काठमाडौं । नेपाल सरकारले शैक्षिक संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले २०८३ वैशाख २९ गते जारी गरेको पत्रमार्फत उक्त निर्णय कार्यान्वयन गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह र विद्यालयलाई आग्रह गरेको हो।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णयअनुसार शैक्षिक सत्र २०८३ देखि विद्यालयमा शनिबार र आइतबार सार्वजनिक बिदा लागू गरिएको जनाइएको छ। मन्त्रालयको २०८३ वैशाख २८ गतेको निर्णयअनुसार विद्यालयहरूले पठनपाठनमा असर नपर्ने गरी स्वीकृत पाठ्यक्रमले तोकेको कार्यघण्टा मिलाएर कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ।
पत्रअनुसार विद्यालयहरूले प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्नुपर्नेछ। साथै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसम्बन्धी क्रियाकलाप सञ्चालन गर्न निर्देशन दिइएको छ।
त्यस्तै, हिउँदे तथा वर्षे बिदालाई साविकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ। पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्याङ्कनलाई पठनपाठन भएको दिनमै वा असर नपर्ने गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि भने शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने जनाइएको छ।
केन्द्रले स्वीकृत पाठ्यक्रम तथा सिकाइ उपलब्धिका आधारमा सिकाइ व्यवस्थापन गर्न, समुदाय तथा परिवारसँग सम्बन्धित परियोजना र प्रयोगात्मक कार्यलाई प्राथमिकता दिन तथा सूचना प्रविधिको प्रयोगमार्फत शिक्षणलाई प्रभावकारी बनाउन विद्यालयलाई आग्रह गरेको छ।
परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालनका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको सहयोग पुस्तिकाको उपयोग गर्न सकिने समेत पत्रमा उल्लेख गरिएको छ।



