शिक्षालाई नाटकसँग जोड्नुपर्छ : के.सी. – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

शिक्षालाई नाटकसँग जोड्नुपर्छ : के.सी.

    मा प्रकाशित

दाङ, २१ मङ्सिर ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङका सचिव आदिम के.सी.ले शिक्षालाई नाटकसँग जोड्नुपर्ने बताएका छन् । शैली थिएटर काठमाडौँको आयोजनामा दाङमा भएको साताव्यापी अभिनय प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै केसीले पाठ्यक्रमभित्र रहेका भाषा विषयका पाठहरुलाई नाटकसँगै जोडेर अध्यापन गराउन सकिने बताएका हुन् ।

आज बिहीबार दाङको घोराहीमा आयोजन गरेको समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले शिक्षालाई नाटकसँग जोड्न सकेमा सिकाइ प्रक्रिया सहज हुने बताएका छन् । ‘भाषा विषयका कतिपय पाठ तथा अन्य विषयका विषयबस्तुलाई पनि नाटकसँग जोड्न सकेमा सिकाइ सहज हुन्छ । सुनेका कुराभन्दा हेरेका, देखेका कुरा बढी अविस्मरणीय हुन्छन् । विद्यार्थीलाई कठिन लागेका विषयबस्तु कथानक शैलीमा प्रस्तुत गर्न सकियो भने सिकाई सहज हुन्छ । अब शिक्षालाई नाटकसँग जोड्न आवश्यक छ ।’ प्रमुख अतिथि केसीले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा गोदावरी इङ्लिस मिडियम स्कुलका प्रबन्ध निर्देशक विष्णुप्रसाद दाहालले दाङमा नाट्य क्षेत्रको बिस्तार विकास लागि थिएटर आवश्यक रहेको बताए ।

शैली थिएटरको आयोजना, गोदावरी इङ्लिस मिडियम स्कुलको व्यवस्थापन तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा दाङमा एक हप्ते अभिनय प्रशिक्षण कार्यक्रम भएको हो । कार्यक्रममा जिल्लाभरका तीन दर्जन बढीले प्रशिक्षण लिएको कार्यक्रमका संयोजक हरि पौडेलले जानकारी दिए । कार्यक्रममा प्रशिक्षार्थीहरुले कक्षा १० को नेपाली विषयमा रहेको ‘घरको माया’ एकाङ्कीलाई प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ग्लोबल एकेडेमीका प्रिन्सिपल किरण न्यौपाने, युरो किड्सका प्रिन्सिपल सुधीर बत्स्याल, प्रशिक्षक सबिन न्यौपाने लगायतले मन्तव्य राखेका थिए । शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक हरि पौडेलले गरेका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्