थारु समुदायको अट्वारी पर्व – Kanika Khabar
Monday, April 29Nepali News Portal

थारु समुदायको अट्वारी पर्व

    मा प्रकाशित

अट्वारी थारु जातिको माघपछिको दोस्रो ठुलो पर्वको रुपमा मानिन्छ । ये पर्व खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउने गर्दछन् । कुशे औशीपछिको पहिलो आइतबारलाई ठुलो अट्वारीको रुपमा मानिन्छ । किम्वदन्ती अनुसार महाभारतका पाण्डव पुत्र बलिया पुरुष भीमले थारु राजा दङ्गीशरणलाई लडाईमा सहयोग गरेको र सबैभन्दा बलियो भएकाले उनी जस्तै बलियो हुने सङ्कल्पका साथ पुरुषहरु उनकै पुजा गरेर अट्वारी व्रत बस्ने विचार जनमानसमा छ ।

खास गरेर यो पर्व सूर्यको जन्म दिवसको रुपमा सूर्यको पूजा गरेर मनाइन्छ । अट्वारी व्रत बसेर मनाउने पर्व भएकाले व्रत अधि दर खाने चलन छ । दर खानको लागि शनिबार दिनभरि माछा मार्ने र अरु तिहुन तरकारी जोहो गरिन्छ । माछाको सुखौरा (सुकुटी) को विशेष परिकार यस दिनको लागि पहिले नै तयार हुन्छ गरिएको हुन्छ । अट्वारीमा माछाको सुकुटीलाई विशेष परिकार मानिन्छ । तर अन्य कुनै चीजको मासु भने यस दिन सामेल गरिदैन । यस पर्वमा खानाको परिकार वर्गलाई विशेष महत्व दिएको देखिन्छ । थारु समुदायमा खर्यालाई प्रायः सबैजसो चाडमा सामेल गरिन्छ । खर्या बनाउनको लागि मासको दाललाई रातभरि पानीमा भिजाएर भोलिपल्ट मसाला, नुन, आटोमा मोसेर त्यसलाई कर्कलाको पातमा बेरेर उमालिन्छ र उमालिसकेपछि त्यसलाई काटेर तेलमा तारिन्छ । व्रत बस्नेहरु भाले बास्ने भन्दा पहिले खानस पर्दछ । यदि खानुभन्दा पहिले भाले बास्यो भने दर खान पाइदैन । खायो भने ऊ व्रत बसेको मानिदैन र उसलाई जुठो मान्ने चलन छ ।

आइतबार अर्थात् अट्वारीको विशेष दिन प्रत बस्नेहरुको खाना भान्सामा पाक्दैन । उनीहरु बिहानै नुताएर, घरको प्रवेश द्वारको पहिलो कोठा या आँगनमा गाईको गोबरले लिपपोत गर्छन् । लिपपोत गरेर भान्सामा पहिले प्रयोग नगरेको चोखो आगोमा व्रतालुले स्वयम् आफै आफ्नो लागि परिकारहरु बनाउने गर्दछन् । नुन, माछा, मासु भने आजको दिन बन्चित हुन्छ । रोटी पकाएर तयार भयो भने स्नान गरी बिहान लिपपोत गरेको ठाउँमा कुनै काठको बस्तुमा बसेर आफ्नो अट्वारीको व्रत प्रकिया अगाडि बढाउँछन् । अट्वारीमा व्रतालुहरुले खानुभन्दा पहिले अज्ञारी दिने चलन छ । निश्चित ठाउँमा गाईको गोबरले लिपेर त्यसमा आगो फिलिङ्गो राखिन्छ र त्यहीं आगोमा सल्लाको धूप, नौनी रा खानाको लागि तयार गरिएको बस्तु अनदीको रोटी, गहुँको रोटी, काँक्रो तरुm, मिठाइ आदि सबै खाने कुराहरु अलिअलि सबै चीज एउटैमा मिसाएर त्यसमा हवन गरिन्छ । यसरी आगोमा चढाउने कामलाई अज्ञारी दिएको भनिन्छ ।

आगोलाई सूर्यको रुपमा मानेर त्यसैले सबैभन्दा पहिला प्रसादको रुपमा अज्ञारी दिने चलन आएको हो । त्यसपछि त्यसदिन आफ्ना चेलीबेटीहरुको लागि अग्रासन छुट्याउने चलन छ अथवा चेलीबेटीहरुलाई दिने भनेर एउटा छुट्टै पातमा सबै खानेकुरा अलिअलि छुट्याएर मात्र व्रतालुले खाना खाने चलन छ । अन्य व्रत जस्तो अट्वारीमा दिनभरि निराहार बसिदैन । दिउँसो नै पूजा गरी खाने चलन छ । यो क्रम सूयास्त नहुँदासम्म चल्छ । सूर्यास्त पछि खाने काम पूर्ण रुपले बन्द हुन्छ ।

अट्वारीको अर्को दिन सोमबार

अर्को दिन सोमबार फरहार गरिन्छ । फरहार नहुँदासम्म पानी समेत नखाएर व्रतालुहरु निराहा। व्रत बस्ने गर्दछन् । फरहार अट्वारीको अन्तिम पूजा हो । यस दिन व्रतालसहरु बिहानैदेखि व्रत तोड्न खानपिनको तयारीमा लागेका हुन्छन् । खानामा बिजोड सङ्ख्याको तरकारी बनाइएको हुन्छ । आजको फरहार गर्दा पनि हिजो जस्तै दिदिबहिनीहरुको लागि पनि अग्रासन निकाल्ने चलन छ । अरु पर्वमा जस्तै अट्वारीमा आफ्ना चेलीबेटीलाई घरमा बोलाउने चलन छैन तर आफ्ना चेलीहरुका लागि व्रतालुहरुले निकालेको अग्ग्रासन उनीहरुकै घरमा पु¥याउन जानें चलन छ । अग्रासन पु¥याउन प्रायः दाजुभाइ नै जाने गर्दछन् । दाजुभाइ नभए अन्य सदस्यहरु जान्छन् । चेलीहरु पनि अग्रासन दिन आउनेलाई मान सम्मान गर्छन् । सामान्यतया जाँड, रक्सी, मासु अरु अन्य परिकार खुवाउने गर्छन् । थारु समुदायमा अतिथि सत्कारका लागि जाँड र रक्सी ठुलो चिज मानिन्छ । त्यसकारण आफ्ना दाजुभाइ तथा अतिथिलाई जाँड रक्सी खुवाएर सन्तुष्ट पार्न पाए सबै चेलीहरुले खुशी महसुस गर्छन् ।

आयुष्मा चौधरी
कक्षा १०
गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल
घोराही दाङ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्