चुनावी गठबन्धन काङ्ग्रेसका लागि घाटा होला तर देशका लागि घाटा हुँदैन : उपसभापति खनाल – Kanika Khabar
Monday, April 29Nepali News Portal

चुनावी गठबन्धन काङ्ग्रेसका लागि घाटा होला तर देशका लागि घाटा हुँदैन : उपसभापति खनाल

    मा प्रकाशित

चैत्र २०, दाङ
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले स्थानीय निर्वाचनमा पार्टीले लिएको चुनावी तालमेल स्वागतयोग्य भएको बताएका छन् । सत्ता गठबन्धनका दलहरुबिच चुनावमा जाने पार्टीले गरेको निर्णय समयको आवश्यकता भएको बताउँदै उपसभापति खनालले वर्तमान सत्तागठबन्धनको बिरोधमा नलाग्न कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
काङ्ग्रेसले मुलुकमा अप्ठ्यारो अवस्था आउँदा देशको नेतृत्व लिएर मुलुकलाई खतराबाट बचाउँदै आएको बताउँदै उपसभापति खनालले भने, ‘काङ्ग्रेसले आफ्ना लागि चुनावी गठबन्धन गरेको होइन । देशको लोकतन्त्रलाई बचाउन, संविधानको संरक्षण गर्न चुनावी गठबन्धन आवश्यक ठानेको हो । हिजो नेकपा एमाले नेतृत्वको सरकारले लोकतन्त्र मास्नै लाग्दा लोकतन्त्रको बचाउ र संविधानको संरक्षण गर्न काङ्ग्रेसलाई नेतृत्वदायी तहमा सघाउने दलहरुको योगदान भुल्न हुँदैन । कमजोरहरुलाई छाडेर होइन, सँगसँगै लगेर जाने काङ्ग्रेसको लोकतान्त्रिक नीति, मर्म र विचार अनुरुप चुनावी गठबन्धन गरिएको हो । चुनावी गठबन्धनले काङ्ग्रेसलाई घाटा लाग्ला तर देशलाई कदापि घाटा लाग्ने छैन । देशका लागि काङ्ग्रेस घाटा व्यहोर्न तयार छ । देशको जीत नै काङ्ग्रेसको जित हो, लोकतन्त्रको जित हो ।’

 

आज आइतबार नेपाल प्रेस युनियन दाङमा आवद्ध पत्रकारहरुसँगको छलफलका क्रममा प्रदेश उपसभापति खनालले वर्तमान सत्ता गठबन्धन आगामी तीनै तहको निर्वाचन सम्मै कायम रहने र यसको बिरोधमा नलाग्न आग्रह गरे । ‘अहिलेको गठबन्धन स्थानीय, प्रतिनिधिसभा तथा प्रदेशसभा सम्म नै कायम रहने देखिन्छ,’ खनालले भने ‘पार्टी केन्द्रीय समितिले नै गठबन्धन गरेर जाने भनिसकेपछि हामी सबै कांग्रेसीहरु गठबन्धनको पक्षमा उभिनुपर्छ, बिरोधमा लाग्नु हुँदैन ।’
अहिलेको गठबन्धन कांग्रेस वा गठबन्धनमा आवद्ध दलहरुको हितका निम्ति मात्रै नभएको भन्दै खनालले समग्र् मुलुकका लागि आवश्यक रहेको बताए । ‘हाम्रो प्रतिष्पर्धा भनेको एमालेसँग हो, एमालेले हिजो सत्तामा रहँदा मासिनै थालेको लोकतन्त्र गठबन्धनले जोगाएको सत्य बिर्सन हुँदैन,’ खनालले भने ‘यसर्थ लोकतन्त्र बचाउनका लागि पनि गठबन्धनमा रहेका सबै दलहरु एक भएर लाग्नुको विकल्प छैन ।’

यसैगरी उनले स्थानीय तहको निर्वाचनमा हुने तालमेलका बिषयमा गठबन्धनमा रहेका अन्य दलहरुसंग पनि संवाद भैरहेको भन्दै तालमेलको मोडालिटी पनि तय हुने बताए । ‘कसरी कुन ढंगबाट वा कुन आधारबाट तालमेल गर्ने भन्ने बिषयमा केन्द्रले पनि मोडालिटी तय गर्ला,’ उनले भने ‘अहिले गठबन्धनमा रहेका दलहरुका बीचमा गठबन्धनका बारेमा छलफलहरु निरन्तर भइरहेका छन् ।’

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्