सत्य हो, प्रचण्ड ‘नमर्दा’सम्म देशमा केही हुन्न – Kanika Khabar
Thursday, May 23Nepali News Portal

सत्य हो, प्रचण्ड ‘नमर्दा’सम्म देशमा केही हुन्न

    मा प्रकाशित

गजेन्द्र बोहरा

कहिलेकाहीँ पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूजस्तो छन् त्यस्तै बोलिदिन्छन्। आफू जे हुन् त्यही भनिदिन्छन्। आफू जे गर्छन्, त्यस्तै देखाइदिन्छन्।

आइतबार मध्यदिनदेखि मध्यरातसम्मको राजनीतिक विकासक्रम अनि त्यसपछि देखिएका नयाँ राजनीतिक समीकरणलाई ‘क्रमभङ्ग’को विम्ब बनाएर सोमबार दिउँसोको एउटा कार्यक्रममा प्रचण्डले फेरि अर्को एउटा सत्य बकिदिए।

‘म नमर्दासम्म देशमा यस्तै उथलपुथल भइरहन्छ…।’ सत्य यही हो। उनी बाँचेसम्म न देशको राजनीति थामिएला न प्रचण्ड नै थामिएलान्। भलै चुनावमा उनको पार्टीले कति सिट जित्छ त्यसमा राजनीति निर्भर हुँदैन। बरु प्रचण्ड के चाहन्छन्, त्यही हुन्छ। देशको सत्ता र शक्ति प्रचण्डकै वरिपरि छ, २०५२ सालदेखि। उनी भलै ‘कमजोर’ नै किन नहोउन्।

सत्य यही हाे, उनी बाँच्दासम्म देशको राजनीति स्थिर हुँदैन। नियमित र दैनिक प्रशासनिकबाहेक अर्को कुनै ‘चमत्कार’ पनि प्रचण्डले चलाएको सरकारले गर्दैन, मन्त्री फेर्नेबाहेक।

प्रचण्डले भनेको सत्य हो, माओवादी जमेको पोखरी होइन। राजनीतिक भाषामा त्यसलाई ‘गतिशीलता’ भन्छन्। प्रचण्ड पनि त्यसै भन्छन् तर नेपालीले भोगेको अर्को तीतो सत्य के हो भने त्यो भनेको प्रचण्डले देशमा निम्त्याइरहेको ‘अस्थिरता’ हो। भलै प्रचण्डीय भाषामा त्यो ‘क्रमभङ्ग’ होला।

उनले भनेजस्तो माओवादी ‘गडगडाउने नदी’ पनि हो तर त्यस्तो नदी जसले कहिल्यै समुद्र भेटेन र कहिल्यै भेट्न पनि सक्दैन। राजनीतिको यात्रामा पलपलमा फेरिने प्रचण्ड नदीको त्यो बहाबले उनीहरूलाई बेपत्ता बगाउँछमात्रै समुद्रमा कहिल्यै बिसाउँदैन। सत्य त यो पनि हो।

प्रचण्डले भनेको अर्को सत्य हो- विप्लव आएपछि त अब झन् कसैले सक्दैनन्…। संसदीय राजनीतिले थलिएका ‘प्रचण्ड शक्ति’का एक अर्को राप हुन् विप्लव जोसँग अतिवाद र उग्रताबाहेक अर्थोक केही छैन।

आफू केही होइनन्, प्रचण्ड त्यस्तै विप्लवहरूका रापतापले सेकिएका एक कुटिल, चतुर र अलिकति बाँठो नेतामात्रै हुन्।

२०५१ सालमा सुरु भएको जनयुद्धका रेखा कोर्ने बाबुराम, बैद्य अनि विप्लवहरू पनि उनीसँग धेरै टिक्न सकेनन्। जसको पंखमा दश वर्षसम्म जनयुद्धको धुँवामा उनी कावा खोजिहिँडे।

दश वर्षमा हतियार बिसाए। संसद छिरे। केही नेताहरूलाई मन्त्री पनि बनाए। भर्खरै बन्दुक बिसाएका प्रचण्डहरू २०६४ सालको संविधानसभाको चुनाव पनि लडे। ठुलै पार्टी बन्यो माओवादी। दश वर्षको जंगलयुद्धपछि सिधै उनी सिंहदरबार छिरे।

राज्यका सारा संरचनाहरू बिथोल्न थाले। संगठित नेपाली सेना चलाउने धृष्टतामा प्रचण्ड आफैँ सेकिए। पशुपतिका पूजारीमाथि धावा बोल्दा उल्टै त्यसको झोंक्काले उछिट्टिए। तर, नि उनले छोडेनन्। यो राजनीतिदेखि हार खाएनन्। बाबुरामलाई प्रधानमन्त्री बनाए। पहिलोपटकको संविधानसभा नै भङ्ग गर्न लगाए। प्रधानन्यायाधीशलाई सरकार चलाउने जिम्मा लगाएर फेरि अर्को संविधानसभाको चुनावमा होमिए। नेपालको राजनीतिक इतिहासमा सरकारको यो जिम्मेवारी आफैँमा बिरलै थियो, जसरी प्रचण्डजस्ता दुर्भल पात्रहरू राजनीतिको यो पानामा छिरेका थिए।

३० वर्ष हलचल नभएको पञ्चायत सकिएपछिको बहुदलमा धरमराएको नेपाली राजनीतिको त्यही एउटा ‘अस्थिर’ बादलबाट फुत्त निस्किएका थिए प्रचण्ड अनि ‘जनयुद्ध’ लिएर उनी दश वर्षसम्म जंगलमै गडगडाए। देशको राजनीति त्यही जनयुद्धका कारण नै दश वर्षसम्म अस्थिर नै रह्यो। उनी आए, देशको व्यवस्थै (राजतन्त्र) गयो। उनी आए गणतन्त्र आयो। फेरि उही अस्थिरता, अराजकता र अन्योलका बिचमा प्रचण्ड वरिपरि नै त्यसपछिका सत्ता र शक्ति परिक्रमा गर्न थाल्यो।

२०७० सालमा थलिएको माओवादी २०७४ सालको चुनावसम्म आइपुग्दा यतिधेरै टुक्रा परिसकेको थियो कि त्यसका ‘अवयव’हरू सिला खोज्ने अवस्थामा पुगिसकेका थिए। ‘जनलहर’ बटुलिरहेको एमालेमा आफैँलाई समाहित गराएर फेरि केपीका अघि उनी ‘हिरो’ बन्न थाले। ओली पनि कम्ता शक्तिशाली होइनन्, तर प्रचण्डका अघि उनी सधैं एक ‘प्रतिनिधि’ पात्रजस्तै रहे।

२०७४ सालको चुनावमा ‘बहुमत’ पाएको ‘नेकपा’भित्र प्रचण्डहरूजस्ता पात्र थिए जो कहिल्यै स्थिर भएनन्। बरु उनकै भाषामा ‘उथलपुथल’ गरिरहे। आफैँ उथलपुथल भइरहे। पार्टीमा त्यस्तै भो। देशको राजनीतिमा त्यस्तै भो। प्रचण्ड आफ्नै राजनीतिक जीवनमा त्यस्तै भयो। उनको निजी जिन्दगी अनि राजनीतिक जिन्दगीका रंगहरू पनि उसैगरी मिल्दै गए। प्रचण्ड चरित्रमा ती आफैँ-आफैँमा समाहित थिए।

सकिएको पार्टीलाई ‘रुख’ चढाएर प्रचण्डले यसपालि चुनावबाट प्रतिनिधिसभामा १७ सिट बोकी ल्याए। उसकै आडभरमा माधव नेपालहरूलाई बुटुलेर काँग्रेस प्रतिनिधिसभामा पहिलो पार्टी बन्यो। तर, त्यो पहिलो पार्टीको ‘शक्ति’ पनि आखिरमा प्रचण्ड छायामै बिसाउनुपर्‍यो। रुख त काँग्रेसकै थियो तर छाया प्रचण्डको बन्यो।

२०७९ सालको पुस १० गते प्रचण्डले फेरि एउटा समीकरण बिथोलिदिए। सरकार बनाउने तरखर गरिरहेका शेरबहादुर देउवालाई बालुवाटारमै छोडेर प्रचण्ड दोस्रो दल बनेको नेकपा एमालेको फेरो समाउन बालकोट पुगिसकेका थिए। उतैबाट केपी ओलीले आफ्ना मन्त्री पठाउनेगरी प्रचण्डलाई प्रधानमन्त्री बनाइपठाए।

विश्वासको मत मागिरहेका प्रचण्डमाथि त्यो बेला देउवाले अर्को चाल चले। प्रचण्डलाई विश्वासको मत दिए। संसदीय इतिहासमा दुर्लभमध्येका एकजना प्रधानमन्त्री प्रचण्ड पनि बने जसले संसदमा लगभग सबै सांसदको ‘विश्वास’ पाएका थिए।

ओलीले संसदमै ‘शंका’ गरेको देउवाको त्यो ढोक्सामा आखिर माछा परेरै छोड्यो, जुन खोलीमा ओलीले माछा छैन भनेका थिए। अन्तत: त्यही ढोक्सा काँग्रेसका लागि सरकारमा छिर्ने जस्केला बन्यो। तीन महिना बित्दा नबित्दै एमाले अनि राप्रपा र रास्वपाहरू बाहिर पठाएर प्रचण्डले काँग्रेस र एकीकृतहरूलाई त्यहाँबाट छिराए।

वर्ष दिनपछि फेरि त्यही स्थिति बन्यो। काँग्रेससँग पनि उनी टिकेनन्।

यसका ‘शूत्रधार’ वा रचनाकार भने काँग्रेसी हुन् यसपालि, जसले सरकारभित्रै अर्को ‘समानान्तर’ शक्तिको अभ्यास गरिरहेका थिए। सँगसँगै उठेका कोशीका छालहरूमा काँग्रेसले माओवादीलाई पुरिदियो। राष्ट्रियसभाको निर्वाचनमा कोशीको त्यो छालले प्रचण्डलाई अलकति हिर्काइसकेको थियो।

त्यसैमाथि गठबन्धनको ‘बन्धन’ काँग्रेसीलाई अर्को पोलिरहने घाउ बनिरहेको थियो। सरकार अनि जनताका गर्नुपर्ने कामहरू त्यस्तै छन्। आम मान्छेको निराशाले सडक तातिइरहेका बेला नेपाली काँग्रेसभित्र भने ‘मिसन- ८४’ र त्यसको एउटा राजमार्ग खोजिरहेका थिए।

८४को बाटोमा महामन्त्री गगन थापाले कोरेका ‘गठबन्धन’का रेखाहरू यो राजनीतिक परिस्थिति निम्त्याउने अर्को एउटा तात्तातो कारण बनिदियो।

काँग्रेसका लागि ‘गठबन्धन’को यो बन्धन अर्को एउटा नियति बन्यो। आगामी चुनावहरूमा ‘एक्लै लड्ने’ संकल्पलाई महासमितिबाट पारित गराएका गगनका लागि यो त एउटा ‘जित’ होला तर देउवाको कुटिल राजनीतिक चालमाथि त्यो एउटा तुषारापात थियो।

प्रधानमन्त्री प्रचण्डमाथि सरकारका कामकारबाहीमा ‘भारी’ परिरहेका काँग्रेसी मन्त्रीहरू ‘गठबन्धन’का अर्का चिराहरू बने। जसबाट त्यो फाट्यो र त्यसमा ‘रफ्फू’ लगाउने फेरि एमालेकणहरू भित्रिए।

सत्तासमीकरण परिवर्तनका परिदृश्यहरू हठात् आएका होइनन्। त्यसका सुशेली र संकेतहरू धेरैअघिदेखि दूरदूरबाट देखिइरहेका थिए।

एकातिर काँग्रेसमा कस्सिएको ‘गठबन्धनको ‘गाँठो’ फुकाउन ठुलै रस्साकस्सी थियो। त्यसमाथि देउवाले आफ्नो पार्टी जीवनमा दोस्रो तहका गतिला नेताहरूको साथ कहिल्यै पाएनन्। भएकाहरू पनि त्यस्ता भएनन्।

एमालेभित्रका शंकर पोखरेल अनि विष्णु पौडेलहरू र माओवादीभित्रका वर्षमान पुन अनन्तजस्ता ‘डिलिङ पावर’ भएका नेताहरू काँग्रेसभित्र सायदै छन्। भए पनि उनीहरू त्यसरी लाग्दैनन्।

आफ्ना नजिकका नेताहरू सरकारमा पठाएर देउवाले एउटा भूल गरेका थिए जसले सरकारमै ‘समानान्तर’ सत्ता चलाएर प्रचण्डलाई ‘र्‍याक’ हानिरहे। तर, पार्टीको रणनीति र नीतिलाई बलियो ढाल बनाएर कहिल्यै आफ्नो उपस्थितिलाई बलियो बनाउन चाहेनन्। जितेर पनि देउवाले हारेको यहिँनेर हो, जहाँ उनका ‘सारथी’हरूको साथ गतिलो थिएन।

एउटा ‘हठ’का कारण ठुलो दल भएर पनि सत्ता नेतृत्वबाट चुकेको नेपाली काँग्रेस अहिले फेरि एउटा बेमौसमको ‘हठ’ले सत्ता बाहिर पुगेको छ। यसको खेल यत्तिमै रोकिने छैन। खेल र खेलाडीहरू त सात प्रदेशमा बाँकी नै छन्। त्यसको तरंगले प्रदेश सरकारहरू पनि हल्लिइसकेका छन्। सत्ता समीकरणको यो एउटा सामान्य र नियमित परम्परा पनि हो।

देउवा र माधव नेपालहरूसँग ‘प्रधानमन्त्री’ बन्ने/बनाउने समझदारी जसरी गरेका थिए अहिले प्रचण्ड ओलीसँग पनि त्यस्तै सम्झौता गर्दैछन्। यो उनको अर्को एउटा ‘फार्मूला’ हो जसलाई उनले आफूअनुकुलमात्रै चलाउँछन्।

यसो-उसो गरेर प्रचण्ड पाँचै वर्ष टिक्छन्। यो पक्का हो। त्यसको ‘निन्जा टेक्निक’ पनि प्रचण्डसँगै छ। त्यत्तिकै प्रचण्डले भनेका होइनन्- यो अन्तिम इनिङ हो। यो अन्तिम परीक्षा हो र उनलाई थाहा छ माओवादी पार्टी जीवनमा यो नै उनका लागि अन्तिम मौका पनि हो।

आवेग, संवेग र भावावेगहरूमा बगिरहने प्रचण्ड उनको भाषामा नदीजस्तै छन्। तलाउजस्तो अटल छैनन्। हुँदा पनि हुँदैनन्।

अनि देशको राजनीति पनि यस्तै नै हो। योबाहेक अर्थोक केही हुँदैन।

हो, सत्य यही हो प्रचण्ड ‘नमर्दा’सम्म उथलपुथल यस्तै भइरहन्छ।ब्रेकलिङ्कबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्