टिप्पणी : स्थानीय निर्वाचन, घोराही उपमहानगरपालिकामा कसले मार्ला बाजी ? – Kanika Khabar
Saturday, May 18Nepali News Portal

टिप्पणी : स्थानीय निर्वाचन, घोराही उपमहानगरपालिकामा कसले मार्ला बाजी ?

    मा प्रकाशित

कनिका डेस्क
चैत्र २८, दाङ ।

सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन आउन अब ३२ दिन मात्र बाँकी छ । लगभग एक महिना मात्र बाँकी रहँदा चुनावी सरगर्मी बढ्न थालेको छ । वैशाखको सँघारको चर्को घामलाई छिचोल्दै बढेको चुनावी सरगर्मी अझै सोचेबमोजिम र बढ्नुपर्ने जति भने बढेको छैन ।

सत्ता गठबन्धनका पाँच दलले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय गरेसँगै कुन दललाई कहाँको भाग पर्छ भन्ने अन्योल बाक्लिदै जान थालेपछि गठबन्धनको चुनावी रफ्तार सोचेबमोजिम बढ्न सकेको छैन ।

दाङका १० स्थानीय पालिका र एक सय वटा वडामध्ये बढी चर्चाको विषय बनेको छ — घोराही उपमहानगरपालिका । प्रमुख प्रतिपक्षी नेकपा एमाललेले बहाल नगर प्रमुख नरुलाल चौधरीलाई नै पुनः नगर प्रमुखमा दोहो¥याउन निश्चितप्रायः गरिसकेको छ । एमालेले लिएको यो निर्णयसँगै नगर प्रमुखको चुनावी प्रचार प्रसार र चुनावी रणनीति पनि तीव्र गतिमा चलायमान भइरहेको छ ।

यता सत्ता गठबन्धनमा कुन दललाई नगर प्रमुखको भाग पर्ने भन्ने अझै टुङ्गो लागिसकेको छैन । नेपाली काङ्ग्रेसले चुनावी तालमेल भए पनि आफूले नगर प्रमुख पाउनु पर्ने अडान राख्दै आएको छ भने नेकपा माओवादी केन्द्रले पनि सकेसम्म घोराही उपमहानगरपालिका नछाड्ने दाउँ कसेर बसेको छ । नेपाली काङ्गेसका तर्फबाट ०७४ सालमा स्थानीय निर्वाचनमा मेयरका उम्मेदवार भूपबहादुर डाँगीको नाम बढी चर्चामा रहेको छ । त्यस्तै माओवादी केन्द्रका तर्फबाट पनि पुरानै उम्मेदवार जीवन गौतमको नाम नगर प्रमुखको वृत्तमा आएको छ । यद्यपि यी दुबै उम्मेदवारको नाम भने पार्टीले अन्तिम नामका रुपमा सिफारिस गर्ने तयारीमा भने अझै रहेका छैनन् । नेपाली काङ्ग्रेसले पनि नगर प्रमुख पाएको खण्डमा डाँगी र माओवादी केन्द्रले पनि नगर प्रमुख पाएको खण्डमा गौतम नै उम्मेदवार हुने आभास कहिँकतै छाडेका छैनन् । तर, यी दुबै उम्मेदवारले भने आफूलाई पार्टीभित्रको बलियो उम्मेदवार ठान्दै आएका छन् ।

सम्भवतः पुरानै अनुहारका बिच घोराही नगर प्रमुखमा चुनावी भिडन्त हुनेछ । पुरानै अनुहार पुनः नगर प्रमुखको चुनावी मैदानमा देखिने भएका कारण पनि यस नगरको प्रमुखमा कसले बाजी मार्ने भन्ने सन्दर्भमा विभिन्न आँकलन गर्न थालिएको छ ।

गठबन्धनको दल र उम्मेदवार पनि टुङ्गो नलाग्दै प्रमुख प्रतिपक्षी नेकपा एमालले भने चुनावी गतिविधिलाई एक ढिक्कासँग अगाडि बढाइरहेको छ । उता एमाले पनि कसले टिकट पाउँछ र कसले पाउँदा आफूलाई सहज हुने खालका विश्लेषण र अंक गणितीय आँकलन गर्न थालिसकेको छ ।

०७४ को निर्वाचनमा नेकपा एमालेका नरुलाल चौधरीले २२ हजार ३० मत लिएर नगर प्रमुखमा विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धीमा नेपाली काङ्ग्रेस दखिएको थियो । काङ्ग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४ सय ८४ मत लिएका थिए भने माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत लिएर तेस्रो भएका थिए । विगतको परिणामलाई हेर्दा पनि एमालेलाई काङ्ग्रेससँग चुनावी मैदानमा भिड्न त्यति सहज छैन । त्यसो त गठबन्धन भइरहँदा भने एमालेलाई कठिन हुने कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

गठबन्धनको मोडालिटी कस्तो हुने एउटा पाटो भयो गठबन्धनले यसअघिको निर्वाचनको जनमतको कदर गर्न पनि उत्तिकै आवश्यक छ । घोराही उपहमहानगरपालिका १९ वटा वडाध्यक्षहरुले मात्र प्राप्त गरेको जनमतलाई हेर्ने हो भने नेकपा एमालेले १९ हजार ४ सय ९५ मत रहेको छ । नगरप्रमुखले प्राप्त गरेको मत भन्दा सो मत २ हजार ५ सय २३ मतले कमी हुन आउँछ । नेपाली काङ्ग्रेसका १९ वटै वडाका वडाध्यक्षले प्राप्त गरेको मत १८ अजार १ सय ५१ रहेको थियो । जुन नगर प्रमुखका उम्मेदवारले प्राप्त गरेको भन्दा ६ सय ६७ मत बढी रहेको छ । त्यस्तै माओवादी केन्द्रका १९ वटै वडाका वडाध्यक्षले प्राप्त गरेको मत १३ हजार ८ सय २२ रहेको थियो । जुन माओवादी केन्द्रका नगर प्रमुखका उम्मेदवारले प्राप्त गरेको मतभन्दा १ हजार ७ सय ४० ले बढी आउँछ । यो अंक गणितीय आँकडामा नेकपा एमाले कमजोर नै देखिन्छ । ०७४ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसभित्रको आन्तरिक कलह, नगर प्रमुखको टिकटमा भएको रस्साकस्सी, आन्तरिक रुपमा बढ्दो वैमनष्यता काङ्ग्रेसका लागि निर्वाचन पराजयका कारक थिए । १४ औँ महाधिवेशनले काङ्ग्रेसका बिचमा सिर्जना गरेको एकता, एक ढिक्का, पार्टीप्रतिको बफादारी, ०७४ को निर्वाचनले सिकाएको पाठ आसन्न निर्वाचनमा काङ्ग्रेसका लागि सकारात्मक पक्ष हुन् ।

 

निर्वाचनमा मतदान गर्ने मतदाता स्वभाविक रुपमा दुई शैलीका हुन्छन् । एक शैलीका मतदाता पार्टीप्रति प्रतिवद्ध कार्यकर्ता हुन्छन् भने अर्को शैलीका मतदाता व्यक्ति, विकास, प्रभाव र आश्वासनसँग जोडिएका हुन्छन् । उम्मेदवारले निर्वाचन जित्ने निर्णयक तथा मुख्य आधारमा पछिल्लो शैलीका मतदाताको भूमिका महत्वपूर्ण भएको नकार्न सकिदैन । त्यसो त २०७४ को स्थानीय निर्वाचनमा घोराही उपमहानगरपालिकामा ७८ हजार ४ सय १९ मतदाता रहेका थिए भने यसपालिको निर्वाचनमा १ लाख १२ हजार ९ सय २७ रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । ०७४ भन्दा यसपालिको निर्वाचनमा घोराही उपमहानगरपालिकामा ३४ हजार ५ सय ८ मतदाता वृद्धि भएका छन् । अबको आसन्न निर्वाचनमा वृद्धि मतदाता आफैमा निर्णायक मानिन्छन् ।

 

घोराही उपमहानगरपालिकाको निर्वाचन भने सोचे जति सजिलो देखिदैन । नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिसकेको अवस्थामा गठबन्धनमा छाएको अन्योलले मतदातासमेत अन्योलमा पर्न थालेका छन् । न त गठबन्धन साझा रुपमा चुनावी प्रचार प्रसारमा अगाडि बढेका छन् न त एकल रुपमा खुलेर अगाडि बढेका छन् । गठबन्धनको यो अन्योलले निर्वाचनको आँकलन पनि अन्योल नै देखिन्छ । नेकपा एमाले विभाजित पश्चातको नेकपा एसको प्रभाव यस क्षेत्रमा त्यति प्रभावकारी देखिएको छैन । यद्यपि नेकपा एससँग एक्लै चुनावमा भिड्ने, चुनाव जित्ने मत नभए पनि नेकपा एमालेलाई पराजय गराउन महत्वपूर्ण भूमिका खेल्ने मत भने अवश्य नै छ । यसप्रति को कति चनाखो र सुदृढ भएर चुनावी ‘रेस’ मा उत्रने हुन् र बाजी हात पार्ने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्