जेलेन्स्की र ट्रम्पबीच ह्वाइट हाउसमा चर्काचर्की – Kanika Khabar
Tuesday, May 12Nepali News Portal

जेलेन्स्की र ट्रम्पबीच ह्वाइट हाउसमा चर्काचर्की

    मा प्रकाशित

काठमाडौँ, १७ फागुन ।

संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनका अमेरिकी समकक्षी डोनल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भनाभान भएको छ।

ह्वाइट हाउसस्थित ओभल अफिसमा जेलेन्स्कीले ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँग चर्काचर्की गरेका हुन्।

ट्रम्पले जेलेन्स्कीलाई “तृतीय विश्वयुद्ध निम्त्याउन चाहेको” आरोप लगाउँदै युक्रेनले रुससँग शान्ति सम्झौता नगरेमा अमेरिका “बाहिरिने” चेतावनी दिए।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफूले रुसी राष्ट्रपति भ्लादिमिर “पुटिनसँग सम्झौता नगर्ने” बताए।

 

पत्रकार सम्मेलन रद्द

विवादपछि निकै अपेक्षा गरिएको अमेरिका र युक्रेनबीच हुने भनिएको खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर भएन र जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति कार्यालयबाट बाहिरिन भनियो।

पछि फक्स न्यूजसँग कुरा गर्दै जेलेन्स्कीले ट्रम्पसँग हुन गएको विवाद “दुवै पक्षका लागि ठीक नभएको” प्रतिक्रिया दिए।

सो क्रममा उनले पछिल्लो घटनापछि पनि दुई देशबीच सम्बन्ध अगाडि बढ्न सक्ने आफ्नो विश्वास रहेको बताएका छन्।

ट्रम्पले रुससँग लडाइँ गरेर युक्रेनले जित्न नसक्ने बताए। अर्कोतर्फ जेलेन्स्कीले आफूले युद्धविराम चाहेको उल्लेख गरे।

ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबीच तर्कवितर्क भइरहँदा अमेरिकाका लागि युक्रेनी राजदूत तनावमा देखिएकी थिइन्।

त्यतिखेर उनले पुर्पुरो र गालामा हात राखेको भिडिओमा देखिन्छ। उनी दुई नेताहरूको नजिकै बसेकी थिइन्।

दुई नेताबीच चर्काचर्की भएका कारण भेटपछि हुने भनिएको पत्रकार सम्मेलन पनि रद्द गरियो र जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिरिने बाटो देखाइयो।

जेलेन्स्की, ट्रम्प र भान्स

तस्बिर स्रोत,Reuters

भेटघाटपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोशलमा एउटा पोस्ट गर्दै जेलेन्स्कीमाथि कैयौँ आरोप लगाएका छन्।

उनले लेखेका छन्, “भेटघाटका क्रममा कैयौँ कुरा आए। तर राष्ट्रपति जेलेन्स्की शान्तिका लागि तयार छैनन् किनकि अमेरिका त्यसमा संलग्न छ। मलाई अरू कुनै फाइदा चाहिएको छैन म त केवल शान्ति चाहन्छु।”

“उनले अमेरिकाको अपमान गरेका छन्। यदि उनी शान्ति चाहन्छन् भने फेरि यहाँ आउन सक्छन्।”

भनाभनको घटनापछि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जेलेन्स्कीले पनि युक्रेनले शान्ति चाहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “धन्यवाद अमेरिका तिम्रो समर्थनका लागि, धन्यवाद यो भ्रमणका लागि। धन्यवाद अमेरिकी राष्ट्रपति, कङ्ग्रेस र अमेरिकी जनता। युक्रेन केवल र केवल शान्ति चाहन्छ अनि हामी त्यसैका लागि काम गरिरहेका छौँ”

 

‘नेटोका लागि सङ्कट’

युक्रेन युद्ध

तस्बिर स्रोत,EPA-EFE/REX/Shutterstock

ट्रम्प र जेलेन्स्कीबीच ओभल अफिसमा भएको वादविवादले उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका निम्ति महत्त्वपूर्ण सङ्कटलाई सङ्केत गरेको बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोअन बताउँछन्।

दुई नेताहरूबीच ओभल अफिसमा विवाद हुनुअघि पनि आपसी सम्बन्ध राम्रो थिएन।

ट्रम्पले जेलेन्स्कीलाई यसअघि नै निरङ्कुशको सङ्ज्ञा दिइसकेका छन् भने युक्रेनले युद्ध थालेको पनि भनिसकेका छन्।

जो बाइडनले सुमधुर बनाएको अमेरिका र युक्रेनबीचको गठबन्धन अहिले धुज्जाधुज्जा हुन पुगेको छ।

सार्वजनिक रूपमा भएको चर्काचर्कीले नेटो र अमेरिकाबीच देखिन सक्ने एउटा महत्त्वपूर्ण सङ्कटलाई पनि सङ्केत गरेको छ।

युरोपेली सुरक्षाबारे अमेरिकी प्रतिबद्धतालाई लिएर युक्रेनबाहिर थप आशङ्का र प्रश्नहरू खडा हुने छन्।

नेटोका साझेदारमाथि गरिने आक्रमण अमेरिकामाथि आक्रमण गरिए सरह मान्ने भनेर सन् १९४९ मा ह्यारी ट्रूम्यानले गरेको वाचालाई ट्रम्पले जारी राख्ने छन् वा छैनन् भन्ने सबैभन्दा ठूलो प्रश्न हुने छ। बिबिसी नेपाली सेवाबाट

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्