कनिका खबर
असार ११, काठमाडौँ ।
चीनले नेपालको भूमि अतिक्रमण गरेको र त्यसलाई फिर्ता ल्याउनका लागि पहलको माग गर्दै संघीय संसदको प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव पेश भएको छ । नेपाली काँग्रेसका सांसदहरु देवेन्द्रराज कंडेल, सत्यनारायण शर्मा खनाल र सञ्जयकुमार गौतमले प्रतिनिधि सभामा हिजो संकल्प प्रस्ताव पेश गरेका हुन् ।
दोलखा, हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा, गोरखा र रसुवाका ६४ हजार हेक्टरभन्दा बढी भूभाग अतिक्रमणमा परेको सङ्कल्प प्रस्तावमा भनिएको छ । अतिक्रमणमा परेको भूभागलाई कुटनीतिक माध्यमबाट फिर्ता ल्याउनका लागि र त्यहाँको स्थिति एवं वास्तविक अतिक्रमणमा परेका भूभाग र गाउँको अवस्थाबारे संसदलाई जानकारी गराउन उनीहरुले माग गरेका छन् ।
नेपालको निशान छापमा अंकित नेपालको भौगोलिक, राजनीतिक नक्सा अनुसार नेपाल र चीनबीच १४१४.८८ किलोमिटर सिमाना रहेको र ९८ वटा सीमा स्तम्भहरु रहेको उल्लेख गर्दै काँग्रेसका सांसदहरुले ९८ वटा सीमा स्तम्भमध्ये केही सीमा स्तम्भ हराएका र केही नेपालभित्र सारिएको दाबी गरेका छन् । गोरखाको सीमानामा पर्ने ३५, ३७ र ३८ नम्बर सीमा स्तम्भ र सोलुखुम्बुको नम्पा भञ्ज्याङमा पर्ने ६२ नम्बर सीमा स्तम्भ हराएको प्रस्तावमा उल्लेख छ ।
मा प्रकाशित