महानगरले तोक्यो पार्किङ शुल्क, कस्तो सवारी साधनको शुल्क कति ? – Kanika Khabar
Monday, April 29Nepali News Portal

महानगरले तोक्यो पार्किङ शुल्क, कस्तो सवारी साधनको शुल्क कति ?

    मा प्रकाशित

काठमाडौं। काठमाडौं महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक भवन, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनुपर्ने भएको छ।

महानगरको आर्थिक ऐन, २०८० ले बहुतले आवासीय वा व्यावसायिक भवनमा रहेका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ बापतको शुल्क संकलन गर्न निषेध गरेको छ। सो ऐन आजदेखि कार्यान्वयनमा आएको छ।

व्यावसायिकरूपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्था गरिएको छ। ऐनले सार्वजनिक सडकमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति नपाइने व्यवस्था गरेको छ।

महानगरपालिकाले अन्य सम्भावित क्षेत्र पहिचान गरेर पैदल मार्ग (फुटपाथ) बाहेक सवारी आवागमनमा अवरोध नहुने गरी नगर कार्यपालिकाले मापदण्ड तोकेर पार्किङ सुविधा उपलब्ध गराउन सक्ने ऐनमा व्यवस्था गरिएको छ। पार्किङ गराउँदा क्षेत्रगत आधारमा स्पष्ट रेखांकन गरेर प्रवेश र बहिर्गमन फरक फरक हुने गरी प्रविधि प्रयोग गरेर व्यवस्थापन गर्नुपर्नेछ।

महानगरले भित्री तथा बाहिरी क्षेत्रमा सवारी पार्किङको शुल्क पनि तोकेको छ। नयाँसडक, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगायत भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौंको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ। यस क्षेत्रमा सवारी साधन पार्किङ गरेबापत दुईपांग्रेका लागि पहिलो आधा घण्टासम्म १५ र प्रतिघण्टा २५ कायम गरिएको महानगर प्रमुख बालेन्द्र शाहले जानकारी दिए। चारपांग्रेका लागि पहिलो आधा घण्टासम्म ५० र प्रतिघण्टा ८० कायम गरिएको छ।

सो स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रका अन्य ठाउँलाई क्षेत्र नं २ मानिएको छ। यी क्षेत्रमा दुईपांग्रे सवारी साधन पार्किङ गरेबापत प्रतिघण्टा १५, चारपांग्रेका ४० र चारपांग्रेभन्दा ठूला सवारीका लागि प्रतिघण्टा एक सय कायम गरिएको छ।

अपांगता भएका व्यक्तिले प्रयोग गर्ने सवारी साधनलाई पार्किङ शुल्क लाग्ने छैन। यस्तै आपत्कालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेको अन्य सवारी साधनलाई निःशुल्क पार्किङको व्यवस्था हुने महानगरले जनाएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्