आगामी चुनाव काङ्ग्रेस एक्लै लड्छ : केन्द्रीय सदस्य पौडेल – Kanika Khabar
Saturday, April 27Nepali News Portal

आगामी चुनाव काङ्ग्रेस एक्लै लड्छ : केन्द्रीय सदस्य पौडेल

    मा प्रकाशित

 

दाङ, १० चैत ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले आगामी निर्वाचन काङ्ग्रेस एक्लै लड्ने घोषणा गरेका छन् । आज दाङको रामपुरमा भएको नेपाली काङ्ग्रेस घोराही उपमहानगरको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता पौडेलले आगामी निर्वाचन काङ्ग्रेस एक्लै लड्नेमा कार्यकर्तालाई विश्वस्त हुन अपील गरेका हुन् ।

‘काङ्ग्रेसीहरुले रुखमा भोट हाल्न पाउनुपर्छ । पछिल्लो राजनीतिक तरलताले चुनावी प्रक्रियामा काङ्ग्रेसीहरुले रुखमा भोट हाल्न नपाउनुको पीडा अब दोहोरिने छैन । देश र जनताका पक्षमा सदैव ठिङ्ग उभिने काङ्ग्रेसले देश र जनतालाई कहिल्यै निराश बनाउँदैन ।’ कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पौडलले थपे, ‘सरकार गठनका प्रक्रियामा गठबन्धन हुन सक्छ तर चुनावमा गठबन्धन हुँदैन । चुनावी गठबन्धनका कारण हामीले समानुपातिक सिट गुमाएका छौँ । यो महसुस केन्द्रीय नेतादेखि नागरिकसम्ममा भएको छ । अब यसरी पछुताउने गरी काङ्ग्रेसले निर्णय गर्ने छैन ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्तालिप्त भएको आरोप पौडेलले लगाए । प्रचण्ड सत्ताका लागि जस्तोसुकै रणनीति पनि अपनाउन तयार रहेको बताउँदै पौडेलले प्रचण्डको उन्मादकै कारण गठबन्धन भत्किएको बताए । ‘काङ्ग्रेस अहिले सरकारबाहिर छ । संस्दको सबैभन्दा ठुलो दल प्रतिपक्षमा रहनु देश र जनताका लागि सकारात्मक पक्ष हो । सत्ताका लागि हामी हतारिएका छैनौँ तर परिस्थितिले काङ्ग्रेसलाई सत्तामा पु¥याउँछ, यसमा तपाईंहरु ढुक्क हुनुहोस् । पछिल्लो गठबन्धन लामो समय जान कदापि सक्दैन । तसर्थ काङ्ग्रेसले छिट्टै सत्ता सञ्चालन गर्नुपर्ने परिस्थिति आउने छ ।’ नेता पौडेलले बताए ।

पार्टी सुदृढीकरणको अपरिहार्यता रहेको बताउँदै नेता पौडेलले भने, ‘मुलुककै ठुलो पार्टी काङ्ग्रेसको जग कार्यकर्ता र मतदाता हुन्, जनता हुन् । चुनावमा पार्टीभित्र धेरै मतभेद उत्पन्न भएका छन्, यसको कारण चुनावी टिकट भएको सबैलाई थाहा छ । अब तपाईंहरु तयार हुनुपर्छ टिकट केन्द्रबाट होइन, स्थानीय स्तरबाट दिने व्यवस्था हुनुपर्छ । व्यक्तिका लागि टिकट होइन, जित्नका लागि र जित्नेलाई टिकट दिने व्यवस्था बनाउनुपर्छ । चुनावी क्षेत्रका मतदाताले उम्मेदवार छनौट गर्नुपर्छ ।’

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक रहेको नेता पौडेलले बताए । शैक्षिक क्षेत्र र स्वास्थ्य क्षेत्रमा प्रभावकारी सेवाका लागि काङ्ग्रेसले पहलकदमी चाल्न आवश्यक रहेको उनले बताए । पछिल्लो समयमा विदेश पलायन हुनेको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै नेता पौडेलले भने, ‘ देशमै रोजगारीको सिर्जनाका कार्यक्रम सरकारले तर्जुमा गर्नुपर्छ । देशको श्रमशक्ति देशमै खर्चिने व्यवस्था गर्नुपर्छ । सरकार बाहिर रहँदा होस् या सरकारमा रहँदा काङ्ग्रेसले यसलाई प्राथमिकताका साथ लिदै आएको छ ।’

गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै नेता पौडेलले भने, ‘हिजो प्रश्न गर्ने साथी आज जवाफ दिने ठाउँमा हुनुहन्छ । तर, उहाँ जवाफ दिन चाहनु हुँदैन । पहिले उहाँले उठाउने गरेका प्रश्न आज उहाँमाथि तेर्सिएका छन् । तर, उहाँले चित्त बुझ्दो जवाफ दिन सक्नुभएको छैन ।’ उनले थपे, ‘गृहमन्त्रीज्यू तपाईमाथि अनुसन्धान हुन बाँकी छ । तर अनुसन्धान गर्ने निकायको प्रमुख तपाईं हुनुहन्छ । यस्तो बेला तपाईंमाथिको अनुसन्धान कसरी प्रभावकारी र निष्पक्ष हुन सक्छ ? हामीले तपाईं राजीनामा मागेको होइन, तपाईंमाथिको अनुसन्धानलाई सहज गराइदिनुहोस् । निष्पक्ष रुपमा अनुसन्धान गर्न दिनुहोस् र निर्दोष भए त्यही कुर्सीमा बस्नु होला दोषी ठहर भए सजाय भोग्न तयार हुनु होला ।’

सम्मेलनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिह पुन, नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रवक्ता प्रचण्डविक्रम न्यौपाने, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पुष्पा श्रेष्ठ, जानका केसी, नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी,जिल्ला उपसभापतिहरु गिरिराज सुवेदी र कमानसिंह भारती, जिल्ला सचिवहरु अर्जुनकुमार योगी र बालिका लम्साल, नेपाली कांग्रेस पूर्व जिल्ला सभापतिहरु बीरकेश्वरी गौतम, मोहनलाल वली, महासमिति सदस्यहरु भुपबहादुर डाँगी, कमलकिशोर घिमिरे, बद्री खड्का, सावित्रा राना, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि किरणकिशोर घिमिरे, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य लोका विक, नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का, क्षेत्र नं. २ (क)का सभापति प्रकाश श्रेष्ठ, नेपाल दलित संघका जिल्ला अध्यक्ष बाबुराम विक, कांग्रेस नेता पृथ्वी चौधरीलगायतले बोलेका थिए ।

नगर सभापति तिलक रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति दुर्लभ केसीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण सचिव पुष्पराज आचार्यले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्