मेरो शरीरमा बग्ने रगतका कणमा लोक गीत छ : निर्मोही – Kanika Khabar
Friday, April 19Nepali News Portal

मेरो शरीरमा बग्ने रगतका कणमा लोक गीत छ : निर्मोही

    मा प्रकाशित

कनिका खबर
साउन ११, दाङ ।


कमल बि.के. निर्मोही, नेपाली लोक गीतका पारखीको लागि कुनै नौलो नाम होइन । शरीरका हरेक रक्त बाहिनी नलीमा लोक गीतको प्रवाह महसुस गर्ने गायक निर्मोही अहिले पनि लोक गीतको उन्नयनका लागि अहोरात्र खटिरहेका छन् । लोक गीतमा संगीतको संसार भेट्ने निर्मोही लोक गीतका सुरिला धुनसँगै जीवन बिताइरहेका छन् ।
पोखरामा क्या राम्रो रुपाताल
डुङ्गा चढी हेर्न जाऔँ फेवाताल
बहुचर्चित यो लोक गीतबाट नेपाली सांगीतिक क्षेत्रमा औपचारिक रुपमा पदार्पण गरेको निर्मोही लोक गीतको लय र धरातलतबाट कहिले पनि चिप्लिएनन् । लोक गीतको मर्म र नम्सलाई सधैंभरि शीरोधार्य निर्मोहीलाई आधुनिक लोक गीतले खिच्न सकेन । पछिल्लो चरणमा सांगीतिक बजारमा देखिएका खहरे लोक गीतले उनका लागि चुम्बकीय गुण निर्धारण गर्न सकेन न त सक्यो निर्मोहीलाई लोक गीतको धरातलबाट जुरुक्क उठाएर आफ्नो बनाउन । आफू लोक गीतको धरातलबाट नचिप्लिनुलाई उनले आफ्नो ठूलो सफलता ठान्दछन् । उनले भने, ‘डाँडापाखा, गाउँघरमा गुञ्जने लोक लयका लोक भाका लोक गीतका सास हुन्, कोठामा बसेर लोक गीतका रङ भरेर लेखिने कोठे गीतहरुले लोक गीतको जीवन बचाउँदैनन्, बरु जबरजस्त लोक गीतको गला निमोठिरहेका छन्, अनि भावी पीढिलाई लोक गीतको गलत अर्थ बुझाइरहेका छन् ।’
त्यो माडी खोलाले छेकेको होइन
मलाई छेक्यो मायालु तिम्रो मायाले
अर्को यो बहुचर्चित गीत । अर्झै पनि लोक गीत पारखीको प्रिय गीत, त्यतिबेलादेखि जनजिब्रोमा झुन्डिन सफल भएको यो गीतले निर्मोहीलाई कुनै एक समयमा लोक गीतमा एक छत्र राज गराएको थियो । अझैं पनि त्यतिकै कर्णप्रिय अनि मनमोहक लाग्ने यो गीतले नेपाली लोक गीतको उचाइ बढाएको अनुभव सुनाए ।
सानैदेखि लोक गीत गुनगुनाउने, लोक गीतका भाकामा रमाउने निर्मोही विद्यालय तहदेखि नै गाउन सरिक हुन्थे । उनले भने, ‘विद्यालयमा हुने विभिन्न कार्यक्रममा सहभागी भएर लोक गीत गाउन थालेको हुँ, विद्यालयको प्राङ्गणमा गीत गाउँदा पाएको वाहवाही र स्यावासीले अहिले मलाई यहाँ ल्याएको छ ।’
रेडियो नेपालमा जागिरे रहेका निर्मोही लामो समयसम्म रेडियो नेपालमा काम गरेपछि ०५९ सालमा उपादानमा रेडियो नेपालबाट अवकाश लिएका हुन् । अहिले नेपालगञ्जमा नै जि नेपाल टेलिभिजनका डाइरेक्टरका रुपमा रहेका निर्मोही सञ्चार क्षेत्रलाई कर्म क्षेत्र बनाउँदै गीत संगीतको यात्रालाई अझ फराकिलो बनाउँदै लगेको छन् । स्वदेश गीत तथा आधुनिक गीतमा समेत स्वर भरेका निर्मोही भन्छन्, ‘मैले स्वदेश गीत तथा आधुनिक गीत गाउँदा लोक गीतको प्यास झनै बढेर गयो , म लोक गीतको भोको मान्छे हुँ, लोक गीतको भोक र प्यास अरु कुनै गीतले मेटाउन सक्दिनँ ।’

वरिष्ठ लोक गायक निर्मोहीका लोकप्रिय गीतमा बबईमा उर्लेर आयो खोली खोली गुहार……., लाग्यो माया मोहनी नजरमा….. लगायतका १५० भन्दा बढी गीत रेडियो नेपालमा रेकर्ड भएका छन् । एक दर्जन बढी एल्वम निकालेका छन् । त्यतिबेला ‘राप्तीको झरना निरमाया’ सर्वाधिक बिक्री भएको एल्वम हो । वरिष्ठ सञ्चारकर्मी निर्मोहीले नेपाल सरकार र राष्ट्रिय लोक दोहोरी प्रष्ष्ठिानबाट राष्ट्रिय सम्मान प्राप्त गरेका छन् ।

गायनका अलावा अभिनय क्षेत्रमा पनि सक्रिय रहेका छन् । उनले हाँस्दै भने, ‘मेरो अर्को पाटो छ, धेरैलाई थाहा नहुन सक्छ , ढुङ्गाजस्तो माया फिल्म लगायत दर्जनौँ टेली सिरियलमा अभिनय गरेको छु ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्