सामाजिक बिम्ब भूमिकाको ‘उजेली जुनेली’ – Kanika Khabar
Monday, May 6Nepali News Portal

सामाजिक बिम्ब भूमिकाको ‘उजेली जुनेली’

    मा प्रकाशित

दाङ, ५ साउन ।
गायिका तथा मोडेल भूमिका गिरीको तीजको कोशेली ‘उजेली जुनेली’ सार्वजनिक भएको छ । हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तीजको सङ्घारमा गायिका गिरीले ‘उजेली जुनेली’ सावैजनिक गरेकी हुन् ।
प्रायः तीजका गीतमा पछिल्लो चरणमा मायाप्रेमका कथा बुन्न थालिएको अवस्थामा गायिका भूमिकाले चेलीबेटीका पीडा र समाजको बिम्ब बोध गराउने गीत लिएर आएकी छिन् ।

समयको परिवर्तनसँगै समाजको शैली, मानिसको जीवन शैली पनि बदलिएको छ । बदलिदो जीवन शैलीसँगै अध्ययन तथा रोजगारका लागि विदेशिने नेपालीहरुको सङ्ख्या पनि ह्वात्तै बढेको छ । लाखौँ नेपाली युवाहरु विश्व बजारमा श्रम बेचिरहेका तीतो यथार्थ छर्लङ्ग छ । विदेशबाट स्वदेशमा तीज मनाउन बिदामा आएकी साथीसँग मनको गथासो पोखिएको कथामा बुनिएको गीतले नेपाली समाजको बिम्ब देखाएको छ । वैदेशिक जीवनको भ्रम र सत्यलाई चिर्ने गीतका टुक्काले विदेशी जीवनको कठिनाइका भावलाई जीवन्त देखाएका छन् ।

विदेशतिर बस्ने मान्छे कहिले आइस देशमा
जातिबिति राम्री देख्छु के लाउछेस् र फेसमा

गीतको पहिलो टुक्काले वैदेशिक जीवनप्रतिको आकर्षण देखाएको छ । वैदेशिक रोजगारमा रहनेहरुको जीवन सुखी देख्नु, उनीहरु सुकिलामुकिला देखिनुका कारण वैदेशिक रोजगारप्रति नेपाली समाजमा आकर्षण बढ्दै गएको छ ।

चुम्बकजस्तो हुँदो रैछ विदशीको डलर
केको राम्रो हुनु बाबै बिग्रियो नि कलर

प्रतिउत्तरमा आएको यो टुक्काले वैदेशिक जीवनको पीडा बोलेको छ । जीवनका रङ बदल्न विदेश गएकाहरुको तनको रङ बिग्रने गरी काम गर्नु परेको पीडा पोखिएको छ ।

नेपाली सङ्गीतमा आएको परिवर्तनसँगै मर्म भुल्दै गएका तीजका भाकालाई गायिका गिरीले लयमा फर्काउने प्रयास गरेकी छिन् । माया प्रेमका गीतले नै तीज गीतका बजार पिटिरहेका बेला तीजको मौलिकपन र मर्मको नजिक रहेर गीत सार्वजनिक गर्दा सकारात्मक रेस्पोन्स पाएको गायिका गिरीले बताइन् । ‘तीजका गीतमा मौलिकपन हराउँदै जान थालेको बेला एउटा रिस्क उठाएरै काम गरेका छौँ । व्यावसायिकभन्दा पनि तीज गीतका मर्मलाई संरक्षण गर्नुपर्छ भन्ने मान्यता हाम्रो टिमको थियो । चेलीबेटीका घर बुहार्तनका पीडा नपोखे पनि विदेशमा जाने चेलीको पीडा, स्वदेशमै घरजम गरेर बसेका चेलीका कथालाई कलात्मक रुपमा प्रस्तुत गरेका छौँ । हामीले देखेजस्तो सोंचेजस्तो वैदेशिक जीवन हुँदैन । त्यो त रमझम र देखावटी हो । जीवन सन्तोष भएर बिताउने हो भने जहाँ पनि रमाउन सकिन्छ भन्ने सन्देशको गीत बनाउने प्रयास गरेका हौँ ।’ गायिक गिरीले थपिन्, ‘अहिले विदेश जानेको लहर बढिरहेको छ । घर, गाउँ अनि देश रित्तिदै जान थालेको छ । स्वदेशमै कर्म गर्न चाहनेहरुको सङ्ख्या घट्दै जान थालेको । यो लहरलाई स्वदेशमै अवसर प्रदान गरी सम्बोधन गर्न सकिएन भने हामीले थुप्रै नेपालीपन हाम्रा सन्ततीलाई हस्तान्तरण गर्न नसक्ने खतरा छ । विदेशिएका मनहरु चाडपर्वका बेला त्यहाँ रमाउन नसकेर नेपालीपन खोज्न, रमाउन स्वदेश आउने गरेको यथार्थलाई गीतमा प्रस्तुत गरेका छौँ ।’

नेत्र अर्यालको शब्दमा खेम सेन्चुरीले सङ्गीत भरेका छन् । गायिका सुनिता बुढा क्षेत्री र भूमिका गिरीको स्वर रहेको गीतलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले निर्देशन गरेकी छिन् ।
राजेश घिमिरेले छायाँङ्कन गरेको भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका छन् ।
म्युजिक भिडियोमा जुनेलीको रोलमा भुमिका गिरी छिन् भने उजेलीको रुपमा पुजन घिमिरे रहेकी छिन् । साथै म्युजिक भिडियोमा दीप सागर पनि रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्