दाङको शैक्षिक विकासक्रम : एक सिंहावलोकन – Kanika Khabar
Tuesday, December 3Nepali News Portal

दाङको शैक्षिक विकासक्रम : एक सिंहावलोकन

    मा प्रकाशित


पृष्ठभूमि
दाङ नेपालको लुम्बिनी प्रदेशको एक जिल्ला हो । यस जिल्लाको दक्षिणमा भारतको उत्तर प्रदेश, पूर्वमा प्युठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला, उत्तरमा सल्यान, प्युठान, रोल्पा जिल्ला र पश्चिममा बाँके र सुर्खेत जिल्ला पर्दछन् । विभिन्न धरातलीय बनावटले घेरिएको यो जिल्ला समुद्र सतहदेखि २१३ मिटर उचाइबाट सुरु भई २०५८ मिटर उचाइसम्म फैलिएको छ । यो जिल्लाको कुल क्षेत्रफल ३०५९.८१ वर्ग किलो मिटर रहेको छ । यस जिल्लामा कुल दुई उपमहानगरपालिका एक नगरपालिका तथा सात गाउँपालिका गरी १० वटा स्थानीय निकाय रहेका छन् ।
दाङ देउखुरी जिल्ला भन्नाले दाङ र देउखुरी दुवै उपत्यका र पानी ढली बुझिन्छ । पहाडका मैदानलाई बुझाउने संस्कृतको द्रोण शब्दबाट दाङ र पहिलो बस्ती देवपुरबाट देवपुरी भन्दाभन्दै देउखुरी बनेको हो । –(स्व. टेकनाथ गौतम)
दाङ एसिया महादेशको सबैभन्दा ठुलो उपत्यका हो । दाङको उत्तरी भाग पहाडी राजाहरुको अधीनमा थियो भने दक्षिणी भाग थारूहरूको अधीनमा रहेको थियो । तर, बिक्रमको चौधौं शताब्दीको आखिरतिर यो जुम्लाको अधीनमा थियो । १४८० सालतिर सवारी कोटका राजा रतन पाण्डेले थारू राज्यलाई आफ्नो राज्यमा मिलाएर रत्न परीक्षित नामले दाङका राजा भएको इतिहासमा उल्लेख छ । केही समयपछि उनले बझाङबाट राजकुमार झिकाई आफ्ना ठाउँमा राजा बनाएर आफूले नाथ सम्प्रदायको दीक्षा लिई त्यसको प्रचारमा पश्चिमोत्तर भारततिर लागे । रतन नाथले छाड्दा दाङ राज्यको विस्तार शिवराज इलाकाको अर्रा सोतादेखि पश्चिम राप्तीसम्मको तुलसीपुर भनिने इलाकामा पनि थियो । नेपालको एकीकरणका बेला सम्वत् १८४३ मा दाङका राजा नवल सिंहले तापाका लडाईमा वीरगति प्राप्त गरे । पछि उनका राजकुमार दिलेर सिंहले पूरा दाङ देउखुरीको रक्षा गर्न सकेनन् । आफ्नो आधा राज्य तुलसीपुरको तराई मात्र बचाई त्यहीका मात्र राजा भएर बसे । गोर्खालीले जितेको दाङको देउखुरी पृथ्वीनारायण शाहकी छोरी सल्यानका युवराज्ञीलाई विर्ता भनी दिए । १८६५ सालमा सल्यानको राज्य नेपालमा मिल्दा दाङ देउखुरी पनि नेपालमा मिल्यो । १८९४ सालमा दरबारका कुनै कुमारीको विवाह गरिदिंदा सल्यानी राजा बंशज तेजबहादुर शाहलाई राजा पद र पश्चिमी दाङ फलाबाङ राजाका नामले प्रदान गरियो र दाङ देउखुरी खण्डित भयो ।
फलावाङ राज्य २०१८ सालमा उन्मूलन भएपछि दाङको पश्चिमी भाग र अघिदेखि सल्यानतर्फ रहेको दाङको उत्तरी पानी ढली २०३० सालतिर दाङ देउखुरीमा मिलेपछि दाङ देउखुरी आजको अवस्थामा आएको हो ।

विषय प्रवेश

शिक्षा मानव जीवनको अभिन्न अङ्ग हो । शिक्षालाई मानव जीवनको मेरुदण्डसँग तुलना गरिदै आएको छ । शिक्षाविनाको मानव जीवन कल्पनाभन्दा बाहिर रहन थालेको छ । समयको परिवर्तनसँगै शिक्षाले पनि मानव जीवनमा घना उपस्थिति देखाउन थालेको हो । यतिबेला हरेक मानिसको लागि शिक्षा पहिलो प्राथमिकतामा पर्न थालेको छ । हरेक अभिभावकहरु आफ्नो खर्च कटौती गरेर भए पनि सन्तानको शिक्षामा लगानी गर्न उद्दत छन् । सन्तालाई राम्रो शिक्षादीक्षा दिलाउन हरेक अभिभावकहरु लागिपरेका देखिन्छन् । यो पनि चेतनामा आएको परिवर्तन हो । यसलाई मानिसमा आएको परिवर्तनसँग तुलना गर्न सकिन्छ । यो जागरणको एउटा प्रमाण पनि हो ।
यतिबेला विभिन्न प्रकारका शैक्षिक संस्थाहरुले बजारमा बाक्लो उपस्थिति देखाएका छन् । विभिन्न उद्देश्य राखेर स्थापना भएका शैक्षिक संस्थाहरु आफ्नो गन्तव्यमा पुग्नका लागि त्यतिकै सघन प्रतिस्पर्धामा उत्रिएका पनि देखिन्छन् । मुलुक बहुदलीय शासन व्यवस्थामा प्रवेश गरेपछि निजी शैक्षिक संस्थाहरु पनि त्यतिकै मात्रामा सञ्चालनमा आएका देखिन्छन् । अझ पछिल्लो दशकमा आएर निजी स्तरमा शैक्षिक संस्थाहरुको सङ्ख्या ह्वात्तै बढेको पाइन्छ । निजी शैक्षिक संस्थाहरुले व्यापारीकरणको आलोचना खेप्नु परे पनि मुलुककै शैक्षिक अवस्थाको प्रतिष्ठालाई बचाउन निजी क्षेत्रका शैक्षिक संस्थाहरुले खेलेको भूमिका अतुलनीय नै छ । विशेष गरेर माध्यमिक शिक्षा परीक्षा तथा प्रवेशिका परीक्षामा निजी क्षेत्रका शैक्षिक संस्थाले दिएको नतिजाले नेपालको शैक्षिक प्रतिष्ठालाई बचाउँदै आएको कुरा घाम जतिकै छर्लङ्गै छ ।
आज दाङ मोफसलको शैक्षिक ‘हव’ बन्दै आएको छ । पछिल्लो चरणमा दाङमा सञ्चालन भएका विद्यालय तहका विद्यालय तथा उच्च शिक्षा प्रदान गर्दै आएका शैक्षिक संस्थाहरुले शैक्षिक प्रयोजनका लागि जिल्लाबाट बाहिरिने विद्यार्थीको सङ्ख्यालाई रोक्नसकेका छन् । यस आलेखमा विशेषतः दाङको शैक्षिक विकासक्रमलाई चर्चा गर्न खोजिएको छ । दाङको शैक्षिक विकासक्रमलाई यहाँ तीन चरणमा राखेर चर्चा गर्ने प्रयास गरिएको छ । अनौपचारिक चरण, औपचारिक चरण र विकसित चरण गरी दाङको शैक्षिक विकासक्रमलाई तीन चरणमा राखेर व्याख्या गरिएको छ ।

अनौपचारिक चरण (वि.सं. १९५२—२००३)

दाङको शैक्षिक विकासक्रममा अनौपचारिक चरणको भूमिका महत्वपूर्ण मानिन्छ । अनौपचारिक चरणले दाङमा शिक्षाको बाटो खोल्यो, ज्ञानको दीप बाल्यो । अनौपचारिक शिक्षामा प्रायः संस्कृत भाषाको अध्ययन अध्यापन गराउने प्रचलन थियो । प्रायः त्यतिबेला चुडाकर्म, अक्षरारम्भ, ब्रतबन्ध, प्रारम्भिक चण्डी, अमरकोश घरमै अध्ययन गर्ने प्रचलन रहेको थियो । १९५२ सालमा स्वर्गद्वारी महाप्रभुले प्युठानको स्वर्गद्वारीमा सञ्चालन गरेको संस्कृत पाठशालाले दाङको शैक्षिक विकासक्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । महाप्रभुले स्थापना गरेको पाठशालामा गुरूकुलीय परम्परा अनुसार चण्डी, रुद्री, शुक्लयजुर्वेद, व्याकरण, कर्मकाण्ड लगायतका विषयको अध्यापन गराइन्थ्यो । अद्यापि यो परम्परा रहिरहेको छ । यस पाठशालाको दाङको शिक्षासँग सान्निध्य सम्बन्ध त्यसकारण पनि राख्दछ कि त्यहाँ अध्ययापन गराउने प्रायः विद्वान दाङबाट झिकाइएका थिए । परिणामतः विस्तारै दाङमा पनि गुरुकुलीय परम्पराका शिक्षा सञ्चालन हुन थालेको पाइन्छ । पण्डित गुरुप्रसाद गौतम, पण्डित मेघराज न्यौपाने, पण्डित देवराज न्यौपाने, पण्डित जीवराज गौतम, पण्डित कृष्णप्रसाद सुवेदी लगायतका दङाली विद्वानले महाप्रभुले सञ्चालन गरेको पाठशालामा सेवा गरेका थिए ।
१९५४–१९५५ सालतिर शिक्षालाई महत्व दिंदै हापुर बिजौरीका जनताले बिजौरी गाउँस्थित धौलु बग्गेमा एउटा ब्रह्मचारीलाई राखी आफ्ना सन्ततीलाई अनौपचारिक रुपमै शिक्षा दिलाएका थिए । १९८७÷१९८८ सालतिर हापुरमै पण्डित जयनारायणले विद्यादानलाई महत्वमा राखी घरघरमा पठनपाठन चलाएका थिए । १९९० सालमा हापुरमा खोलिएको पाठशाला, २००३ सालमा हापुरमा खुलेको गाउँले पाठशाला अनौपचारिक चरणका शिक्षा हुन् ।
१९६५ सालमा दाङको बिजौरीमा सञ्चालन गरिएको पाठशालाले पनि दाङको शैक्षिक उन्नयनमा टेवा पु¥याएको छ । त्यस्तै १९८४ सालमा दाङको घनिबघियामा स्थापना गरिएको सामूहिक पाठशाला पनि अनौपचारिक शिक्षाको चरणमा रहेको छ । (यो विद्यालय १९८६ सालमा तत्कालीन सरकारबाट) ‘भाषा पाठशाला’ का रुपमा स्वीकृत पाई २००८ सालमा जनता विद्यालय नामाकरण भई २००९ सालमा जनता प्रधान पाठशालाका रुपमा स्वीकृति पाएको हो ।)
१९८६ सालमा सल्यानी राजा शमशेरबहादुर शाहले दाङको तुलसीपुरमा भाषा पाठशालाको स्थापना गरेका थिए । १९९१ सालमा सोही भाषा पाठशालालाई मिडिल स्कुल नामाकरण गरिएको थियो । (यही मिडिल स्कुल २०१८ सालमा टरिगाउँमा स¥यो र हाइस्कुल बन्यो । हाल महेन्द्र माविको नामले सञ्चालन भइरहेको छ ।) २००६ सालमा जहदागाउँमा खुलेको प्राइमरी स्कुल, २००८ सालमा भमके गाउँमा खुलेको संस्कृत पाठशालाले दाङको अनौपचारिक शिक्षाको चरणलाई गति दिने काम गरेका हुन् । यस चरणलाई १९५२ सालदेखि २००३ सालसम्मको समयावधि मानिए पनि २००३ सालपछि पनि यस चरणका पाठशाला खुल्ने क्रम जारी रहेको पाइन्छ । त्यसकारण २००३ सालपछि खुलेका कतिपय विद्यालयलाई यस चरणमा राखिएको छ । विभाजन गरिएका चरणमा स्थापनाको समयभन्दा बढी विद्यालयको शैलीलाई प्राथमिकता दिइएको छ ।

औपचारिक चरण (वि.सं. २००४–२०३६)

अनौपचारिक चरणका शैक्षिक संस्थाहरु विद्यादान, जागरण, शिक्षा तथा ज्ञान प्रदान गर्ने र सामान्य साक्षर बनाउने उद्देश्यका साथ सञ्चालनमा आएका थिए । त्यसो त औपचारिक शिक्षाको मार्ग प्रशस्त गर्नमा अनौपचारिक चरणका शैक्षिक संस्थाले गरे । सामान्य साक्षर बनाउने मात्र नभई व्यावहारिक जीवनका पक्षमा पनि अनौपचारिक चरणका शिक्षाले निकै टेवा पु¥याएका छन् । औपचारिक चरणका शिक्षा प्रणालीमा सरकारी मान्यता प्राप्त गरी पठनपाठन थालेका शिक्षालयलाई राखिएको छ । यस चरणमा २००४ सालमा स्थापना भएको पद्मोदय पब्लिक नमुना मावि, श्री सिर्जनशील आधारभूत विद्यालय बाहुनडाँडा (२००८), श्री प्राथमिक विद्यालय घोराही, हरिद्वार (२०१३), श्री माध्यमिक विद्यालय रझेना (२०१४), श्री प्राथमिक विद्यालय कर्जाही (२०१७), श्री बराहक्षेत्र मावि (२०१७), श्री बालबिकास मावि (२०१७), श्री बाल जनता मावि बनगाउँ (२०१७), महेन्द्र मावि तुलसीपुर (२०१८) लगायत दर्जनौंका सङ्ख्यामा विद्यालयहरु स्थापना भए ।
प्रजातन्त्रको पूर्व सन्ध्याबाट औपचारिक रुपमा विद्यालय स्थापना हुन थालेका हुन् । २००७ सालमा प्रजातन्त्रको अभ्युदय भएपछि विद्यालयहरु खुल्ने क्रम बढेर गयो । यस चरणमा अनौपचारिक चरणका संस्कृत पाठशालाहरु पनि सरकारबाट स्वीकृत लिएर औपचारिक चरणको शिक्षामा प्रवेश गरेका छन् । यो चरणमा निजी विद्यालयहरु सञ्चालनमा आउनुपूर्वका विद्यालयहरुलाई राखिएको छ ।

विकसित चरण ( वि.सं. २०३७ देखि हालसम्म)

२००७ साल सालको राजनीतिक परिवर्तन पछि भने नेपालमा शिक्षाले नयाँ मोड लियो । तर कानुनी रुपमा निजी विद्यालयको सञ्चालन बारे कुनै व्यवस्था भने गरिएको पाइँदैन । नेपालमा सर्वप्रथम २०३७ सालबाट कानुनी रुपमै निजी विद्यालय खोल्ने व्यवस्था लागु भयो । २०४९ सालमा आएर शिक्षा ऐन सातौं संशोधनले निजी र सार्वजनिक विद्यालय दुवैको प्रावधान खुला गरेपछि भने नेपालमा निजी विद्यालयको अनुपात र गतिविधि ह्वात्तै बढेको विदितै छ ।
निजी विद्यालय खुल्ने कानुनी प्रावधान लागु भएसँगै २०३७ सालदेखि नै दाङमा निजी विद्यालयहरु खुल्न थालेका हुन् । दाङको घोराहीमा २०३७ साल असार २८ गते मेरीगोल्ड इङ्लिस बोर्डिङ स्कुल (हाल सिद्धार्थ एकेडेमी) स्थापना भएको हो । २०३७ साल मङ्सिर १७ गते दाङको तुलसीपुरमा राप्ती विद्या मन्दिर बोर्डिङ पनि सञ्चालनमा आएको पाइन्छ । विद्यालय सञ्चालन अनुमति प्राप्त मितिका आधारमा दाङको पहिलो निजी विद्यालय मेरीगोल्ड इङ्लिस बोर्डिङ स्कुल मानिन्छ ।
यस चरणमा विश्वविद्यालयका आङ्गिक क्याम्पसदेखि विश्व विद्यालयसम्मको स्थापना दाङमा भएको छ । यसका साथै विभिन्न प्राविधिक धारका विद्यालय, क्याम्पस पनि यस चरणमा स्थापना हुनुले दाङको शिक्षालाई विकसित चरणमा पु¥याएको छ । शिक्षा विकास तथा समन्वय इकाइ दाङको २०७९÷२०८० को इमिसका आधारमा दाङमा विद्यालय तहका विद्यालय सामुदायिक विद्यालय ४१४ वटा रहेका छन् भने संस्थागत विद्यालय २३६ वटा गरी कुल ६५० वटा रहेका छन् । साथै सामुदायिक सिकाइ केन्द्र ३२ वटा, मदरसा तथा धार्मिक विद्यालय १४ वटा, अनौपचारिक प्रौढ विद्यालय ५ वटा र खुला विद्यालय आधारभूत र मावि गरी २ वटा रहेका छन् ।
त्यसो त दाङ जिल्लामा स्नातक तहदेखि स्नातकोत्तरसम्म अध्ययन अध्यापन हुने लगभग २२ वटा कलेज रहेका छन् । प्राविधिक धारका शिक्षालयहरु ७ वटा (सर्ट ट्रमका प्राविधिक शिक्षालयबाहेक) रहेका छन् । यसै चरणमा दाङमा नेपाल संस्कृत विश्वविद्यालयको पनि स्थापना भएको हो ।
निष्कर्ष
दाङका सन्दर्भमा पचास सालअघि निजी विद्यालयहरु स्थापना भए तापनि तिनको अनुपात निकै कम थियो । पचासको दशकपछि भने अभिभावकलाई मागलाई सम्बोधन गर्दै निजी विद्यालयको स्थापना र सञ्चालन गर्ने परम्परा बढ्दै गएको छ । दाङमा निजी विद्यालयको स्थापना भएपछि बढ्दै गएको शैक्षिक गुणस्तर घाम जत्तिकै छर्लङ्ग छ । परम्परागत शिक्षण प्रणालीबाट माथि उठेर निजी विद्यालयहरुले व्यवहारिक शिक्षा, सांस्कारिक शिक्षा, सिपमूलक शिक्षामा जोड दिंदै शिक्षालाई प्रविधिसँग जोड्दै लगेका छन् । समय सापेक्ष शिक्षा प्रदान गर्दै आएका निजी विद्यालयले अन्तराषर््िट्रय बजारको मागलाई समेत सम्बोधन गर्ने जनशक्ति उत्पादन गर्दै आएको कुरा सर्वविदितै छ । गुरुकुलीय शिक्षा प्रणालीबाट सुरुवात भएको दाङको शिक्षाले यहाँसम्म आइपुग्दा निकै फड्को मारेको छ । घरमै सञ्चालन गरिएका पाठशाला, सामूहिक पाठशाला, संस्कृत पाठशाला हुँदै अहिलेको अवस्थामासम्म आइपुग्दा दाङको शिक्षा आशा लाग्दो पनि देखिन्छ । यही क्रममा शैक्षिक विकास हुँदै जाने हो भने दाङ शिक्षाको हवका रुपमा स्थापित हुने छ ।
(यो लेखमा दाङको शिक्षाको विकासक्रमलाई सकेसम्म जोड्ने प्रयास भएको छ । यद्यपि अनौपचारिक चरणमा अझै केही महत्वपूर्ण पाठशाला छुटेका हुन सक्ने प्रवल सम्भावना रहेको छ । विकासक्रमको पूर्ण रुप नभए पनि अनुसन्धानका लागि मार्ग प्रशस्त भने अवश्य गर्छ भन्ने विश्वास छ ।लेखक)
सन्दर्भ सामग्रीः–
१. पं शालिग्राम गौतम स्मृति ग्रन्थ, लेखक संघ दाङ
२. नेपाल संस्कृत विश्वविद्यालयको इतिहास, देवमणि देवकोटा
३. दाङ हापुरमा शिक्षाको उदय, शालिकराम आचार्य

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्