नेसंविकाे दीक्षान्त समारोहको तयारी पूरा : प्रधानमन्त्रीसहित स्वदेशी विदेशी पाहुना दाङ आउँदै – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

नेसंविकाे दीक्षान्त समारोहको तयारी पूरा : प्रधानमन्त्रीसहित स्वदेशी विदेशी पाहुना दाङ आउँदै

    मा प्रकाशित

दाङ, जेठ ३० ।

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहको तयारी पुरा भएको छ । बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा भोलि जेठ ३१ गते हुने दीक्षान्त समारोहको तयारी पुरा भएको समारोह मूल समिति संयोजक एवं विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले जानकारी दिनुभयो ।
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा हुने समारोहमा ५७५ जना विद्यार्थी दीक्षित हुने कार्यक्रम रहेको उपकुलपति प्रा.डा. लामिछानेले जानकारी दिनुभयो । ‘विविध कारणले १२ वर्षदेखि रोकिएको दीक्षान्त समारोह सञ्चालन गर्दैछौं । भोलि जेठ ३१ गते हुने समारोह विश्वविद्यालयका कुलपति एवं सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीज्यूको प्रमुख आतिथ्यमा हुँदैछ । समारोहमा विश्वविद्यालयका सहकुलपति नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री अशोककुमार राईज्यू, नेपाल संस्कृत विश्वविद्यालयका सभासदज्यूहरु, लुम्बिनी प्रदेशका माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यू, माननीय मुख्यमन्त्री श्री डिल्लीबहादुर चौधरीज्यू, पूर्व मुख्यमन्त्री ज्यूहरु, प्रदेश सरकारका माननीय मन्त्रीज्यूहरु, जिल्लाबाट निर्वाचित संघ र प्रदेश सभाका माननीय सदस्यज्यूहरुको उपस्थिति रहनेछ’, उपकुलपति प्रा.डा. लामिछानेले भन्नुभयो, ‘दीक्षान्त समारोहलाई भव्य एवं सभ्य बनाउन सम्पूर्ण जिल्लाबासीमा हार्दिक अपील गर्दछौं ।’
शैक्षिक शत्र २०६७ देखि २०७७ सम्म विद्यावारिधि, आचार्य, शास्त्री, आयुर्वेद स्नातक, एकवर्षे शिक्षाशास्त्रीमा उत्तीर्ण ४ हजार ७ सय ७३ विद्यार्थीमध्ये दीक्षित हुनका लागि आवेदन दिएका ५७५ जना दीक्षार्थी दीक्षित हुने परीक्षा नियन्त्रक डा. बाबुराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान साढे ११ वजेदेखि सुरु हुने समारोहमा ६२ जना विद्यार्थीलाई स्वर्ण पदकले सम्मान गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच समारोहका पाहुनाहरु आज साँझसम्म दाङ आइपुग्ने उपकुलपति कार्यालय प्रमुख उपप्रशासक विनय पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेलिकप्टरबाट भोलि बिहान साढे ९ वजे आइपुग्नुहुनेछ, भने विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, नेपाल संस्कृत विश्वविद्यालयका सभासद, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन आज साँझसम्म दाङ आइपुग्नुहुनेछ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेको स्वागत मन्तव्यबाट सुरु हुने दीक्षान्त समारोहमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, प्रमुख अतिथि सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठी र विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दीक्षान्त मन्तव्य रहने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्