काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको जलवायु संकटलाई विश्वव्यापी जलवायु कार्यसूचीको केन्द्रमा राख्न आग्रह गरेका छन् ।
टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–३१) को चौथो दिन नेपालसहित भुटान, किर्गिस्तान, पाकिस्तान र ताजिकिस्तानले संयुक्त रूपमा आयोजना गरेको उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
‘हिमाल संकटमा पर्दा मानवता पनि संकटमा पर्छ’ भन्दै मन्त्री खनालले हिमनदी र अग्ला हिमशृङ्खला निर्माण हुन हजारौँ वर्ष लाग्ने भए पनि ती अहिले एक मानव जीवनकालमै तीव्र गतिमा पग्लिरहेको बताएका थिए। उनले गत अगस्ट २६ मा नेपालमा आएको विनाशकारी ‘हिमालयन सुनामी’ अर्थात् जलवायुजन्य बाढीको स्मरण गर्दै कोप–३१ हिमाली क्षेत्रको उत्थानशीलताका लागि महत्वपूर्ण मोड बन्नुपर्ने बताए ।
उनले विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न उत्सर्जनमा महत्वाकांक्षी कटौती गर्नुपर्ने, जलवायु अनुकूलन तथा पूर्वाधार निर्माणका लागि ऋण नभई अनुदानमा आधारित वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने र जलवायुजन्य क्षति तथा नोक्सानी सम्बोधन गर्न प्रत्यक्ष एवं समानुपातिक सहायता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए। साथै, हिमनदीको निगरानी, उपग्रह अवलोकन, बहुप्रकोप पूर्वसूचना प्रणाली र क्षेत्रीय तथ्याङ्क आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने बताएका थिए ।
खनालले हिमाल र समुद्री क्षेत्रका समुदायलाई जोड्ने ‘सगरमाथादेखि समुद्रसम्म’ सहकार्यलाई बलियो बनाउन तथा हिमाली उत्थानशीलतासम्बन्धी संयुक्त राष्ट्रसंघीय दशक प्रस्तावलाई समर्थन गर्न पनि आग्रह गरेका थिए ।
यसैबीच, मन्त्री खनालले बिहीबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटमा उनले भोटेकोशीमा आएको हालैको जलवायुमैत्री बाढीपछि महासचिवले व्यक्त गरेको समवेदना र ऐक्यबद्धताप्रति धन्यवाद दिएका थिए। महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख मुलुकका रूपमा नेपालको योगदानको प्रशंसा गरेका थिए ।
भेटमा नेपालको पुनर्निर्माण तथा पुनःस्थापना, विश्वव्यापी शासन प्रणालीमा सुधार, बहुप्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्त र जलवायु कार्यका विषयमा छलफल भएको थियो। यसअघि अल्पविकसित राष्ट्रका मन्त्रीहरूको प्रतिनिधिमण्डलसँगै महासचिव गुटेरेससँगको भेटमा सहभागी हुँदै खनालले हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम, तापक्रम वृद्धिलाई १.५ डिग्रीमै सीमित राख्ने प्रयास र जलवायुजन्य क्षति तथा नोक्सानी सम्बोधनका लागि थप सहयोग आवश्यक रहेको बताएका थिए।
त्यस्तै, मन्त्री खनालले टर्कीमा रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद पौडेलसहित पदाधिकारीसँग पनि अन्ताल्यामै अन्तरक्रिया गरेका थिए। सो अवसरमा संघले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले विदेशमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले प्रभावकारी, सेवाग्राहीमैत्री र प्रविधिमा आधारित कन्सुलर सेवा विस्तार, गुनासोको समयमै सम्बोधन तथा विशेषगरी महिला श्रमिकको अधिकार संरक्षण गर्दै सुरक्षित र सम्मानजनक वैदेशिक रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कोप–३१ मा नेपाली प्रतिनिधिमण्डललाई आवश्यक समन्वय र सहजीकरण गरेकोमा उनले इस्लामाबाद र कायरोस्थित नेपाली नियोग तथा टर्कीस्थित गैरआवासीय नेपाली संघको टोलीलाई धन्यवाद दिएका थिए ।
त्यसपछि कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ का बाँकी बैठक तथा वार्तामा सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री खनालले शुक्रबार साना टापु राष्ट्र तथा अल्पविकसित मुलुकका लागि जलवायु वित्तमा पहुँचसम्बन्धी कार्यक्रममा सम्बोधन गर्ने र पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम छ। उनी शुक्रबार साँझ अन्ताल्याबाट इस्तानबुल हुँदै प्रस्थान गरी नोभेम्बर १४ को बिहान काठमाडौं आइपुग्नेछन् ।


