प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्रसहित ५८ राजनीतिक दलले दिए उम्मेदवारी, सबैभन्दा बढी स्वतन्त्रका उम्मेदवार र सबैभन्दा बढी स्थानमा दियो राप्रपाले उम्मेदवारी – Kanika Khabar
Sunday, May 5Nepali News Portal

प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्रसहित ५८ राजनीतिक दलले दिए उम्मेदवारी, सबैभन्दा बढी स्वतन्त्रका उम्मेदवार र सबैभन्दा बढी स्थानमा दियो राप्रपाले उम्मेदवारी

    मा प्रकाशित

असोज २५, दाङ ।

मंसिर ४ नजिकिरहँदा चुनावी गतिविधिले पनि बाक्लो रुप लिन थालेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाका निर्वाचनका लागि उम्मेदवारहरुले चुनावी गतिविधि बढाइरहेका छन् ।
प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्रसहित ५८ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार १६५ सीटको लागि हुने प्रतिनिधि सभा निर्वाचनको लागि २ हजार ५२६ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमध्ये २ हजार २९१ जना पुरुष र २३५ जना महिला रहेका छन् । उम्मेदवारी दिनेमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका छन् । उम्मेदवारी दिनेमध्ये ९४३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा ८५ जना महिला र ८५८ जना पुरुष रहेका छन् ।

राजनीतिक दलहरूमध्ये सबैभन्दा बढी स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । आयोगका अनुसार राप्रपाले १६५ स्थान मध्ये १४५ स्थानमा आफ्ना उम्मेदवारहरु उठाएको छ ।

एमालेले १४४ स्थानमा उम्मेदवार उठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १३३ स्थानमा उम्मेदवारी दिएको छ । यस्तै, नेपाल मजदुर किसान पार्टीले १०७, नेपाली कांग्रेसले ९२, मंगोल नेशनल अर्गनाइजेसनले ८८, जनता समाजवादी पार्टी, नेपालले ८१, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले ६५, हाम्रो नेपाल पार्टीले ६४, राष्ट्रिय जनमुक्ति पार्टीले ५६, जनमत पार्टीले ५५ र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ५२ स्थानमा उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले ४७, नेपाली कांग्रेस (बी.पी.) ले ४०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ३९, नागरिक उन्मुक्ति पार्टीले ३४, जन समाजवादी पार्टी नेपालले ३४, नेपाल आमा पार्टी र नेपाल नौलो जनवादी पार्टी र सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले २६, नेकपा (माक्र्सवादी लेनिनवादी) ले २५ र नेकपा (एकीकृत समाजवादी) ले २५ स्थानमा उम्मेदवारी दिएका छन् ।

मौलिक जरोकिलो पार्टीले २३, नेश्नलिष्ट पिपल्स पार्टीले २०, नेपालका लागि नेपाली पार्टीले २०, आमूल परिवर्तन मसिहा पार्टी नेपालले १६, जनता प्रगतिशील पार्टी, नेपालले १५, एकीकृत शक्ति नेपालले १३, नेपाल लोकतान्त्रिक पार्टीले १२, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीले ११, नेपाल जनता पार्टीले १०, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ले ९, नेपाल संघीय समाजवादी पार्टीले ९, नेपाल सद्भावना पार्टीले ८, बहुजन शक्ति पार्टीले ७ र विवेकशील साझा पार्टीले ७ स्थानमा उम्मेदवार उठाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्