१७ नोभेम्वर २०१९ मा चिनको हुवेइ प्रान्तमा एक ५५ वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण देखिदै गर्दा सायद कसैले सोचेको पनि थिएन होला , यो महामारीको प्रभाव विश्वभर यस्तो गम्भीर हुन्छ भनेर । त्यस लगत्तै डिसेम्वरमा हुवेइ प्रान्तकै वुहान शहरलाई केन्द्र बनाएर फैलिएको संक्रमणले विश्वको ध्यान तान्दै गर्दा यस महामारीलाई रोक्नको लागि स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता सँगसँगै सरकार र सरोकारवाला निकायहरूको गम्भीर योजना र व्यवस्थापन अपरिहार्य बन्दै गएको देखिन्छ । हाल यूरोप र अमेरिकामा तीव्र गतिमा फैलिरहेको र यसले सारा विश्व र दक्षिण एसियाका राष्ट्रहरुलाई पनि चपेटामा पार्दै गएपछि समग्र मानव जातिको अस्तित्व माथिनै प्रश्न चिह्न उठ्न थालेको दयनीय अवस्था छ ।
सार्स कोभ —२ ( कोरना भाइरस ) भाइरस मानव शरीरमा प्रवेश गरेर कम्तिमा ५÷६ दिनपछि मात्र यसले आफ्नो लक्षणहरु देखाउँदै जान्छ । उच्च ज्वरो , थकाइ , सुख्खा खोकी र सास फेर्न गाह्रो हुनुका साथै कोही कोहीमा घाटी दुखाइ र नाक बन्द हुने लक्षणहरु पनि देखिन सक्छन् । सामन्यतया हावाको माध्ययमबाट नफैलिए पनि संक्रमित व्यक्तिको स्वास स्वस्थ व्यक्तिको नाक मुख अथवा आँखाको माध्यमबाट शरीरभित्र प्रवेश ग¥यो भने यो भाइरसले आफ्नो होस्ट भेटाउछ र घाँटी र त्यसपछि फोेक्सोमा भएका कोषहरूलाई खानाको रुपमा प्रयोग गरी अन्तत श्वासप्रश्वास प्रणालीमा गम्भीर समस्या देखिन थाल्छ ।
कोभिड —१९ संसारले झेलिरहेको नितान्त नयाँ र संक्रमक महामारी हो । वैज्ञानिकहरू यसको उपचार पद्धति र रोकथामको प्रभावकारी उपायहरू पत्ता लगाउन प्रयासरत रहदै गर्दा पनि विश्वभर करिब ७ लाख कोभिड —१९ का विरामीहरू अस्पतालबाट घर फर्किसकेको छन् , जसको श्रेय अस्पतालमा कार्यरत फ्रन्टलाइन स्वास्थ्यकर्मीहरूलाई जान्छ । यद्यपि कोभिड —१९सँग प्रत्यक्ष संलग्न भई काम गरिरहनुु भएका डाक्टर तथा नर्सहरूको लागि जोखिमको अवस्था नेपालमा मात्र नभएर विकसित र संगठित स्वास्थ्य सेवा भएका मुलुकहरूमा पनि विद्यमान छ ।
नेपालको सन्दर्भमा कोरोना विशेष अस्पतालमा कार्यरत नर्स तथा डाक्टरहरूको पहलो चुनौती भनेको पर्याप्त र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको व्यक्तिगत सुरक्षा वस्त्र , यसको उपलब्धता , गुणस्तर , प्रयोगशालामा हुने सुरक्षाको उचित प्रवन्ध , ल्याव तथा कोरोनाको नियन्त्रणसँग सक्वन्धित मेडिकल सामग्रीहरूको कमी नै हुन । यसका बाबजुद स्वास्थ्य सेवा जस्तो संवेदनशील सेवालाई यो राष्ट्रिय विपत्तीमा पूरा गर्नुपर्ने दायित्व अग्रस्थानका स्वास्थ्यकर्मीहरू नै हो ।
नेपालमा कोभिड—१९ समुदाय स्तरमा फैलिने चरणमा रहेकाले हामीसँग उपलब्ध भएका मौजुदा अवस्थाका पि.सि.आर मेशिन , इन्फ्रारेड थर्मोमिटर , टेस्टिङ किट्स , मास्क र पिपिइ सेटको संख्या बढाउदै नलाने हो भने जोखिमको सबभन्दा खतरामा अस्पतालमा कार्यरत नर्सहरू पर्ने सम्भावना देखिन्छ । न्युज विकको रिपोर्ट अनुसार संसारभर १०० भन्दा बढी नर्स तथा डाक्टरहरू कोभिड —१९ को सिकार हुनुका साथै हजारौको संख्यामा संक्रमित भएको अवस्था छ । यसले कोरोना रोकथामको पहलकदमीमा नकरात्मक प्रभाव पार्ने त छदैछ , अर्कोतिर संक्रमणको दर रोक्न सकिएन भने समग्र मानव जातीको अस्तित्व नै खतरामा पर्ने सम्भावना छ ।
कोरोना संक्रमित संगको प्रत्यक्ष सम्पर्कमा अस्पतालमा कर्यरत नर्सिङ स्टाफहरू हुने भएकोले उनीहरूको स्वास्थ्य सुरक्षाको प्रवन्ध आधारभुत कुरा हुदै गइराखेको छ । ज्वरो नाप्ने , औषधी दिने , रेखदेख गर्ने र स्वास्थ्य अवस्थाको बारेमा नियमित रोपोर्ट बुझाउनु पर्ने हुँदा र अस्पतालमा कोभिड —१९का विरामी र संकास्पद विरामी संख्या बढ्दै जादा कामको बोझ पनि थपिदै गएकोले कोभिड —१९संग काम गर्ने नर्सहरूको स्वास्थ्य र मानसिक जोखिमको अवस्था बढ्दै गइरहेको छ । अस्पतालमा आउने कोरोना संक्रमित र शंकास्पद विरामीहरूमा आफ्नो र स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा दिई निभाउनु पर्ने आचारसंहिता पालना नहुँदा पनि सन्त्रासको अवस्थामा सेवा प्रवाह गर्नुपर्ने अवस्था छ ।
कोभिड—१९ को संक्रमण बढ्दै जादा विरामीहरूको सेवामा खटिनुपर्ने नसीङ स्टाफहरूको संख्या बढाउनुको साथै आफ्नो सावधानीको लागि अपनाउनु पर्ने कुराहरूमा तालिम र उत्प्रेरणा दिनु राज्यको दायित्वभित्र पर्छ । राज्यको स्तरबाट फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरूको स्वास्थ्यको जोखिम न्यूनीकरण गर्न विश्व स्वास्थ्य संगठनको मापदण्ड र स्थानीय उपलब्धताको ख्याल गरी पर्याप्त मात्रामा स्वास्थ्य सामग्रीहरू प्रदान गर्नुको साथै कोभिड —१९बिरुद्ध अग्र मोर्चामा उभिने स्वास्थ्यकर्मीहरूको स्वास्थ्यमा समस्या भएमा विशेष प्राथमिकतामा राखी उपचार हुने व्यवस्था भयो भने यो लडाइमा स्वास्थ्यकर्मीहरूको मनोवल उच्च हुन्छ र यो महामारीको लडाइमा थप सहयोग पुग्छ साथै दिनरात नभनी सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीहरूको जीवनको विमा राज्यको तर्फबाट गर्ने र स्वास्थ्यकर्मीहरूको मनोवल बढाउन सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।
यो महामारी हो । यसले कसैलाइ चिन्दैन र छोड्दैन । त्यसैले बेलैमा हामी सचेत भएर सावधानीका उपायहरू अपनायौँ र राज्यको तर्फबाट यसको रोकथामको लागि चाहिने सम्पूर्ण कुराहरू प्रवन्ध भयो र अस्पताल र यसमा कार्यरत फ्रन्टलाइन स्वास्थ्यकर्मीहरूको सक्रियता , सहभागिता र सेवा प्रवाहलाई चुस्त बनायौ भने कोभिड —१९लाई हामी छिट्टै परास्त गर्ने कुरामा शङ्का छैन ।
लेखिका
(वि.एस्सी . नर्सिङ हुन् )