स्वायत्त भएनन् प्रदेश,केन्द्रले जता भन्छ उतै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

स्वायत्त भएनन् प्रदेश,केन्द्रले जता भन्छ उतै

    मा प्रकाशित

देवेन्द्र बस्नेत
दाङ, २९ फागुन ।
नयाँ गठबन्धनमा समाहित मधेसवादी दल जनता समाजवादी पार्टी वर्तमान सरकारमा सामेल भयो । पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानसहित स्वास्थ्य मन्त्रालय सम्हाल्दा पार्टीकै नवलसिंह किशोर शाहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । वर्तमान गठबन्धनमा सहभागी यो दलका अध्यक्ष सहित अर्का एक सांसद सङ्घीय सरकारमा सहभागी हुनुलाई प्रदेश तहका नेताले भने खासै प्रभावकारी कदम मानेका छैनन् ।

केन्द्रमा हुने सहमति बमोजिम नै आफूहरूको प्रदेश तहको प्रभाव कमजोर बन्ने भन्दै जसपाका प्रदेश सांसदले प्रदेश तहमा आफूहरूको निर्णय गर्ने अधिकार गुमेको महसुस गरेका छन् । ‘केन्द्रमा हुने तालमेलले हामीलाई प्रदेश तहमा प्रभावकारी भूमिका निर्वाह गर्न सकस हुने गरेको छ’, जसपाका एक सांसदको भनाइ उद्धृत गर्दै कांग्रेसका एक नेताले भने, ‘केन्द्रीय निर्णय भन्दै जसरी पार्टी अर्को गठबन्धनमा गएको छ, यसले प्रदेशमा पार्टीको प्रभाव धेरै कम गराउने काम गरेको छ ।’

पार्टीका केन्द्रीय अध्यक्ष यादव नयाँ गठबन्धनमा समाहित हुँदै सरकारमा उपप्रधानमन्त्रीका रूपमा प्रवेश पनि भइसके तर लुम्बिनी प्रदेशमा जसपाका भण्डारीलाल अहिर कांग्रेस नेतृत्वको सरकारमा अहिले पनि मन्त्री छन् । कृषि तथा भूमि व्यवस्थापन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका अहिर आफू कुन पक्षीय भन्नेमा अहिले अन्योलमा छन् । वर्तमान सत्ता गठबन्धन पक्षीय वा कांग्रेससँगको सहकार्यको मन्त्री भन्ने अन्योलमा रहेका अहिरले भने, ‘मलाई मन्त्रालय छोड्ने भनेर कुनै निर्देशन भएको छैन, म सरकारमै बसिरहेको छु ।’ आफ्नो पार्टी नयाँ गठबन्धनमा सहभागी भएपछि प्रदेश मन्त्री अहिरले अब आफूले के गर्ने भन्नेबारे केन्द्रमा सोधेका समेत थिए तर उनलाई अहिले नआत्तिन भनेर सम्झाइएको थियो । ‘हाम्रो पार्टी अहिलेको नयाँ गठबन्धनमा गएपछि मेरो मन्त्री पद मैले त्याग्ने कि के गर्ने भन्ने अन्योलता मलाई स्वाभाविकै रूपमा हुने भयो’, मन्त्री अहिरले भने, ‘मलाई सरकार छोड्न पनि भनिएन अनि मैले आफैँ सोधेँ र केन्द्रबाट चाहिँ मलाई अहिले नआत्तिनुस् सरकारमै बसेर काम गरिराख्नुस् भन्नु भयो अनि अहिले सरकारमै बसेर काम गरिरहेको छु ।’

प्रदेश मन्त्रीका रूपमा रहेका अहिरलाई प्रदेश तहमा निर्णय लिने स्वायत्तता पार्टीले दिँदैन । फलतः पार्टी केन्द्रले निर्देशन दिनासाथ उनले सरकार छोड्नै पर्ने हुन्छ । ‘मेरो मन्त्री पद रहने, नरहने भन्ने निर्णय गर्ने अधिकार मसँग कहाँ छ र ?’ उनले भने ‘जुन दिन केन्द्रबाट निर्देशन आउँछ, त्यही दिन मन्त्री पदबाट राजीनामा दिनु पर्छ, मैले सरकारमा बसेर काम गर्न हुुन्छ कि हुन्न भन्ने अधिकार केन्द्रकै हो ।’ यसलाई उनले सङ्घीयताको अभ्यासका रूपमा अथ्र्याउँछन् । प्रदेश तहमा कसरी कुन दलसँग सहकार्य गरेर जाँदा पार्टीलाई सहज हुने भन्ने प्रदेश तहले बुझेको हुने र त्यो अधिकार पनि प्रदेशलाई नै कायम गरिनु पर्ने उनी बताउँछन् तर केन्द्रमा हुने राजनीतिक समीरकणका कारण प्रदेशमा समेत पार्टीको प्रभाव कमजोर पार्ने मन्त्री अहिरको भनाइ छ । लुम्बिनी प्रदेशमा यो दलका तीन जना सांसद छन् ।

जनता समाजवादी पार्टी मात्रै होइन सीमित भूगोलमा मात्रै प्रभाव पार्ने राजनीतिक शक्तिलाई केन्द्रमा हुने राजनीतिक समीरकणका आधारमा बदल्नु पर्दा आफ्नो प्रभाव रहेको क्षेत्रमा पकड जमाउन सकस रहन्छ । केन्द्रमा हुने राजनीतिक समीकरणले सीमित व्यक्ति सङ्घीय सरकारको मन्त्री बन्ने तर प्रदेश तहलाई समेत केन्द्र निर्देशित हुँदा प्रदेश तहमा यस्ता राजनीतिक दलका प्रभाव कायम गर्न गाह्रो हुने दलहरू वताउँछन् ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आफ्नो प्रभाव कायम गरेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश तहका नेता तथा सांसद केन्द्रमा हुने समीकरणको छायाँ प्रदेश तहमा नपरोस् भन्नेमा छन् । प्रदेश तहको आवश्यकता पहिचान पार्टीको प्रदेश नेतृत्वले नै बुझेको भन्दै यो दलका सांसद केन्द्रमा हुने गठजोड अनुरूप प्रदेश तहको समीकरण निर्माणका लागि निर्देशन नआओस् भन्ने चाहेका छन् । ‘केन्द्र तहमा कस्तो समीकरण बन्ने वा बनाउने भन्ने कुरा त्यो पार्टी केन्द्रले गरोस्’, यो पार्टीका लुम्बिनी प्रदेश सभाका एक सदस्यले भने, ‘तर केन्द्रमा हुने समीकरणको निर्णय प्रदेश तहमा नलादियोस् भन्ने चाहना धेरै साथीको छ ।’

केन्द्रमा हुने समीकरण प्रदेशको हित अनुकूल बन्न नसक्ने अवस्थालाई मध्यनजर गरेर केन्द्रले प्रदेश तहलाई स्वायत्त छोडिदिनु पर्ने तर्क ती सांसदको छ । ‘प्रदेशमा को कससँग कसरी सहकार्य गरेर अगाडि बढ्दा सहज हुन्छ र सोही अनुसारको निर्णय गर्ने अधिकार पार्टीको प्रदेश पङ्क्तिमै छोडिदिनु पर्छ’, ती सांसदले भने, ‘प्रदेशको आवश्यकता र पार्टीको फाइदाका लागि प्रदेश तहले नै आवश्यक समीकरण गरेर अगाडि बढ्छन् ।’ लुम्बिनीमा नागरिक उन्मुक्तिका ४ सांसद छन् । यो प्रदेशमा यी चार सांसदको निर्णय निर्णायक बन्नु पर्ने ती सांसद बताउँछन् ।याे समाचार आजकाे गाेरक्ष राष्ट्रिय दैनिकमा रहेकाे छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्