स्थानीय निर्वाचन : यस्ता छन् उम्मेदवार हुनका लागि मापदण्ड – Kanika Khabar
Saturday, May 18Nepali News Portal

स्थानीय निर्वाचन : यस्ता छन् उम्मेदवार हुनका लागि मापदण्ड

    मा प्रकाशित

वैशाख ६, दाङ ।
स्थानीय निर्वाचनको निर्धारित मिति आउन अब २४ दिन मात्र बाँकी रहेको छ । वैशाख ११ र १२ गते उम्मेदवारहरुको मनोनयनपत्र दर्ता गर्ने मिति तय गरिएको छ ।

संविधानको धारा २१५ (५) र २१६ (५) मा स्थानीय तहको अध्यक्ष /प्रमुख, उपाध्यक्ष /उपप्रमुख, वडाध्यक्ष र सदस्य हुन चारवटा शर्तहरु तोकिएको छ ।

कस्तो व्यक्ति उम्मेदवारका लागि योग्य मानिने छ ?

– उमेद्वार हुन खोजेको व्यक्ति नेपाली नागरिक हुनुपर्छ ।

– २१ वर्ष पूरा भएको हुनुपर्छ ।

– आफू उम्मेदवार हुने क्षेत्रको मतदाता नामावलीमा नाम भएको हुनुपर्छ ।

– कुनै कानूनले अयोग्य भएको हुनु हुँदैन ।

 

कस्तो व्यक्ति उम्मेदवार हुन अयोग्य मानिनेछ ?

– स्थानीय तह निर्वाचन ऐनको दफा १३९ग०मा सरकारको स्वामित्वमा वा नियन्त्रणमा रहेको निकायबाट पारिश्रमिक पाउने व्यक्ति उम्मेदवार हुन अयोग्य भनिएको छ ।

– स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको निकायबाट तलब खाने व्यक्ति पनि उम्मेदवार बन्न पाउने छैन ।

– निर्वाचन कसूरमा दोषी ठहर भएको व्यक्ति तोकिएको अवधिसम्म उम्मेदवार बन्न नपाउने व्यवस्था छ । अहिलेको ऐनमा निर्वाचन सम्बन्धी कानूनले कसूरदार ठहरेको भए कैद भुक्तान सकेर पनि दुई वर्ष नबिताएको व्यक्ति उम्मेदवार बन्न पाउँदैन ।

– निश्चित अपराधमा कसूरदार ठहरिएको व्यक्ति आजीवन उम्मेदवार बन्न पाउँदैन । अहिलेको ऐनमा भ्रष्टाचार, बलात्कार, मानव बेचबिखन, लागूऔषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोगमा दोषी ठहर भएको व्यक्ति उम्मेदवार बन्न मिल्दैन । त्यसबाहेक नैतिक पतन देखिने अरु अपराधमा २० वर्षभन्दा बढी सजाय पाएको व्यक्ति पनि उम्मेदवार बन्न नहुने व्यवस्था ऐनमा छ ।

– केही निश्चित अपराधमा कसुरदार ठहरिए कैद भुक्तान भएको निश्चित अवधिपछि मात्रै उम्मेदवार बन्न पाइने व्यवस्था छ ।

– संगठित अपराध वा कर्तव्य ज्यानको मुद्दामा तीन वर्षभन्दा कम सजाय पाएको भए कैदमुक्त भएको ६ वर्ष पूरा भएको हुनुपर्छ ।

– जातीय छुवाछुत, बोक्सी र बहुविवाहको मुद्दामा कैदमुक्त भएको तीन वर्ष पूरा नभइ उमेद्वार बन्न मिल्दैन ।

यी बाहेक अरु कुनैपनि आरोपमा ५ वर्ष कैद सजाय तोकिएको भए कैदमुक्त भएको ६ वर्ष पूरा हुनुपर्ने भनी आठौं शर्त तोकिएको छ ।

कुनै व्यक्ति कालोसूचीमा रहेको भए त्यो अवधिभर उम्मेदवार हुन पाउँदैन ।

कैदमा बसेको व्यक्ति पनि उम्मेदवार बन्न मिल्दैन ।

मानसिक सन्तुलन नभएको र प्रचलित कानूनले अयोग्य भएको व्यक्ति समेत उम्मेदवार हुन नपाउने भनी ऐनमा तोकिएको छ ।

साथै स्थानीय तहबाट पेस्की, बेरुजु बाँकी रहेको व्यक्ति पनि उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्