संस्थागत विद्यालय सञ्चालन गर्नु अपराध हो त ? – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

संस्थागत विद्यालय सञ्चालन गर्नु अपराध हो त ?

    मा प्रकाशित

“शिक्षक कर्मचारीलाई तलव खुवाउन अभिभावकबाट शुल्क उठाउँदा जेल हुन्छ भने जेल जान तयार छौँ ।” टिका पुरी
“अभिभावक वा सरकारबाट वित्तिय व्यवस्थापन नभए विद्यालय बन्द गछौँ ।” डि.के. ढुङ्गाना
यी अभिव्यक्तिले अहिले नेपालमा शिक्षामा सरकारी तथ्याङ्क अनुसार नेपालको शिक्षामा २३ प्रतिशत योगदान गरेका प्राइभेट संस्थाका लागानी कर्ताहरुमा के बितिरहेको छ भन्ने स्पष्ट बुझ्न सकिन्छ । हामी सम्पूर्ण लगानीकर्ता यतिवेला कोभिड १९ को कहरसँगै घरभाडा, बैंकिङ व्याज, शिक्षक कर्मचारीको तलव, विद्यार्थीको पढाइका भविष्य इत्यादि कुराको व्यवस्थापन कसरी गर्न सकिन्छ ? भन्नेमा नै चिन्तन मनन गर्दै दैनिकी बिताइरहेका छौँ । हाम्रासाम एकातिर कोभिड १९ बाट कसरी बच्ने र कोभिड १९ पछाडि हाम्रो ताँती लागेका समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने नै हाम्रो लागि ठूलो चुनौती छ । यद्यपि यो चुनौती नितान्त संस्थागत विद्यालयमा लगानी गर्ने लगानी कर्ता र प्याब्सनको मात्र हो भन्ने बुझाई समाजका विभिन्न वर्गका अगुवाहरुको धारणा हामी यत्रतत्र सुन्न र पढ्न पाउँछौँ । हाम्रो लागि यो नै ठूलो विडम्वना हो ।
निजी विद्यालयको उपस्थितिसँगै नेपालमा शिक्षाको गुणस्तरमा परिवर्तन त भयो नै त्यसका साथै सरकारले गर्नुपर्ने लगानीलाई निजी क्षेत्रबाट लगानी गरेर सरकारको व्ययभार कम गरेको यथार्थता पनि हो । हाम्रो जस्तो अल्पविकसित मुलुकमा जहाँ रोजगारीको अवस्था निम्न भएको बेला निजी विद्यालयको स्थापनाले रोजगारीको अवस्था पनि सिर्जना गरी एकातिर सरकारको रोजगारी सिर्जना गर्नुपर्ने दायित्वमा होस्टेमा हैसे भएको अवस्था जगजाहेर छ । तर यति गर्दा पनि हामीले निजी विद्यालय स्थापना गरेबापत राज्यबाट सधैं सौतेनी व्यवहार गर्नाले हामीलाई दुःख लाग्छ तर पनि यसबाट हामी विचलित कहिल्यै भएनौँ र हुदैनाँै पनि । किनकि हामीलाई हाम्रो कर्तव्य राम्रोसँग थाहा छ । हामी शिक्षकलाई गुरु भन्छौँ । ती गूरुबाट ज्ञान प्राप्त गरी आफ्नो भविष्यलाई सुनिश्चित गर्छौँ । तिनै शिक्षकको बारेमा हामी नकारात्मक टिकाटिप्पणी गर्दै हिँड्दै गर्दा हामीले कस्तो समाजको परिकल्पना गरिरहेका छौँ ? के लाग्छ, यो परिदृश्यले कस्तो संकेत गर्छ ? के यसले राम्रो सन्देश दिइरहेको छ ? के हामी ती तमाम शिक्षकप्रति संवेदनशील छौँ ? जसले हाम्रा नानीबाबुहरुको भविष्य बनाउनलाई आफ्नो भविष्यलाई विर्सिसके ? के तमाम संस्थागत शिक्षकहरु मिलेर संस्थागत विद्यालय खोल्नु के पाप थियो ? के यो राज्य विरुद्धको अपराध नै हो त ?
हो हामीलाई ज्ञात छ, नेपालको संविधानले विद्यालय स्तरको शिक्षा निशुल्क गरेको छ । विद्यालय शिक्षालाई राज्यको दायित्वभित्र राखेको छ । यसरी राज्यले आफ्नो दायित्व पूरा गर्न के यतिबेला तयार छ ? यदि राज्य आफ्नो दायित्व पूरा गर्न तयार छ भने हामी पनि तयार छौँ हाम्रा संस्थागत विद्यालयलाई बन्द गर्न ? यदि राज्य हाम्रा शिक्षक कर्मचारी, विद्यार्थीहरु व्यवस्थापन गर्न तयार छ भने मलाई लाग्दैन संस्थागत विद्यालयका लगानीकर्ता आफ्ना विद्यालय बन्द गर्नमा तगारो बन्छन् भनेर । यसरी राज्यले आफूले गर्नुपर्ने काम जनताले आफ्नो तर्फबाट गर्दा हामी राज्य र विभिन्न तप्काबाट विभिन्न आरोपकोे शिकार बन्नुुले पक्कै पनि यसले सकारात्मक सन्देश दिदैँन । यसरी हामी संस्थागत विद्यालयका लगानी कर्ता भएकै भरमा तेस्रो मुलुकको नागरिकको हिसामा अभिव्यक्ति दिनुलाई हामी कुन रुपमा लिने ? मलाई विश्वास छ यी अभिव्यक्ति र सोँचले हामीलाई सही मार्गनिर्देशन गर्दैन् किनकि सोँचले नै हाम्रो कामलाई निर्धारण गर्दछ । यदि हाम्रो सोँच नै सकारात्मक छैन भने हाम्रो काम कसरी सकारात्मक हुन सक्छ ?
हामी सबैको विडम्वना भन्नु पर्छ यदि हामीले केन्द्रदेखि स्थानीय तहसम्म हेर्यौ भने नेता, कर्मचारी, प्रहरी, सेना, व्यापारी, उद्योगी लगायत गिट्टी कुटी आफ्नो जीविकोपार्जन गर्ने मजदुर, सानो व्यापारी सबैलाई संस्थागत विद्यालयमा आफ्ना बालबालिकालाई पढाउनु छ तर त्यो पनि सकेसम्म निशुल्क नभए पनि निम्न शुल्कमा । हामीलाई हाम्रो विद्यालयले अरुको विद्यालयभन्दा फरक र राम्रो गरिदेओस् जस्तो लाग्छ त्यो पनि निशुल्क । आजुभोलि प्रायः अभिभावकको एउटै अभिव्यक्ति सुन्न पाइन्छ त्यो हो सर हाम्रा बालबालिका बर्बाद भए । केही उपाय लगाउनु पर्यो । अहिले पनि हरेक विद्यालयमा सर विद्यालय शुरु नभए पनि ट्युसन कक्षा शुरु गरिदिनु पर्यो भनेर अनुरोध गर्ने अभिभावकको कमि छैन् । यसरी हामीलाई गुणस्तरीय शिक्षाको लागि हामीलाई सम्झने तर त्यो पनि शुल्क लिनुपर्दा संबैधानिक कुरा, संबिधानमा यो व्यवस्था, त्यो व्यवस्था छ भनेर कुर्लनु के अर्थ राख्दछ ?
आउनुहोस् छलफल गरौँ । हाम्रो लगानी सुनिश्चित अनि शिक्षक कर्मचारीको रोजगारीको सुनिश्चितता अनि विद्यार्थीहरुले पाउने शिक्षाको उचित प्रबन्ध गरौँ र आजैका दिनदेखि सम्पूर्ण संस्थागत विद्यालयहरुलाई विद्वान मित्रहरुले सल्लाह सुझाव दिए जस्तै केके गर्न मिल्छ गरौँ । त्यसमा हाम्रो पनि साथ छ । तर विद्वानहरुको कुरा सुन्दा पनि उदेक लाग्छ । उहाँहरुले अगाडि सारेका मोडेल सुन्दा र पढ्दा लाग्छ उहाँहरुको पनि रिमोट आफैसँग छैन भन्न मिल्ने कि नमिल्ने ? कि त उहाँहरुलाई यहाँको वास्वविकताको ज्ञान नै छैन भन्दा के हुन्छ ? हुन त विश्वको ज्ञानको धरातल कोरोनाले देखाइदिएकै छ । यसले तपाईहरुले नितान्त संस्थागत विद्यालयलाई बन्द गर्ने यसो गर्ने त्यसो गर्ने भन्दै गर्दा कृपया संस्थागत विद्यालयको मानवस्रोत साधनको व्यवस्थापनको मोडेल पनि प्रस्तुत गर्न विनम्र अनुरोध गर्दछु । त्यहाँ पढ्ने विद्यार्थीहरुको व्यवस्थान कसरी गर्न सकिन्छ, त्यसको खाका प्रस्तुत गरिदिनुहुन अनुरोध छ । २०औँ वर्ष पढाएको शिक्षकको भविष्यको खाका पनि प्रस्तुत गरिदिनु होला । यी यावत् कुराको खाका तथा विकल्प तपाईसँग छैन भने समाजलाई तरंगित गराउनलाई मात्र र संस्थागत विद्यालयका लगानीकर्ता, शिक्षक कर्मचारी, विद्यार्थी अभिभावकलाई विचलित गराउने अभिप्रायले मात्र आफ्ना बिषयबस्तु प्रस्तुत नगरिदिँदा कस्तो होला ?

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्