कनिका खबर
साउन ३२, काठमाडौं
सत्तारूढ नेकपाभित्रको विवाद समाधानका लागि गठन गरिएको कार्यदलले हिजोदेखि काम सुरु गरेको छ । नेकपा महासचिव तथा कार्यदलका संयोजक विष्णु पौडेलको भैंसेपाटीस्थित निवासमा हिजो छलफल भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अस्ति भएको छलफलपछि गठन भएको ६ सदस्यीय कार्यदललाई सहमतिको प्रस्तावको मस्यौदा गर्ने जिम्मेवारी दिइएको छ । पौडेलको संयोजकत्वमा गठित सो कार्यदलमा भीम रावल, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र जनार्दन शर्मा सदस्य रहनुभएको छ । असार १० गतेदेखि बसेको नेकपा स्थायी कमिटी बैठकमा उठेका विषयमै टेकेर छलफल भइरहेको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
नेकपाभित्र बैशाखदेखि विवाद जारी छ । प्रधानमन्त्री ओलीले पार्टी फुटाउन सहज हुनेगरी बैशाख ८ गते अध्यादेश ल्याएपछि नेकपाभित्रको विवादले चर्को रुप लिएको हो । सो विषयमा छलफल गर्न असार १० गतेदेखि स्थायी कमिटी बैठक बसे पनि त्यसमा प्रगती भएको छैन । बैठक पार्टी र सरकार सञ्चालन, अमेरिकी परियोजना एमसीसी, नेपाल–भारत सीमा समस्यालगायत सात एजेन्डामा छलफल गर्न तय गरिएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सहमति पालना नगरेको, सरकार र पार्टी सञ्चालन गर्न असफल भएको भन्दै बैठकमा उहाँको राजीनामा माग भएपछि प्रधानमन्त्री बैठकमा सहभागी हुनुभएको छैन । पार्टीभित्र गतिरोध बढेपछि नेताहरूले दुई अध्यक्षबीच सहमति गराउन र समस्या समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको हो ।