सामाजिक मूल्य र मान्यता – Kanika Khabar
Monday, April 29Nepali News Portal

सामाजिक मूल्य र मान्यता

    मा प्रकाशित

हरेक देशको जीवनशैली, भौतिक परिवेश, इतिहास, घटनाक्रम, महापुरुषहरुको योगदानमा आधारित मूल्य र मान्यता हुने गर्दछन् । हालको विविध प्रक्रिया फरक भए पनि अन्तरनिहित विषय चाँही उन्नति खुशियालीसहितको जीवन नै रहन्छ । राष्ट्रप्रेमको आधार भिन्न देखिन्छ । वस्तुतः राष्ट्रप्रेम शीर्षमा रहन्छ । राष्ट्रप्रेमको आधार खुशियाली जनजीवन र त्यसको सांस्कृतिक मान्यतालाई संरक्षित गर्नु, भाषा, खानपान, रहन सहनलाई जीवनचर्या बनाउनु नै राष्ट्रप्रेम हो भन्ने मान्यता बोकेको हुन्छ ।

नेपालका सन्दर्भमा भन्नु पर्दा नेपाली संस्कृति जो प्रायः हिन्दू धरातलसँग तालमेल राख्छ, त्यसको जगेर्ना गर्न र त्यसले देखाएको उच्च आदर्शलाई कायम गर्नु नै यस देशको मूल्य र मान्यता हो भन्न पर्ला । कुराको सुरुवात गराँै मानिसको कर्तव्यको बारेमा । एकातिर ‘ऋणं कृत्वा धृतं पिवेद्’को संस्कार पनि रहेको अवस्था छ भने हाम्रा शास्त्र,कच्चापक्का भए पनि संस्कारहरू केही विधि विधान र बेला बेलामा आवेश/आवेगमा धर्म संस्कृतिको रक्षा गर्नुपर्छ भनिने जमात र केही मुठ्ठी भरिका मानिसहरुको चिन्ता यसै परिवेशमा नेपाली समाजको धरातल जीवित नै छ भन्नु पर्ला । हाम्रो राष्ट्र धर्म वा मानव धर्म के हो त भन्नु पर्दा नेपाली धरातलबाट उही तीनधार परिवेश देखिन्छ । एउटा त धर्म भनेको स्वभाव हो “वस्तु स्भावको धर्म” वस्तुको जो स्वभाव छ त्यही नै धर्म हो । दोस्रो छ कर्तव्य व्यक्तिको सामाजिक कर्तव्य, माता पिताको सेवा, पुत्रकलत्रको पोषण शिक्षा, शिक्षा समाज उन्नयनका लागि गरिने हरेक कार्य दानादि, पाटीपौवा, पौराणिक ग्रन्थहरुले मानव धर्म सम्बन्धि निर्देशन उपदेश र व्यवस्थालाई मान्नु अनुसरण गर्नु स्वार्थभन्दा माथि उठेर ‘सर्वजन हिताय, सर्वजन सुखाय’ को मर्मलाई आत्मसात् गर्नु नै कर्तव्य हो, धर्म हो ।

संसारका सबै वस्तु सबै प्राणीको धर्म निहित छ । केवल मनुष्यको धर्म निहित अवस्थामा नरहेकोले मनुष्यको धर्म स्वयं मनुष्यले निर्धारण गर्नु पर्ने आवश्यकता छ । यसैलाई हामी मूल्य वा मान्यता भन्दछौं यो मानवको मानक आर्दश हो । “जीवाः स्वभावतो दुष्टा” जीव स्वभावैले दुष्ट हुन्छन् भनेर भगवान अत्रीले भन्नुहुन्छ । यो दुष्ट्याइ आपूmलाई सर्वोत्तम बनाउने उपक्रममा भनिएको देखिन्छ । मानव पनि एउटा प्राणी नै हो तसर्थ उसमा पनि त्यो दुष्ट्याइ हुनु स्वभाविक नै हो तर दुष्ट्याइ प्रगतितर्फ लम्काउन हुनुपर्ने दुष्ट्याइले नै वर्चश्व कायम गर्ने अवस्था सिर्जना भएको छ । वस्तुतः यो दुष्ट्याइ नभएर उन्नति प्रगति वा त्यो ईश्वरत्वलाई बुझ्नको लागि हो भन्ने कुरा बुझाउन जरुरी छ । यसको समाधान कसरी गर्न सकिन्छ त ? शिक्षा, चारवार  {संस्कारवार (जनै पूर्णिमा), शक्तिवार (विजया दशमी), समृद्धिवार (दीपावली) र श्रृङ्गारवार (होली)}  राष्ट्रप्रेमको भाव, सुख शान्तिबारे बुझाइ कि भौतिक प्राप्ति मात्र सुख शान्तिको आधार छैन । अतः ती भौतिक वस्तु साधन मात्र हुन् साध्य त त्यो हो आनन्द जसमा सबैको कल्याण छ । सबैको साथ छ न्युनतममा पनि विशाल आनन्दको अनुभूति छ, त्यस्तो समाजको कल्पनाले मात्र हाम्रा मूल्यमान्यताहरू सुरक्षित हुन्छन् ।

हाम्रो मौलिकतालाई जगेर्ना गरी सुन्दर संस्कृतिको कल्पना गर्न त्यस्तै खाले शिक्षा नीति बन्नुपर्छ । हिजोका दिनमा विद्या भनेको आध्यात्मिक वा विद्या नै विधा हो भन्ने थियो (अध्यात्म विद्या विद्यानम्) भने अहिलेको परिवेश आत्मिक (भौतिक) प्रगतिका लागि मात्र विद्या हो भन्ने मान्यताले जरो गाडिसकेको अवस्था छ । डाक्टर पढाउनु छ, पैसा कमाउन कुनै पनि महङ्गा विषय वा भौतिक विषय किन पढिन्छ,पढाइन्छ भने सफलताको कसी पेसा कमाउन नै हो भन्ने स्वभाव बन्न गएको छ ।

प्रत्येक मातापिता आफ्ना छोराछोरीको विवाहका लागि लाभ पदमा बसेको व्यक्ति वा प्रशस्त धन कमाउने साधन भएको व्यक्तिसँग मात्रै विवाह गराउन चाहन्छन् । हुन सक्छ उनले आफ्नो जीवनलाई आदर्शवान् नै बनाउन चाहेका होलान् तर आफ्ना पुत्रादिको हकमा त्यो आदर्शलाई भुल्ने गरेको पाइन्छ । हुन पनि आजको भौतिक दौडमा एक दुई जनाले चाहेर मात्रै सामाजिक मूल्यलाई बचाइराख्न कठिन देखिन्छ । यसमा त राष्ट्र कै नीतिमा नैतिकता समावेश हुनुपर्ने । शिक्षामा सबै विषय भौतिक प्राप्तिका लागि राखिनुभन्दा पौराणिक मान्यता नैतिक आदर्श एवम् हाम्रो धरातललाई बुझाउने जस्ता विषय वस्तु पनि हुनुपर्ने छ । जस्तै एउटा विद्यार्थीले आप्mनो जीविकोपार्जनका लागि पढ्दै छ भने कमसेकम एउटा विषय प्राच्य विषय लिएको हुनुपर्छ । उदाहरणका लागि प्लस २ मा तीनवटा ऐच्छिक विषय हुन्छन् भने दुईवटा उसले जीविकोपार्जन वाला विषय रोज्यो तर एउटा विषय भने नेपाली धरातलसँग जोडिएका विषयहरु लिने व्यवस्था गरियोस् जस्तै योग, आयुर्वेद, प्राकृतिक चिकित्साशास्त्रीय सङ्गीत, भाषा संस्कृति जस्ता विषयहरू लिएपछि स्वभावैले उनीहरुमा देशप्रेम दृढ हुने हुन्छ ।

मातापिता परिवारजनको पालनपोषण गरूँला समाजमा ठुलो मान्छे बनुँला भन्ने चक्करमा आजका युवाहरू मातापिताबाट नै टाढिएका छन्, यहाँसम्म कि देश नै परित्याग गरिसके । अब त्यो दिन आउन बेर हुने छैन बचेखुचेको नेपाली प्रेम पनि लोप हुने छ । कमसेकम शब्दमा मात्रै पनि बचेको देशप्रेमको शाब्दिक अर्थ के होला भन्ने प्रश्न खडा हुने छ । बेलैमा समाजलाई जगाउन र आफ्नो धरातलतर्फ उन्मुख गराउन आवश्यक देखिन्छ । वेद वेदाङ्कबाट टेक्निकल विषयमा जडीबुटीबाट पेटेन्ट औषधिमा प्राकृतिक भोजनबाट प्याकेट बन्द भोजनमा शुभ विवाहबाट मेरिजमा हाम्रो परिवार वा मेरो परिवारमा, स्वदेशबाट परदेशमा झरेको अवस्था बनेको छ हाम्रो । सोचौं त हामी ऋषिमूनिका सन्तान भनिने, गोत्रको उल्लेख गर्ने तर के गोत्रको सीमा पालना गरेका छौँ त ? अर्कोतर्फ शिक्षामा अति उदासिन सरकारले पाश्चात्य शिक्षा एवम् साधनलाई अवलम्बन गर्ने वापत ल्याएको अवस्थामा हामी नेपाली नै अघि सर्नु पर्नेछ । त्यागपूर्ण जीवनशैली अपनाउनु पर्ने छ । मेरो होइन हाम्रो भन्नु पर्ने छ । घर पनि सजियोस् गाउँ पनि सजियोस्, आफू सुन्दर बन्न राष्ट्र सुन्दर बनाउने आफूले कमाएको दशांस (१० प्रतिशत) राष्ट्रका लागि समर्पित गर्ने बानी गरौं त आफ्नो लागि एक वर्ष बाँचिन्छ भने राष्ट्रका लागि एक महिना छुट्याऔँ त सोचमा परिवर्तन ल्याऔँ व्यवहार आफै परिवर्तन हुन्छ । हामीले नै यो देशको संस्कृति, मूल्य मान्यता आदर्शको जगेर्ना गर्नुपर्छ यसैमा राष्ट्रको कल्याण छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्