‘जब आदिवासी पोसाकमा ठाँटिए विद्यार्थीहरु’ – Kanika Khabar
Saturday, April 27Nepali News Portal

‘जब आदिवासी पोसाकमा ठाँटिए विद्यार्थीहरु’

    मा प्रकाशित

No description available.साउन २४, दाङ ।

सधैं विद्यालयले निर्देशन गरेको पोसाकमा सजिएर विद्यालय जाने विद्यार्थीहरू आज फरक उत्साह र पोसाकमा ठाँटिएका थिए । विभिन्न जातजातिका पोसाकमा ठाँटिएका विद्यार्थीलाई हेर्दा उनीहरू विद्यालय होइन कुनै उत्सव या पर्वमा सहभागी हुन जाँदै छन् जस्तो लाग्थ्यो ।

बढो उत्साह र उमङ्गका साथ विद्यालय पुगेका विद्यार्थीहरूको मुहारमा पनि उत्तिकै खुशी झल्किएको देखिन्थ्यो । एकले अर्काको पोसाक हेर्दै कुन जातिको पोसाक हो भन्ने बारे जानकारी लिइरहेका थिए । विद्यालय प्राङ्गणमा आफूले लगाएका पोसाकको बारे साथीलाई जानकारी गराउन तल्लीन थिए विद्यार्थीहरु ।

यो दृश्य थियो दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ मा अवस्थित राजविद्या पाठशालाका विद्यार्थीहरूको ।

‘विद्यालयमा पढाइ छ । सदाझैं आज पनि विद्यालयमा पठनपाठन हुन्छ । आज विश्व आदिवासी दिवसका अवसरमा आदिवासीको पहिचान र मूल्य मान्यताको बोध गर्न र गराउन हामी आदिवासी पोसकमा आएका छौँ । आजको हाम्रो विद्यालय पोसाक यही हो ।’ आज विद्यालयमा पढाइ छैन ? भन्ने जिज्ञासाको प्रत्युत्तर दिए कक्षा ७ का छात्र उत्सव गोराथोकीले । आज गोराथोकी गुरूङ पोसाकमा चिटिक्क सजिएका थिए ।

विश्व आदिवासी दिवसका अवसरमा आज विद्यालयले आज विद्यार्थीहरूलाई विभिन्न आदिवासी पोसाकमै विद्यालय बोलाएको थियो ।

‘आज विश्व आदिवासी दिवस हो । विभिन्न आदिवासी पोसाकमा आउँदा हामीलाई आदिवासी को रहेछन्, कुन कुन जाति रहेछन् भन्ने हामीलाई सजिलो भएको छ ।’ नेवार पोसाकमा चिटिक्क परेकी कक्षा ४ की छात्रा प्रनिता श्रेष्ठले बताइन् ।

‘हामीले पढ्दै आएका कुरा, सुन्दै आएका कुरालाई आज झनै सजिलोसँग बुझ्ने मौका पाइयो । आदिवासीको पहिचान, महत्व र इतिहासका बारेमा केही ज्ञान पायौँ । मगर पोसाकमा सजिएकी कक्षा ७ की छात्रा प्रतिका जिएमले बताइन् ।

दाङको राजविद्या पाठशालाले एक कार्यक्रमका बिच आज विश्व आदिवासी दिवस मनाएको छ ।

‘हामीले हरेक अवसर र दिवसलाई कुनै न कुनै कार्यक्रमका बिच मनाइरहेका हुन्छौँ । हामीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा त्यसका बारेमा विद्यार्थीलाई केही जानकारी दिलाउन सक्नुपर्छ, जसबाट विद्यार्थीहरूले व्यवहारिक ज्ञान प्राप्त गर्न सकून्,यो हाम्रो शैक्षिक क्यालेन्डर नै हो ।देशभर विश्व आदिवासी दिवसको मनाइरहँदा आदिवासीका बारेमा केही ज्ञान विद्यार्थीलाई दिलाउनु हाम्रो शैक्षिक उद्देश्य हो ।’ प्रिन्सिपल टीकाजंग बिकेले बताए ।

कार्यक्रममा कक्षा २ की छात्रा आदिश्री केसी, कक्षा ६ की छात्रा भविष्का केसी, कक्षा ६ का छात्र अर्नव चोवे, कक्षा ४ का छात्र सुवोध घिमिरे, कक्षा ७ का छात्राहरू सुवासना नेपाली, अवनी गौतम, कक्षा ५ का छात्रहरू शिशिर कुमाखी र अश्विन सेन्चुरी लगायतले विश्व आदिवासी दिवसका बारेमा विचार राखेका थिए ।

२८ ओैँ विश्व आदिवासी दिवसका अवसरमा विद्यार्थीहरू विभिन्न आदिवासी पोसाकमै विद्यालय आएका थिए । साथै शिक्षक शिक्षिका पनि विभिन्न आदिवासी पोसाकमै आज विद्यालय पुगेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्