कोभिड १९ बाट सुरक्षित हुन डाक्टरको सल्लाह , सचेतता बढाऔँ : डा. भुषाल – Kanika Khabar
Friday, April 19Nepali News Portal

कोभिड १९ बाट सुरक्षित हुन डाक्टरको सल्लाह , सचेतता बढाऔँ : डा. भुषाल

    मा प्रकाशित

कनिका खबर डेस्क
बैशाख १५ दाङ ।

कोभिड १९ को महामारीबाट विश्व नै आक्रान्त भएको बेला विश्वको जनजीवन नै सकसमा परेको छ । यतिबेला कोभिड १९ बाट सङ्क्रमित भएकाहरुका लागि डाक्टर नै आशाका केन्द्र बन्दै आएका छन् । अहोरात्र रुपमा सङ्क्रमितहरुको उपचारार्थ खटिरहेका डाक्टरलाई भगवानको रुपमा समेत चर्चा गरिएको छ । डाक्टर र वैज्ञानिकहरुको समूह रोग निदानको विकल्प खोजिरहेका छन् तर अझै सफल हुन सकेको अवस्था देखिदैन । पछिल्लो समयमा स्वास्थ्यकर्मीको सुझाब सल्लाहलाई पनि निकै महत्वका साथ लिन थालिएको छ । यसै सन्दर्भमा कनिका खबरसँगको कुराकानीमा डाक्टर अरविन्द भुषालले पछिल्लो समयमा सङ्क्रमितहरु निको हुने दर बढ्दै जानुले उनीहरुमा आत्मवलको बढाएको बताएका छन् ।

भ्याक्सिनको परीक्षण भइरहेको छ, यो समस्या कुनै एउटा देशको होइन यो त विश्वको समस्या हो, समाधानका लागि विश्व नै लागिरहेको छ । उपचारको चाँजोपाँजो राज्यले मिलाउँदै गर्दा हामीले अपनाउनु पर्ने सुरक्षा तथा सजगताप्रति हामी सचेत रहनुपर्छ । हामीले आफ्नो स्वास्थ्यको लागि सधै. ध्यान दिन जरुरी छ । जसरी अहिले महामारीको रुपमा फैलिएको कोभिड १९ बाट बच्नको लागि सजगता अपनाएका छौँ त्यसरी नै सधै सजग हुने हो भने हामी स्वस्थ रहन्छौँ, यस्तो जस्वन शैली अपनाउन सक्ने हो भने कोभिडबाट मात्र होइन कि अन्य रोगको सङ्क्रमणबाट पनि बच्न सक्दछौँ ।

हामीले स्वस्थ जीवन शैलीका लागि रोगसँगको प्रतिरोधात्मक क्षमता वृद्धि गर्न जरुरी छ । यतिबेलाको मुख्य कार्य भनेको प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने हो । आत्मवल बढाउने हो । विश्वव्यापी रुपमा भन्दै आएको सामाजिक दूरी कायम गर्नुपर्छ । सुरक्षाको लागि मास्कको प्रयोग गरौँ, ग्लोभ्स प्रयोग गरौँ ।

डा. भुषालले यतिबेला अपनाउनु पर्ने सजगताका बारेमा भन्छन्— मानिसले गर्नुपर्ने कार्यका साथै अस्पताल व्यवस्थापन तथा राज्यले अस्पतालको स्तर वृद्धिका लागि ध्यान दिन जरुरी छ । मानिसले अपनाउने सजगता त रोग नलागोस् भन्नका लागि हो । रोग लागेपछिको भरोसा अस्पताल नै हो । तसर्थ अस्पताललाई आइसियु, भेन्टिलेटरसहितको सुविधा सम्पन्न बनाउन जरुरी छ । दक्ष जनशक्ति पनि त्यतिकै महत्वपूर्ण हुन्छ यतिबेला । अस्पताल व्यवस्थापन तथा राज्यले समयमै यस्ता कुरामा ध्यान दिन जरुरी छ ।

डा. भुषालले थपे— प्राकृतिक स्रोत साधनको संरक्षण पनि स्वस्थ जीवनका लागि महत्वपूर्ण हुन्छ । जथाभावी प्रकृतिको विनाश गर्ने प्रवृत्ति हामीमा बढ्दो छ, यो प्रवृत्तिमा सुधार लिन जरुरी छ । इकोसिस्टममा विचलन आउन नदिनुनै सबैभन्दा बुद्धिमता हो । बल्ल पिसिआर आइपुगेको छ, अझै लक्षणहरु देखिन सक्छन्, बाहिरबाट आएकाहरुसँग तत्काल सम्पर्कमा नजाने, बाहिरबाट आएकाहरुको थ्रोट स्वाब लिएर पिसिआर गर्नुपर्छ । साथै डा. भुषालले भने छिमेकी देश भारतमा सङ्क्रमण र मृत्यु दर दिनानुदिन बढिरहेको छ त्यसकारण लकडाउनलाई प्रभावकारी रुपमा पालनमा गर्नुपर्छ । अन्यथा, इटाली, स्पेन, अमेरिका र बेलायतको अवस्था हुन सक्छ । अबको दस दिनको समयमा धेरैको पिसिआर जाँच, सङ्क्रमण पहिचान र जोखिम न्यूनीकरण तथा आउन सक्ने भयावह अवस्थाको तयारी गरी पर्ख र हेर नै उत्तम उपाय हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्