै समेटिदिन्छ । म अस्वस्थ छु भन्ने के लेख्नु ? आज त निद्रा पनि लागेको हो वा नलागेको अहिले निद्राको असर त छैन तर राति भने धेरैपल्ट जागें । यस्तो कहिलेकाहीँ हुन्छ । यस्तो भयो भने मन आत्तिन्छ या डराउँछजस्तो लाग्छ ।

किन यस्तो भयो भन्ने सोच थपिन्छ, त्यसैले सायद डर थपिन्छ । मैले पैले पनि भनेको छु अस्वस्थ अवस्थामा आएका भावनाहरु यथोचित चित्रण गर्न समेत राम्री नसकिने हुनेरैछ । यस्तो भयो भने जे पायो त्यही जसरी आउँछ त्यसरी नै लेखिदिने गर्छु । मलाई डर एउटा कुरामा हुन्छ । अस्वस्थ अवस्थामा गम्भीर विषयहरु उठाउन सकिँदैन । लेखाई औपचारिकतामा सीमित हुन्छ । यसपल्ट केही अलि गम्भीर विषय पनि आए । तिनको विश्लेषण कस्तो भएको छ, त्यो मलाई थाहा हुँदैन । किनभने मैले दोहो¥याएर पढ्दैन ।

मैले लेखेको राम्रै हुनुपर्छ भन्ने दावी पनि छैन । राम्रोको परिभाषा नै छैन भने कसरी यसको मापन गर्ने ? मैले विश्वमै नाम चलेका साहित्यहरु पनि थोरै भए पनि पढेँ । तिनले जति चर्चा पाएका छन् त्यसको स्तरका नभएको मैले मूल्यांकन गरेको पनि छु । कति चर्चामा कम आएका तर म प्रभावित भएका साहित्यहरु पनि पढेको छु । मेरो लेखलाई मैले त्यति माथिल्लो तहको भन्ने कल्पना गर्न पनि सक्दैन । यो साहित्य हो कि होइन त्यसबारे पनि म मौन वा निरपेक्ष बस्न उचित ठान्छु । तर लेखाई भने हो । लेखाईले आफूलाई प्रभाव पारेर वा नरापेर केही हुँदैन ।

यसले पाठकलाई कति प्रभाव पार्न सक्छ अथाव कति आकर्षित गर्न सक्छ त्यो यसको कसी हो । यो कसीमा मेरो लेखहरु पुग्ने हुन् कि होइनन् मलाई थाहा छैन । अनि यसको पाठकमा कस्तो प्रभाव पर्ने भन्ने कुरा त धेरै टाढाको विषय भयो । त्यसैले मैले राम्रो, नराम्रो भनेर भन्न सक्ने स्थिति छैन । स्वस्थ मानिसकता र अस्वस्थ मानसिकतामा फरक स्वाभाविक कुरा हो । मन उक्स्याउन नसक्दा पनि लेख्नु र मनले नै लेख्न पडाउनुमा फरक हुन्छ । परिवेश पनि अब अति सीमित बन्दै गइरहेको जस्तो लाग्छ ।

मजस्तै कति धेरैले त समाचार सुन्न समेत छोडिसके । हिजो केही दिनअघि बन्द भएका हिन्दी च्यानलहरु थाहै नपाएर लगाए । आएका वा खुलेका रैछन् । किन बन्द भयो, कति खुले, केही शर्तसमेत खुलेकी, यस्तो हो भने ती शर्त के हुन् केही थाहा छैन । हामीलाई मतलब पनि छै्रन । राजनीतिमा बामदेवलाई राष्ट्रियसभामा नलगी नहुने बाध्यता के हो ? उनी त्यहाँ गएर के गर्ने हुन् त्यो पनि बुझि नसक्नु छ ।

समाचार सही हो भने लकडाउनले खान नपाएर मर्ने अस्वस्थामा परेकाबारे केही सोच वा चिन्ता भएजस्तो लाग्दैन तर कुनै नेतालाई विष संकलनका लागि सर्प पाल्न ७२ करोड दिने निर्णय भएको छ । प्राथमिकतामा भोका, बेरोजगार आम नेपालीहरु पर्नुपर्ने हो कि विष संकलन गर्ने नेताजीको व्यापार पर्ने हो यो पनि नबुझिने नै भएको छ । अनि के सुन्ने र केको बारेमा लेख्ने ? लेख्नुको मतलब नै छैनजस्तो पनि लाग्छ । तर मतलबको लागि लेखेकै होइन । त्यसैले त लेखिन्छ । सायद यहाँ यस्तै हो । सक्नेले खाने हो ।

पुरानो भनाइ छ– ‘बलियाले दाऊ खाने ।’ बलिया भएपछि नपरेको दाऊ पनि खाइन्छ । कुरा गर्नेले गराइरहन्छन् । काट्नेले काटिरहन्छन् । खानेले खाइरहन्छन् । उनीहरुले जसको हित गर्छन् वा जसको संरक्षण गर्छन् तिनी नै उनको लागि आम नेपाली नागरिक हुन् । फेरि धेरै देशमा कमाउन जाने सहमति गरिदिएकै छ । यहाँ केही गर्न नसक्ने वा नचाहनेहरु विदेश जान्छन् कमाउन । कसैले कसैलाई छेकेको छैन । जनताको हित भनेको सायद यही हो । यस्तोमा मजस्ताको डायरीमा पोखिएका गुनासो एउटा कुनामा थन्किने मात्र त हो ।

२०७७ भदौ २१ गते

स्वास्थ्य सुधारोन्मुख छजस्तो लाग्छ । आफू मात्रै बिरामी भएको भए कम चिन्ता हुन्थ्यो कि ? दुवैजना बिरामी भएकोले दुवै निको नहुँदासम्म धेरै वा थोरै मानसिक असर रहिरहने हुन्छ तर अब दुवै प्रगतिमै छौं । फेरि यो स्वास्थ्य भन्ने पनि आज ठीक हुन्छ । आज खोकी लागेन भनेर सन्तोष ग¥यो भोलि अलिअलि लागिहाल्छ । त्यस्तै त्यस्तै अब त भयो भन्यो, अलिअलि असर देखाइहाल्छ । मानिस पूर्णरुपले स्वस्थ हुन्छ कि हुँदैन कुन्नि ? यो कुरो व्यक्ति व्यक्तिको शारीरिक, मानसिक अवस्थामा पनि भर पर्छजस्तो लाग्छ ।

त्यसकारण मजस्तो छु त्यो मेरो लागि ठीकैको अवस्था हो भन्ने सोचको छु । केटाकेटी बिरामी भएका छैनन् । यसलाई ठूलो सन्तुष्टिको कारण मानेको छु । सायद आउँदो रातिबाट यसपल्टको लकडाउनको अवधि सकिन्छ । त्यसपछि के कस्तो उपाय गरिने हो थाहा छैन । आज या भोलिमा त्यो पनि थाहा होला तर अब कहिलेसम्म भन्ने प्रश्न सबैले गर्नुपर्ने भैसक्यो । अहिले हामी गजबको जीवन बाँचिरहेका छौं । रोगलाई राजनीतिसँग समेत जोडिएकाले यो बेकारको आतंक हो भन्ने तर्क पनि छ । रोग विस्फोट हुन्छ कि भन्ने डर पनि छ ।

सबैका आफ्ना आफ्ना तर्क छन् । यो केही होइन खालि समाजलाई आतंकित बनाउन गरिएको खेल हो भन्नेहरुले पनि मास्क लगाएका छन् । मास्क केही समय वा केही दिन लगाउने हो भने भाइरसको लक्षण आफै देखिन थाल्छ भन्ने तर्कहरु पनि आएका छन् । नेपालको सन्दर्भमा भन्दा रोग र राजनीतिलाई गाँसेर व्याख्या गरिएको यो पहिलो मौका हो, सायद । जसरी व्याख्या गरिएको छ, त्यो सुन्दा त्यति घटिया सोच पनि मानिसको दिमागमा आउन सक्छ त भन्नेजस्तो पनि लाग्छ । तर होइन भनेर राख्ने तर्क पनि हामीसँग छैन ।

आजभोलिको मेरो कुरा गर्ने हो भने मलाई त कोरोनाले मर्ने मानिसको संख्या कम भयो वा बढेको छ, त्यो पनि थाहा छैन । समाचारमा पनि त्यति ध्यान दिन्न । अति धेरै थरिका हुने–नहुने तर्कले मिच्छाएर पनि हो । आफू अस्वस्थ भएर पनि हो । त्यसमा पनि यस्तो स्थितिमा समेत राजनीतिक स्वार्थ पूरा गर्न अनेक किसिमका निर्लज्ज खेलहरु भइरहेको देख्न अझ दिक्दारी र मिच्छाहटले जित्छ । एकजना मानिसमात्रै खान नपाएर म¥यो भने राज्य व्यवस्थाको लागि यो चिन्ताको विषय हो । यसरी लकडाउन गरी नै रहने हो भने त्यस्ता समस्या बढ्नु स्वाभाविक हुन्छ । यहाँ त्यस्ता केसहरु दुई–चारवटा भइसके ।

तर राज्यको कुनै निकाय न त जिम्मेवार बनेको महसुस हुन्छ न त संवेदनशील नै देखिन्छ । यहाँ ठूला समाचार त डा. गोविन्द के.सीलाई औषधि किन्नसमेत नदिनु, बामदेवलाई राज्यसभामा लग्ने निर्णय हुनु आदि बनेका छन् । सायद डा. के.सी.ले औषधि किनेर देशमा ठूलो विद्रोह गराउने हुन् । अथवा बामदेव राष्ट्रियसभामा नभए देश नै अघि बढ्न सक्दैन । लाज पचाउनेले पचाइदिएपछि अरुले लाज मान्नुपर्ने रहेछ । सरकारले त केही सञ्चो पनि मानेको होला । कोरोनाको यत्रो हल्ला नभएको भए लिपुलेक, एमसीसी, भ्रष्टाचारजस्ता कुरालाई लिएर अगाडि बढेका आन्दोलन दबाउन पूरै तागत खर्चिनुपथ्र्यो ।

त्यतातिर सरकार केही हदसम्म निश्चिन्त छ । लकडाउनको निहुँले हाम्रा धेरै संस्कृतिमा चोट पुग्दैछ । अस्ति भर्खर इन्द्रजात्राको रथ तान्ने कुरामा पनि यो स्थिति देखियो । सरकार स्वयं सेनिटाइजरको नाममा अल्कोहलले हात धोएर खाना खान भनिरहेको छ । यो होलीवाइनको असर हो कि रोग नियन्त्रण गर्ने निर्विकल्प तरिका हो ? त्यो सोच्नेसम्म पनि कोही छैनजस्तो लाग्छ । अहिले यो देशै अँधेर नगरी चौप्ट राजा को स्थितिबाट गुज्रिरहेको छ । यो स्थिति कहिलेसम्म रहने हो त्यो कसैलाई थाहा छैन । यसको केही नराम्रा असरहरु देखिन लागिसकेका छन् । यस्तोमा पनि आफ्नो स्वार्थको लागि नांगो हुन तयार चरित्र देख्दा देश भगवान भरोसा चलेकोजस्तो लाग्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्