इतिहासको गर्भमा लुकेको “गढीलेक किल्ला” – Kanika Khabar
Thursday, November 7Nepali News Portal

इतिहासको गर्भमा लुकेको “गढीलेक किल्ला”

    मा प्रकाशित


अनुसन्धान गर्दै जाँदा गर्भमा लुकेका इतिहासका धेरै महत्वपूर्ण रहस्यहरु उद्घाटन हुँदै जान्छन् । रहस्य उद्घाटन हुँदै जाँदा हाम्रो इतिहास पनि फराकिलो बन्दै जान्छ । इतिहास भनेको खोज्दै जाँदा भेटिँदै जाने गुप्त रहस्यहरुको भण्डार हो ।

रोल्पा जिल्लामा पर्ने गढीलेक अझै यस्तै इतिहासको रहस्य लुकाएर बसेको स्थल हो । यस लेकलाई सखीलेक पनि भन्दछन् तर ऐतिहासिक महत्वका कारणले यसलाई धेरैले गढीलेककै नामले चिन्दछन् । यो लेक दक्षिणी रोल्पामा पर्ने साविकका चारवटा गाउँ विकास समितिहरुको सन्धिस्थल पनि हो । गढीलेकको दक्षिणी भाग डुब्रिङ गाउँ विकास समिति, पश्चिमी भाग झेनाम गाउँ विकास समिति, पूर्वी भाग दुवीडाँडा गाउँ विकास समिति र उत्तरी भाग सखी गाउँ विकास समितिमा पर्दछ । वरिपरि चारवटा गाउँ विकास समितिहरु रहेको बीचको टापु नै गढीलेक हो ।


गढीलेक समुद्र सतहदेखि ६३१४ फिट अर्थात् १९२४ मीटर उचाइमा रहेको छ । यो २८०१३–२६.६०” उत्तरी अक्षांश र ८२०१३–४६.११” पूर्वी देशान्तरमा अवस्थित छ । यो यस क्षेत्रको सर्वाधिक अग्लो लेक हो । यो होलेरी बजारको शिरस्थानमा रहेको छ । यस स्थलमा हाल दरबारको भग्नावशेष र बाह्रसुडे किल्लाको भग्न भाग, दरबार र किल्ला वरिपरि टे«न्च र दरबारक्षेत्र वरिपरि पर्खाल रहेको देखिन्छ ।
गढीलेकको पश्चिमतिर अर्थात् दक्षिणको बाटो जाँदा मुखैमा दरबार क्षेत्र रहेको छ । दरबारको क्षेत्रफल ३६ मीटर डायोमिटरमा रहेको छ । यसमा अझै थोरै गाह्रोको भाग देखिन्छ । त्यस वरिपरि करीव १ मिटर गहिरो ट्रेन्च छ, जो दरबारका रक्षकहरु शत्रु पक्षबाट लुक्न र लुकेर आक्रमण गर्ने प्रयोजनका लागि बनाएको स्पष्ट थाहा हुन्छ । टे«न्च र पुरै दरबार तथा ठूलो प्राङ्गण समेतलाई घेरिएको १०० रनिङ मिटर ढुंगे पर्खाल छ ।

दरबार क्षेत्रदेखि करिब २० मिटर पूर्वमा बाह्रसुडे किल्ला छ । ढुंगे किल्ला करिब २.५ मिटर अगलो र १ मिटर जति मोटाइ छ । किल्लाका चारै दिशामा तीन–तीन वटा सुडहरु रहेका छन् । हाल सम्म पनि पूर्वी भागमा भने तीनवटै सुड देख्न सकिन्छ । किल्लाको भित्री भाग हेर्दा प्रत्येक पाखोमा दुई–दुई सैनिकले तोप हान्न सक्ने अवस्था देखिन्छ । सुरक्षाकर्मी लुकेर तोप छिराउने प्वालहरु राखिएका छन् । किल्लाका अन्य भागहरु भने भत्केको पाइन्छ । किल्लाभन्दा करिव ५० मिटर पूर्वमा स–साना अन्य किल्लाहरु पनि रहेका छन् । ती किल्लाहरु सम्भवतः मूल किल्लाको सुरक्षार्थ निर्मित हुन् ।

गढीलेकको ऐतिहासिकतासँग साथै आउने अर्को स्थल “म्याग्जन गढी” पनि हो । म्याग्जन गढी, गढीलेकको दक्षिणमा रहेको अर्को लेक हो । गढीलेक र म्याग्जन गढी बीचको दूरी करिव २ किलोमिटर होला । म्याग्जन गढी मुख्यरुपमा हतियार निर्माण गर्ने स्थल हो । गढीलेकको किल्लाको रक्षार्थ सेनाहरुका लागि म्याग्जन गढीमा हातहतियारहरु निर्माण हुन्थ्यो होला । यो ऐतिहासिक स्थलको निर्माण कहिले भयो र कुन प्रदेशको लागि कसले ग¥यो तथा यो कुन राज्यको क्षेत्रभित्र पर्दथ्यो भन्ने विषय गर्भमा रहेको छ ।

स्थानीय अनुभवी र पाकाहरुको सोधपुछमा गढीमा झण्डै वि.सं. २०२०÷२०२१ सालसम्म दरबारका भित्ताहरु रहेको भन्ने बुझिन्छ । वि.सं. २०४३÷२०४४ तिर स्थानीयवासीहरुले यसको संरक्षण गर्ने उद्देश्यले दरबारको पुनः निर्माण समेत गरेको देखिन्छ, तर वि.सं. २०५० को दशकमा त्यो संरचना पूर्णरुपले भत्केको हो । स्थानीयहरु गढीलेकमा भुरेटाकुरे राजाको दरबार रहेको र सो किल्ला पनि भुरे राजाको दरबार रक्षार्थ निर्माण गरेको हुनसक्ने बताउँछन् । ती भुरे राजा कहाँका, को थिए भन्ने जिज्ञासामा होलेरीका रुद्र सुवेदीले मैचन्यका सिंह ठकुरीहरु त्यस क्षेत्रका राजा भएका र गढीलेकमा तिनैको दरबार रहेको बताउनुहुन्छ । उहाँका अनुसार उनीहरुको राज्य वि.सं. १९९६÷१९९७ सम्म रहेको भन्ने बुझिन्छ ।

किंवदन्तीको विवरण मात्रै गढीलेकको ऐतिहासिक साक्षी हुन सक्दैन । यो कुन भुरेटाकुरे राज्य थियो ? यस राज्यको सिमाना कहाँसम्म थियो ? यस राज्यका शासकहरुको वंशावलीमा कुन–कुन राजाले राज्य गरे ? तथा वैज्ञानिक किल्ला र हातहतियार निर्माण समेतको व्यवस्था गर्ने प्रविधि कसरी विकास गरे र यस राज्यलाई कुन–कुन अन्य राज्यहरुले आक्रमण गर्ने खतरा थियो ? यो राज्य कहिलेदेखि कहिलेसम्म अस्तित्वमा रहन सक्यो ? यी सबै अनुत्तरित प्रश्नहरु छन् ।

गढीलेकको दरबार, किल्ला, म्याग्जन गढी सबैको ऐतिहासिक पक्षलाई केही प्रकाश पार्ने एउटा शिलालेख उपलब्ध भएको छ । होलेरी क्षेत्रको सम्भाव्यता अध्ययनका क्रममा वि.सं. २०६९ असार १५ गते यस आलेखका लेखक, डा. शिवकुमार सुवेदी, स्थानीय रुद्र सुवेदी र यामबहादुर दसौदी स्थलगत भ्रमणका क्रममा गढीलेकपछि गढीलेकको उत्तरी पाखो हुँदै सखी गाउँ विकास समिति वडा नं. २ पौवा गाउँस्थित दुर्गा मन्दिरमा पुग्दा मन्दिरभित्र कुनोमा फ्याँकिएको अवस्थामा एउटा भग्न शिलालेख प्राप्त भएको छ । शिलालेखको आधा भाग फुटेर लुप्त भएकाले अक्षर स्पष्ट भए पनि विषय प्रसंग कम स्पष्ट हुन्छ । तर शिलालेख लेखिएको भन्ने स्पष्ट हुन्छ । स्वभावतः शिलालेख दुर्गा मन्दिर स्थापनाको साइतमा नै लेखिएको होला । शिलालेखको लुप्त अंश उपलब्ध भएमा त्यसको प्रसंग पनि स्पष्ट हुन सक्नेछ । गढीलेकदेखि उत्तर नजिकमा दुर्गा मन्दिर स्थापना गरिनु र त्यो काल वि.सं. १८७१÷०७२ रहनुले गढीको किल्लालाई एकीकरण कालसँग जोड्नु उपयुक्त हुन्छ । सम्भवतः दरबार रक्षार्थ सेनाहरुले नवदुर्गामा शक्तिको उपासना गर्नका लागि नजिकमा दुर्गा मन्दिर स्थापना गरेका हुन सक्छन् । अर्थात शिलालेखले गढीलेकको ऐतिहासकितातर्फ गरेको संकेतले यो स्थल नेपालको मध्यकालीन इतिहासको एउटा महत्वपूर्ण धरोहर हुन सक्छ । यसको निरुपण गर्न शिलालेखको लुप्त भाग खोजी गर्नु प्राथमिक आवश्यकता हो भने गढीलेक, किल्ला क्षेत्र र म्याग्जन गढीक्षेत्र उत्खनन गर्नु पनि त्यत्तिकै जरुरी छ । उपर्युक्त कार्यहरुपछि मात्रै गढीलेकको लुप्त ऐतिहासिक पाटो बाहिर प्रकाशमा आउन सक्दछ ।

गढीलेक ऐतिहासिक पक्षका साथै धार्मिक पक्षसँग पनि जोडिएको छ । धार्मिक सन्दर्भमा यस लेकलाई सखीलेक भन्दछन् । स्वर्गद्वारी आश्रमका संस्थापक बालतपस्वी महाप्रभु हंसानन्द गिरी रोल्पाको सखी गाउँ विकास समिति वडा नं. ९ रुन्टीमा वि.स. १९१६ मा जन्मनुभएको थियो । बालतपस्वी महाप्रभु सानै उमेरमा योगमार्गमा लाग्नुभएको थियो । महाप्रभुले सखीको लेकमा तपस्यारत त्यतिखेरका प्रसिद्ध महात्मा सच्चिदानन्दसँग संगत लिएको भन्ने बुझिन्छ (डा. स्वामी प्रपन्नाचार्य, २०६९ः९७, विभूति) । कसैकसैले महाप्रभुले सखीलेकमा गुरु सच्चिदानन्दसँग तपस्या गरेको

भन्ने ठान्दछन् भने कसैले महाप्रभु सखीलेकमा नगएको बताउँछन् । तर महाप्रभुका चुटीगुरुको समाधि भने सखीलेकमा अद्यापि देख्न सकिन्छ । बालतपस्वी महाप्रभु सखीलेकमा जानु वा नजानु महत्वपूर्ण विषय होइन ।

महाप्रभुका गुरु सच्चिदानन्दले सखीलेकमा तपस्या गर्नु तथा चुटीगुरुको समाधि सखीलेकमा गराइनुले मात्रै पनि सखीलेकको धार्मिक महत्व र त्यस स्थलमा रहेका भग्न दरबार र किल्लाका अवशेषले ऐतिहासिक महत्व प्रस्तुत गर्दछन् । अतः “गढीलेक” नेपालको इतिहासको ग्रन्थमा एउटा पृष्ठ थप्ने स्थल बन्न सक्दछ, यो थप अध्ययन र संरक्षणको पर्खाइमा छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्