महाकवि देवकोटाको काव्यभूमि – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

महाकवि देवकोटाको काव्यभूमि

    मा प्रकाशित

मानिस जन्मन्छ र मर्छ अथवा धरतीमा जन्मनेहरु सबै एकदिन मर्छन् । यो एउटा स्वभाविक प्रक्रिया हो, जो प्रक्रिया अनवरत चलिरहेकै छ । मर्नेहरु सबै समाजको स्मृतिबिम्ब पनि बनिरहँदैनन् । समाजका लागि विविध विधा, क्षेत्र र आयामहरुमा सक्रिय रहेर योगदान गर्ने मानिसहरु मात्रै स्मृतिबिम्बका रुपमा रहन्छन् । त्यस्तै एउटा आदरणीय प्रतिभा हुन् महाकवि लक्ष्मीप्रसाद देवकोटा । नेपाली भाषा र साहित्यका एक अविष्मरणीय प्रतिभाका रुपमा उनको सम्मान आफैमा उल्लेखनीय रहेको छ । हरेक वर्ष लक्ष्मीपूजाका दिन वा त्यसको आसपासमा नेपालभित्र र बाहिर पनि उनको सम्झनामा विविध साहित्यिक कार्यक्रमहरु चलिरहनु यसैको एउटा गतिलो प्रमाण हो । विगतमा झैँ यस वर्ष पनि उनको सम्मानमा विभिन्न क्षेत्रहरुमा साहित्यिक कार्यक्रमहरु आयोजना भइरहेका छन् । त्यस अवसरमा उनको जीवनयात्रा, साहित्यिक कर्म र योगदानमाथि चर्चा परिचर्चा पनि चलिरहेका छन् । यो क्रम निरन्तर चलिरहनु निश्चय नै आजका लेखकपुस्ताका लागि प्रेरणाको स्रोत पनि हो ।

बि.सं. १९६६ कार्तिक २७ गते शुक्रबार लक्ष्मीपूजाका दिन काठमाडौं, डिल्लीबजारको धोबीधारामा जन्मिएका देवकोटाको मृत्यु बि.संं. २०१६ भाद्र २९ गते क्यान्सर रोगका कारण काठमाडौंको पशुपति आर्यघाटमा भएको हो । यसरी भौतिक रुपमा उनी पचास वर्षको आयुमात्र बाँचेका देखिन्छन् । आयुका हिसाबले उनी उमेरमै दिवंगत भएका हुन् । आफ्नो पचास वर्षको जीवनकालमा निश्चय नै उनले विभिन्न व्यक्तिगत, पारिवारिक, सामाजिक जीवनका आरोह अवरोहहरु पार गरेका थिए नै तर यस आलेखमा ती सबैको चर्चा असान्दर्भिक र असम्भव दुबै भएकाले यहाँ उनको काव्यिक जीवनका प्रमुख सन्दर्भ र प्रवृत्तिहरुका बारेमा मात्र चर्चा गरिनेछ ।

बहुमुखी प्रतिभा भएकाले लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक प्रतिभा विभिन्न विधाहरुमा फैलिएको देखिन्छ । सिर्जनाका दृष्टिले उनी कवि, निबन्धकार, कथाकार, उपन्यासकार र नाटककारका रुपमा पनि सार्वजनिक भएका छन् । उनको साहित्यिक सक्षमताको प्रमाण र ख्याति दुबै मूलतः कवितामा र त्यसपछि निबन्ध विधामा देखिएको विदितै छ । यीबाहेक अन्य विधाहरु उनका रहरका विधाहरुमा मात्र सीमित छन् भन्दा अत्युक्ति हुँदैन । कवितामा भने उनी लघुतम रुपदेखि लिएर महाकाव्यजस्ता भीमकाय संरचनासम्म विस्तारित भएका छन् । महाकाव्य लेखेका कारणले मात्र नभएर महान कवि भएका कारणले पनि उनलाई महाकविको सम्मान प्राप्त भएको हो । तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमा सुलोचना महाकाव्य तथा एकै रातमा कुञ्जिनी आदि खण्डकाव्यको रचना नेपाली साहित्यको इतिहासमा मात्रै नभएर विश्वको साहित्यमै काव्यसिर्जनाको दुर्लभ आधारशीला हो । त्यस्तै छ वटा पूर्ण महाकाव्य सिर्जना र शाकुन्तलको अङ्ग्रेजी अनुवादसहित सातवटा महाकाव्यको सिर्जना विश्वमै अभूतपूर्व प्रमाण हो । अन्य संस्कृत र नेपालीका अपूर्ण महाकाव्य लेखनका प्रयासहरु त आफ्नै ठाउँमा छँदैछन् । त्यसो त देवकोटा एक कुशल शिक्षक(प्राध्यापक र राजनीतिक व्यक्तित्वका रुपमा पनि प्रसिद्ध नै छन् । बनारसको प्रबासकाल, युगवाणी पत्रिकाको प्रकाशनमार्फत् नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता हुँदै २०१४ सालमा शिक्षा तथा स्वायत्त शासनमन्त्री बनेका घटना यसैका बलिया प्रमाणहरु हुन् ।

लक्ष्मीप्रसाद देवकोटाको सिर्जनात्मक यात्रा करिब चालीस वर्षको छ । पचास वर्षको जीवनयात्रामा चालीस वर्षको सिर्जनायात्रा आफैमा ऐतिहासिक महत्वको विषय हो । उनले दश वर्षको उमेरमै कविताको पूर्वाभ्यास गर्न थालेका प्रमाणहरु छन् । अङ्ग्रेजीमूलक माध्यमिक विद्यालयमा अध्ययन गर्दादेखि नै उनीभित्र स्वच्छन्दतावादी काव्यचेतनाको अभ्युदय भएको देखिन्छ । १९७६ देखि १९८६ सालसम्म उनले विभिन्न कविताको सिर्जना गरेर सिर्जनाको आफ्नै प्रकृतिको अभ्यास गरेका देखिन्छन् । पछि युवावस्थामा प्रवेश गरेसँगै १९८७ सालदेखि केही गीतहरु लेखेको र तिनलाई गाउन पनि दिएको भेटिन्छ । तर १९९० सालसम्मको देवकोटाको सिर्जनायात्रा अभ्यासिक अनौपचारिक नै रहेको प्रष्ट हुन्छ । यस बीचमा उनले तत्कालीन समयका चर्चित कविहरु लेखनाथ पौड्याल र बालकृष्ण समको परिष्कारवादी काव्यलेखनबाट केही प्रभावित हुँदाहुँदै पनि पाश्चात्य काव्यजगत्मा लोकप्रिय बनेको स्वच्छन्दतावादी शैली र भावभूमिबाट अधिक प्रेरित भई नेपाली काव्यफाँटमा त्यसको आमन्त्रण गर्ने अभियानमा नै जुटेका देखिन्छन् । यसैको परिणति १९९१ सालमा उनका पूर्णिमाको जलधि र गरिब गरी दुईवटा फुटकर कविताहरु प्रकाशनमा देखिए भने १९९२ सालमा उनको पहिलो कृतिका रुपमा मुनामदनजस्तो सर्वाधिक लोकप्रिय खण्डकाव्य कृति नेपाली साहित्यका पाठकहरुको बजारमा देखा प¥यो । यसरी देवकोटाको औपचारिक काव्ययात्रासँगै नेपाली कविताले एउटा नयाँ ऐतिहासिक अध्यायमा प्रवेश गर्न पुग्यो । यस यात्रामा सक्रिय सहभागी बने अर्का कवि सिद्धिचरण श्रेष्ठ । नेपाली कविताको स्वच्छन्दतावादी धाराको निर्माण र विकासमा देवकोटासँगै कवि श्रेष्ठको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।

नेपाली साहित्यका अध्येता तथा पाठक दुबैका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी र सिर्जनायात्रा दुबै निकै रोचक छन्, पठनीय र प्रेरणादायी पनि छन् । विषय विस्तारका भयले म उनको आँधीबेहरीजस्तो जीवनयात्रातर्फ जान चाहन्न साथसाथै उनको सिर्जनायात्राका विभिन्न आयामहरुको चर्चा र विश्लेषण पनि यस सानो आलेखभित्र सम्भव छैन । यति हुँदाहँुदै पनि उनको काव्ययात्राका केही महत्वपूर्ण मोडहरुका बारेमा केही प्रकाश पार्नु सान्दर्भिक नै हुनेछ ।

वर्तमानसम्म आउँदा महाकवि लक्ष्मीप्रसाद देवकोटाका ६ दर्जन बढी कृतिहरु प्रकाशित भएका छन् र त्यत्तिकै परिमाणमा उनका अन्य कृतिहरु अझै अप्रकाशित अवस्थामै रहेका छन् । यसबाहेक उनले नेपालीबाहेक संस्कृत, हिन्दी, नेवारी, उर्दू, अङ्गे्रजीलगायत नौवटा भाषाहरुमा लेखेका धेरै रचनाहरु यत्रतत्र छरिएका पनि छन् । तथ्याङ्कलाई आधार मान्दा पनि उनको साढे छ सयजति फुटकर कविताहरुको सङ्ख्या पनि छ । काव्यरचनाकै कुरा गर्ने हो भने पनि उनका मुनामदन, राजकुमार प्रभाकर, कुञ्जिनी, वसन्ती, रावण(जटायु युद्ध, म्हेन्दु, लूनी, मायाबिनी सर्सी, सीताहरण, कटक र मैना नामक खण्डकाव्य सङ्ग्रहभित्रका खण्डकाव्यहरु प्रकाशित छन् । यसैगरी शाकुन्तल, सुलोचना, महाराणा प्रताप, वनकुसुम, प्रमिथस, पृथ्वीराज चौहान नामक महाकाव्यहरु पनि प्रकाशित छन् भने देवकोटाका भिखारी, जन्मोत्सव, मुटुको थोपा, छहरा (भाग १ र २), मृत्युशैयाबाट, मनोरञ्जन, भावनागाङ्गेय, गाइने गीत, आकाश बोल्छ, छायाँसँग कुरा, लक्ष्मी कवितासङ्ग्रहजस्ता कविताकृतिहरु प्रकाशित छन् । यीबाहेक उनका पहाडी पुकार, दुष्यन्त शकुन्तला भेटजस्ता लघुकाव्य, नवरसजस्तो काव्यसङ्ग्रह, लक्ष्मी गीतिसङ्ग्रहहरुका साथै साबित्रीसत्यवान् नामक पद्यनाटक र कृषिबाला नामक गीतिनाटक पनि प्रकाशित भएका देखिन्छन् । यी सबै रचनाहरुलाई काव्यकृतिभित्र राख्नुका कारण कवितामै लेखिएकाले हो, यद्यपि विधागत दृष्टिले नाटक आफैमा स्वतन्त्र विधा हो नै ।

उनको काव्ययात्रालाई मोटामोटी रुपमा पाँच वटा मोडहरुमा राखेर हेर्न सकिन्छ । बि.सं. १९७६ सालदेखि १९९० सालसम्मको समय उनको कवितायात्राको पहिलो मोड वा चरण हो । यो उनको कवितायात्राको आभ्यासिक कालखण्ड हो । यस अवधिमा उनले केही कविता र गीतहरु त लेखे तर तीमध्ये कुनै पनि कृति प्रकाशनमा देखिएनन् । प्रकाशित भएर पाठकमाझ आउन नसकेका भए पनि यस समयका रचनाहरुले देवकोटाको काव्यसिर्जनाको आधार निर्माण गर्ने क्रममा भने निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका देखिन्छन् । त्यसपछि बि.सं. १९९१ सालदेखि १९९९ सालसम्मको समय कवि देवकोटाको कवितायात्राको दोस्रो मोड हो । कवि देवकोटाको कवित्वको सार्वजनिकीकरण, नेपाली कवितामा स्वच्छन्दतावादी कवितायात्राको प्रवर्तन र स्वयं कविकै लोकप्रियताका दृष्टिले समेत यो मोड निकै नै ऐतिहासिक रहेको देखिन्छ । यसपछि बि.संं. २००० देखि २००३ सालसम्मको समय देवकोटाको कवितालेखनको तेस्रो मोड हो । यस समयमा उनी महाकाव्य लेखनमा समर्पित भएका देखिन्छन् । यो उनको वैयक्तिक काव्यजीवनका सन्दर्भमा मात्र नभएर सिंगो नेपाली कविताको इतिहासमा समेत अति महत्वपूर्ण कालखण्डका रुपमा देखिन पुगेको छ । यसै अवधिमा उनले शाकुन्तल र सुलोचना महाकाव्य लेखे, जुन नेपाली साहित्यकै मौलिक महाकाव्य सिर्जनाका प्रथम पाइलाहरु हुन् । यसैगरी बि.सं.२००४ सालदेखि २००९ सालसम्मको समय देवकोटाको कवितायात्राको चौथो मोडका रुपमा प्रसिद्ध छ । उनको कवितायात्राको यस अवधिलाई नेपालको तत्कालीन राजनीतिक स्थिति र देवकोटामा बदलिदो राजनीतिक चिन्तन तथा सामाजिक उत्तरदायित्वले समेत निकै प्रभावित गरेको स्पष्ट हुन्छ । उनका यस अवधिका रचनाहरुमा तीब्र हाँस्यव्यङ्यचेतना, क्रान्तिचेतना, गद्यकविता लेखन तथा सिर्जनामा अपेक्षाकृत बढी सामाजिक उत्तरदायित्वको खोजीजस्ता प्रवृत्तिहरु देखिएका छन् । यसै समयमा देवकोटा प्रगतिवादी कविता लेखनतर्फ पनि अभिमुख भएका छन् । यस चरणले उनलाई एउटा क्रान्तिकारी कविको पहिचान दिलाएको छ । उनको काव्ययात्राको पाँचौँ वा अन्तिम मोड बि.सं. २०१० सालदेखि २०१६ सालसम्मको अवधि हो । यस अवधिमा लेखिएका उनका सिर्जनाहरु एकातिर प्रगतिवादी चिन्तनले ओतप्रोत बनेका देखिन्छन् भने अर्कातिर उनी क्रमशः परिष्कार परिमार्जनतर्फ पनि लागेका देखिन्छन् । २०१४ सालमा रुसको तासकन्दमा भएको अफ्रो एसियाली लेखक सम्मेलनमा उनले दिएको ऐतिहासिक प्रवचनबाट पनि उनको साहित्यिक चिन्तनलाई गहिरोसँग बोध गर्न सकिन्छ । उपरोक्त उनको कवितालेखनका पाँचै मोड वा चरणहरुलाई सजिलोका लागि पूर्वाद्र्ध र उत्तराद्र्ध गरी दुई चरणमा राखेर पनि हेर्न सकिन्छ । यसरी हेर्दा बि.सं. १९९१ सालदेखि २००३ सालसम्मको समय कवि देवकोटाको कवितायात्राको पूर्वाद्र्ध हो भने २००४ सालदेखि २०१६ सालसम्मको समय उत्तराद्र्ध हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी कविता लेखनकोे प्रवर्तन र विकासका दृष्टिले कवि देवकोटाको काव्यसिर्जनाको पूर्वाद्ध निकै महत्वपूर्ण समय मानिन्छ । यस समयमा उनी अङ्ग्रेजी स्वच्छन्दतावादी कविताशक्तिबाट निकै प्रभावित भएका देखिन्छन् । वड्र्सवर्थ, पि.बि.सेली, जोन किट्स, वायरन, कलरिजजस्ता प्रतिभाशाली अङ्ग्रेजी कविहरुका कविताहरुको अध्ययनबाट कविताहरु लेख्न थालेका भए पनि देवकोटाको कवितामा पि.बि.सेलीको प्रभाव अपेक्षाकृत बढी रहेको समालोचकहरुले औंंल्याएका छन् । उनका कवितामा बङ्गाली स्वच्छन्दतावाद र हिन्दी छायाँवादको प्रभाव नभेटिने होइन तर सबैभन्दा बढी प्रभाव अङ्ग्रेजी स्वच्छन्दतावादकै छ भन्ने कुरामा धेरै सहमत देखिन्छन् । उनको समग्र कवितायात्राको वैचारिक भूमिलाई अध्ययन गर्दा पछिल्लो चरणमा प्रगतिवादी चिन्तनको प्रभाव देखिएको पाइए तापनि उनको समग्र कवितायात्राको ठूलो भाग स्वच्छन्दतावादी कविताकै सेरोफेरोमा परिभ्रमण गरिरहेको देखिन्छ । यसबाट उनी मूलतः एउटा कुशल स्वच्छन्दतावादी कवि हुन् भन्ने नै प्रमाणित हुन्छ । अति भावुक चरित्र, तीव्र सम्वेदनशीलता र उच्च कल्पनाशील क्षमताजस्ता गुणहरुले देवकोटाको कवित्व निर्माणमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनका अघिल्ला चरणका रचनामा वस्तुताभन्दा आत्मपरकताको प्रभाव पाइनु त एउटा स्वच्छन्दतावादी कविको विशेषता नै भयो । त्यसमा अभूतपूर्व प्रतिभाको तीव्र वेग र आँशुकवित्वको योगदान पनि कम्ती अवश्य छैन । साथसाथै उनको कवितायात्रामा लोकशास्त्र र सौन्दर्यशास्त्रको चेतनादेखि आफ्नै कठिन जीवनसङ्घर्षका रङहरुको संयोजन आफैमा महत्वपूर्ण छँदैछ । यसको अर्थ प्रगतिवादी नेपाली कविता लेखनका क्षेत्रमा उनले दिएको ऐतिहासिक योगदानप्रति नजरअन्दाज गर्नुपर्छ भन्ने मेरो आशय भने पटक्कै होइन । उनका पहाडी पुकार, कृषिबाला, प्रमिथसजस्ता चर्चित काव्यकृतिहरुलाई प्रगतिवादी चिन्तनका आलोकमा राखेर हेर्नु नै बढी वस्तुवादी र न्यायोचित देखिन्छ ।

विभिन्न सन्दर्भमा देवकोटालाई विश्वका धेरै प्रतिभाहरुसँग तुलना पनि गरिएको छ । खासगरी हिन्दीका छायाँवादी कविहरु पन्त, प्रसाद र निरालाको कवित्वशक्ति एउटै देवकोटामा समाविष्ट छ भन्ने राहुल साङ्कृत्यायनको कथनलाई धेरैले उल्लेख गरेका छन् तर नेपाली समालोचक डा.बासुदेव त्रिपाठी भने देवकोटालाई मूलतः हिन्दी कवि निरालाका निकट रहेको दाबी गर्छन् । त्यसो त नेपालमा उनको जन्म हुनुलाई भौगोलिक भूल भन्नेहरु पनि छन् । विश्वको कुनै विकसित देशमा जन्मिएका भए देवकोटाले विश्वप्रसिद्ध नोबल पुरस्कार पनि पाउन सक्ने सम्भावना थियो तर नेपालमा जन्मिएका कारण जीवित छउञ्जेल उनले कुनै पनि पुरस्कार पाउन सकेनन् । उनको सिर्जना(चर्चा र योगदानको मूल्याङ्कन पनि उनको देहावशानपछि नै हुन थालेको विडम्बना नेपाली साहित्यकै एउटा अँध्यारो पृष्ठ हो ।

कवि देवकोटाका काव्यकृतिहरुको विषयक्षेत्र वा भावजगतलाई अध्ययन गर्ने हो भने एउटा विपुल भण्डार नै हाम्रा अगाडि देखिन्छ । मुनामदनजस्तो नेवारी लोकगीतलाई आधार बनाएर लेखिएको काव्यकृति होस् वा पहाडी पुकार, कृषिबालाजस्ता नेपाली जीवनका घामछाँयालाई प्रतिबिम्बित सर्न सफल कालजयी सिर्जनाहरु । चाहे पूर्वीय सभ्यताका इतिहास, धर्म, दर्शन र संस्कृतिका महत्वपूर्ण सम्पदाहरु समेटिएका सुलोचना, शाकुन्तल, वनकुुुसुम, पृथ्वीराज चौहान, महाराणा प्रतापजस्ता महाकाव्य रचना हुन्, चाहे पाश्चात्य सभ्यता र इतिहासलाई चित्रण गर्ने सृजामाता, मायाबिनी सर्सी र प्रमिथसजस्ता काव्यसिर्जनाहरु । यी सबैको सिर्जना उनको कल्पनाशक्ति र आँशुकवित्वका उत्पादन मात्रै अवश्य होइनन्, उनको इतिहासचेतना, मानव सभ्यताको ज्ञान र जीवनचिन्तनका गहिरा अभिरुचिका प्रतिफलहरु हुन् । यी रचना देवकोटाको विशाल ज्ञानको क्यान्भास र मानवतावादी जीवनदर्शनलाई प्रतिबिम्बन गर्ने कलात्मक आँखीझ्याल हुन् ।

उनका कविताहरुमा वार्णिक, मात्रिक, वर्णमात्रिक र लोकछन्दहरुको प्रयोग भएका छन् । उनका गद्य कविताहरुमा पनि प्रशस्त सङ्गीत चेतना रहेको देखिन्छ भने पद्य कवितामा प्रयोग भएका छन्दहरुले उनको प्राकृतिक कवि प्रतिभालाई पूर्ण रुपले अनुशासनमा बाँध्न भने सकेका छैनन् । शाकुन्तल महाकाव्य नै यसको गतिलो उदाहरण हो । उनका कवितामा बिम्ब, प्रतीक र अलङ्कारहरुको प्रयोग पनि प्राकृतिक नै छन्, कृत्रिम छैनन् । बिम्बहरु केही सामाजिक र साँस्कृतिक भए पनि अधिकांश प्राकृतिक छन्, स्वाभाविक छन् । उनका रचनामा प्रतीकहरु पूर्वीय र पाश्चात्य दुबै पृष्ठभूमिबाट लिइएका छन् । पूर्व र पश्चिम सबै समाजका मिथकहरु पनि उनको काव्यसिर्जनाका महत्वपूर्ण सामग्री बनेका देखिन्छन् ।

राष्ट्रप्रेम र स्वाधीनताको उच्च भावना, जनसरोकार र जनपीडाका स्पन्दन, युगीन विकृति र विसङ्गतिप्रति तीव्र व्यङ्ग्य, लोकजीवनप्रतिका आस्था र विश्वास, पूर्वीय सभ्यता र संस्कृतिप्रतिको गहिरो अनुराग, मानवतावादी विश्वदृष्टिकोण, अन्तर्राष्ट्रिय चेतना, युगचिन्ता र चिन्तन, प्रकृृतिको मानवीकरण आदि अनेक भावभूमिहरुले उनका कवितासंसार निर्मित छ । मूलतः प्रकृृति, ईश्वर र मानवतावादी विचारधारा उनको समग्र काव्यचिन्तनका केन्द्र बनेका छन् । कवितायात्राको मध्यभागमा क्रान्तिचेतना, विद्रोह र परिवर्तनकामी भाव मुखर बनेर आउँदा प्रगतिवादी स्वरले प्राथमिकतामा पाए पनि देवकोटाको कवितायात्राको औसत समय आध्यात्मिक रहस्यवाद, मानवतावाद र प्रकृतिगायनकै केन्द्र वरिपरि घुमेको भेटिन्छ । उनका उत्तरार्धका कवितामा (२००७ पछि) विश्वबोध, अन्तर्राष्ट्रिय स्थितिप्रति चासो, उपनिवेशवादको विरोध, विश्वशान्ति र भाइचारा सम्बन्धको वकालत, राष्टिय स्वाधीनताको पक्षपोषणजस्ता विषयहरुले पनि उत्तिकै स्थान पाएका छन् । उनका सबै काव्यकृतिहरु दोषरहित छन् भन्ने कदापि होइन । उनले मुनामदन बाहेक अरु कृतिहरुलाई परिमार्जन गर्ने न रुचि देखाए, न अवसर नै पाए । यसकारणले उनका सिर्जनाहरुमा पनि प्रशस्त दोष र सीमाहरु अवश्य रहेका छन् । यसका साथै आजको नेपाली समाजको गति र विश्वज्ञानको सापेक्षतामा हेर्दा उनका कतिपय रचनाहरु असान्दर्भिक पनि लाग्नसक्छन् तर तत्कालीन नेपाली समाजको शैक्षिक स्थिति, सामाजिक इतिहास र साँस्कृतिक अवस्थितिलाई हेर्ने हो भने महाकवि लक्ष्मीप्रसाद देवकोटाले इमान्दारीपूर्वक आफूू बाँचेको इतिहास, समाज र चेतनालाई निकै सफलतापूर्वक चित्रण गरेको कुरालाई कसैले नकार्न सक्दैन । यस दृष्टिले उनी नेपाली भाषा र साहित्यका एक कुशल शिल्पीमात्रै होइनन्, उनी आफ्नो युगका कुशल सौन्दर्यचिन्तक र निर्भीक युगगायक स्रष्टा पनि हुन् ।०

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्