आज दिनभरका प्रमुख २० समाचार बुलेटिन – Kanika Khabar
Thursday, July 30Nepali News Portal

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    मा प्रकाशित

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला केही दिनदेखि उत्पन्न तनावपूर्ण अवस्था, राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यस क्रममा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको गोली लागेर भएको मृत्युको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। अध्यक्ष ओलीले सिरहासहित अन्य स्थानमा पनि गोली लागेर थप नागरिकको ज्यान गएको खबरले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् । उनले घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। ओलीले नागरिकलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै समाजमा विभाजन सिर्जना गर्ने उद्देश्यले भ्रामक प्रचार हुन सक्ने भएकाले त्यस्ता गतिविधिप्रति सचेत रहन सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी र आम नागरिकलाई अनुरोध गरेका छन् । सरकारले नागरिकको जीउधनको सुरक्षा गर्दै संवादमार्फत समस्या समाधान गर्नु प्राथमिक दायित्व भए पनि संवेदनशील अवस्थामा देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता शंकास्पद तथा भर्त्सनायोग्य रहेको उनको भनाइ छ । उनले हिंसात्मक गतिविधि तत्काल रोक्न र संवादका माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् । यस्तै, मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख राजनीतिक दलहरूले आरोप–प्रत्यारोप र राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्नेमा ओलीले जोड दिएका छन् । ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान सम्भव नहुने उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै वर्तमान संकटको निकास सम्भव रहेको बताएका छन्। राष्ट्रको शान्ति, सुरक्षा र सामाजिक सद्भाव जोगाउन सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक र सामाजिक समुदायका अगुवाहरूलाई राष्ट्रिय हितका पक्षमा एकजुट हुन पनि उनले आह्वान गरेका छन् ।

२- गृहमन्त्री सुदन गुरुङ विराटनगर पुगेका छन् । गृहमन्त्री गुरुङ सिधै सुनसरी देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुग्ने छन् भने घटनामा ज्यान गुमाएकाका परिवारजनसँग भेटेर समवेदना व्यक्त गर्ने तथा घटनाबारे जानकारी लिने कार्यक्रम रहेको छ ।

३- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र दुई जना निर्वाचन आयुक्त नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिएको हो । यस्तै, ओखलढुङ्गाका गुरु प्रसाद वाग्ले र काठमाडौँका डा. राजीब सुब्बालाई निर्वाचन आयुक्तमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् । नवनियुक्त पदाधिकारीहरूले अब निर्वाचन आयोगको संवैधानिक जिम्मेवारीअनुसार निर्वाचन व्यवस्थापन, अनुगमन तथा निर्वाचनसम्बन्धी अन्य कार्य सम्पादन गर्नेछन्।

४- उत्तरी कुवेतमा बिहीबार बिहान भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयले उक्त घटनाको आधिकारिक पुष्टि तथा विस्तृत विवरण उपलब्ध गराउन कुवेतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाली राजदूतावास कुवेतका सम्बन्धित सरकारी निकाय तथा सम्बद्ध कम्पनीसँग निरन्तर सम्पर्कमा रहेर घटनाबारे थप जानकारी संकलन गरिरहेको र यस घटनासम्बन्धी थप विवरण प्राप्त हुनेबित्तिकै सार्वजनिक गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

५- जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम साउन १४ गते साँझ ५ बजेदेखि साउन १५ गते बिहान ६ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो। निषेधाज्ञा अवधिमा तोकिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, भेला गर्न, सभा आयोजना गर्न, जुलुस निकाल्न तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार निषेधाज्ञा पूर्वतर्फ प्रतिमा चोक र बसपार्क बाइपास सडक, पश्चिमतर्फ तिलावे पुल, उत्तरतर्फ गण्डक चोक तथा दक्षिणतर्फ शङ्कराचार्य गेटसम्मको क्षेत्रमा लागू हुनेछ। जिल्ला प्रशासन कार्यालयले आदेशको पूर्ण पालना गर्न सबैसँग आग्रह गर्दै निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

६- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले नेपाली समाजमा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गरेका छन् । बिहीबार जारी सन्देशमा उनले नेपाल निर्माणको प्रारम्भदेखि नै नेपालीहरू आपसी मेलमिलाप, सद्भाव र भाइचाराका साथ बस्दै आएको उल्लेख गर्दै बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक नेपाली समाजको यही विशेषताले विश्वमा नेपालको पहिचान र सम्मान स्थापित भएको बताएका छन् । उनले हरेक समुदायले आफ्नो धर्म, संस्कृति, परम्परा र आस्थालाई सम्मान गर्दै आएको परम्परालाई जोगाइराख्नुपर्ने उल्लेख गर्दै नेपालको मौलिक पहिचान र गौरवमा कसैले पनि खलल पुर्‍याउन नहुने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रले केही दिनअघि सुनसरीका केही गाउँबस्तीमा भएको आपसी विवादका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी प्रदेश र तराईका विभिन्न क्षेत्रमा फैलिँदा जनजीवन प्रभावित बनेको घटनाप्रति दुःख व्यक्त गरेका छन् । नेपाल सामाजिक सद्भाव र सामञ्जस्यका लागि परिचित मुलुक भएको उल्लेख गर्दै उनले यस्ता अवाञ्छित घटना र द्वन्द्व मुलुकको मौलिक मूल्य र मान्यताविपरीत भएको बताएका छन् । सन्देशको अन्त्यमा उनले देशका जुनसुकै भूभागमा बसोबास गर्ने सबै नेपालीलाई एकता, सहिष्णुता र आपसी सद्भाव कायम राख्न आग्रह गर्दै अहिलेको आवश्यकता सबै मिलेर अघि बढ्नु नै भएको उल्लेख गरेका छन् ।

७- सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९ वर्षीय गणेश यादवको निधन भएको हो । प्रहरीको गोली लागेर एकजना घाइते भएका छन । उनलाई थप उपचारको लागि नेपाली सेनाले अस्पताल लगेको छ । सुनसरी घटनापछि प्रदर्शन चर्किएपछि प्रहरीले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्युका बीच पनि प्रदर्शन जारी रहेको छ ।

८- नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा पुगेर रोकिएको छ । आज ३३७ कम्पनिका ७५ लाख ४८ हजार ५९१ कित्ता शेयर ३ अर्ब ३८ करोड १३ लाख १८  हजार २४८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रका शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सेन्ट्रल फाइनान्सको शेयर २.८८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको २४ करोड ३८ लाख बराबरको कारोबार भएको छ भने कर्पोरेट विकास बैंकको १५ करोड ३३ लाख बराबरको कारोबार भएको छ ।

९- गत आइतबार सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा प्रहरीको गोली लागेर घाइते भएका २७ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको छ । विराटनगर न्युरो अस्पतालमा उपचारका क्रममा मेहताको मृत्यु भएको हो । जयप्रकाशको पेटमा गोली लागेको थियो । गत सोमबार उनको शल्यक्रिया गरिए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको शव हाल न्युरो अस्पतालमै राखिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । यसअघि आइतबार राति भएको घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि अस्पताल पुर्‍याइएलगत्तै राति १०:४० बजे मृत्यु भएको थियो । उनको शव पनि अझै अस्पतालमै रहेको प्रहरीले जनाएको छ । कप्तानगन्जमा दुई पक्षबीच भएको विवाद आइतबार राति हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । उक्त घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए । आठ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

१०- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम साउन १४ गते दिउँसो ३:३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो । कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा आयोजना गर्न वा घेराउ गर्न निषेध गरिएको प्रशासनले जनाएको छ। प्रशासनका अनुसार कर्फ्युको क्षेत्र उत्तरतर्फ लक्ष्मीनिया गाउँपालिका–७ को लक्ष्मीनिया हाटबजार चोक हुँदै सिनुरजोडा चोकसम्म, पूर्वतर्फ बेलौनी सडकस्थित एमक्यू स्टिलबाट ५०० मिटर पूर्वको पेट्रोल पम्प, हुलाकी सडक हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिका हुँदै नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिनुरजोडा, सोहनी, मणिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुर, दूधमती पुल, बेला र कादरी मस्जिदसम्म तोकिएको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सबैसँग आग्रह गरेको छ। आदेश उल्लङ्घन गर्ने व्यक्ति वा समूहलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ ।

११- प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ । बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।  बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा यही साउन १० गते सुनसरीमा भएको घटनाको समीक्षा गर्दै राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको परिषद्का तर्फबाट ब्रिफिङ गरिएको थियो । बैठकपछि परिषद्ले जारी गरेको विज्ञप्तिमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने उल्लेख छ । साथै विपद्का घटनामा खोज, उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीच समन्वय सुदृढ बनाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खना, अर्थमन्त्री डा स्वर्णिम वाग्ले, नेपाल सरकारका मुख्य सचिव गोविन्द कार्की र प्रधान सेनापति अशोक सिग्देलको उपस्थिति थियो ।

१२- नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमतको दम्भ नदेखाउन रास्वपालाई चेतावनी दिएका छन् । विहिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संख्या अस्थायी भएकाले बहुमतको दम्भ नदेखाउन चेतावनी दिएका हुन् । उनले भने- ‘संख्या अस्थायी हो । मुख्य कुरा राष्ट्रप्रतिको जिम्मेवारी हो । जनताप्रति उत्साह ल्याउनुपर्छ ।’ साथै प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहलाई पुराना नेताहरुसँग संवाद नगरेको भन्दै आलोचना गरेका थिए । उनले भने- ‘प्रधानमन्त्री बालेनलाई पुराना नेताको अनुभव लिन, संवाद गर्न किन रोकेको हो ? आफ्नै अंहकारले रोकेको हो कि के हो ? अनुभव लिन कन्जुस्यायी गर्न आवश्यक छ र ? तपाईंहरु जति संवादबाट टाढा जानुहुन्छ। प्रतिपक्षलाई जति अवमूल्यन गर्नुहुन्छ त्यति राष्ट्र, जनता अफ्ठ्यारोमा पर्ने देखिन्छ।’ प्रचण्डले संसद्मा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले रोस्टमबाट दिँदा सानो नभइने बताउदै त्यसले प्रधानमन्त्रीकै सम्मान बढ्ने बताए । प्रचण्डले देशलाई सफलता र असफलता कतातिर लाने रास्वपाको हातमा रहेको भन्दै रास्वपाको गतिविधिले देश कता जाने भन्ने यकिन हुने स्पष्ट गरे । प्रचण्डले देशमा नयाँ र पुरानाको कुरा उठे पनि नयाँ पार्टी नेतृत्वको सरकारबाट जनताले अपेक्षा गरे अनुसार काम नभएको बताएका छन् । उनले यो सरकारप्रति जनताको आशा अपेक्षा धेरै भए पनि सरकारका क्रियाकलाप त्यस अनुसारको नभएको बरु उल्टो सरकारका कामबाट एकपछि अर्को नकारात्मक उदाहरण बन्दै गएको उल्लेख गरे । नयाँ भनिएको दल र सरकार पुराना भनिएकाहरु भन्दा पनि पछि पर्ने हो कि भन्ने चिन्ता परेको उल्लेख गर्दै प्रचण्डले सरकारको सकुम्बासी प्रकरण, ट्रेड युनियन अधिकार, विद्यार्थीसँग सम्बन्धित कुरा र नेपालको भौगोलिक सीमानासँग सम्बन्धित कुरा होस् वा राष्ट्रिय स्वाधिनताको सवालका कुरा हुन् जनता झनपछि झन झस्किएको अवस्था रहेको बताए ।

१३-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाहले संसदको चरम अपमान गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टिकरण माग गरिँदै आएको भए पनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गरेको र यसले संसदको चरम अपमान भएको बताए । उनले भने- ‘४४ दिनसम्म चलेका दुई अधिवेशनका क्रममा प्रधानमन्त्री जम्मा दुई/तीन घण्टा मात्र संसदमा उपस्थित हुनुभयो। सीमासम्बन्धी अभिव्यक्तिमा निरन्तर स्पष्टिकरण माग हुँदा पनि उहाँको यस्तो उपस्थितिले संसदको चरम अपमान भएको छ।’ केसीले प्रधानमन्त्रीको कार्यशैलीलाई आत्मकेन्द्रित र अहंकारी भएको टिप्पणी गर्दै यसले हुकुमी शासनको झल्को दिएको टिप्पणी गरे ।

१४- जिल्ला प्रशासन कार्यालय मोरङले धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा ठूलो आवाजमा लाउडस्पिकर, माइक, भोपु, साउन्ड बक्स लगायतका ध्वनि उपकरण प्रयोग नगर्न सबै धार्मिक संस्थालाई निर्देशन दिएको छ । प्रशासनले बिहीबार सूचना जारी गर्दै अत्यधिक ध्वनिका कारण बालबालिका, ज्येष्ठ नागरिकसहित सबै उमेर समूहका मानिसमा ध्वनि प्रदूषणबाट मानसिक तथा स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको गुनासो प्राप्त भएकाले ध्वनि प्रदूषण नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरेको हो । सूचनामा सर्वोच्च अदालतले २०८० पुस १६ गते दिएको आदेश तथा नेपाल सरकारले २०६८ कात्तिक १३ गते नेपाल राजपत्रमा प्रकाशित गरेको ध्वनि मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरिएको छ । उक्त मापदण्डअनुसार ग्रामीण क्षेत्रमा दिउँसो ४५ डेसिबल र राति ४० डेसिबल तथा सहरी आवासीय क्षेत्रमा दिउँसो ५५ डेसिबल र राति ५० डेसिबलभन्दा बढी ध्वनि गर्न पाइँदैन । प्रशासनले मोरङ जिल्लाभित्र रहेका सबै मठ-मन्दिर, मस्जिद, चर्च, गुम्बा तथा अन्य धार्मिक स्थललाई धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दा तोकिएको ध्वनि मापदण्ड ननाघ्ने गरी मधुरो आवाजमा कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतको आदेश र प्रचलित कानुनविपरीत ध्वनि प्रदूषण गर्ने वा गराउने व्यक्ति तथा संस्थामाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ ।

१५- राप्रपा सांसद खुस्बु ओली सुनसरीमा गोली कसले चलाएको हो भन्ने स्पष्ट हुनुपर्ने माग गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खुस्बु ओलीले सुनसरी घटनामा गोली कसले चलाएको हो भन्ने स्पष्ट गर्न सरकारसँग माग गरेकी छन् । घटनापछि सरकारको भूमिका नदेखिएको भन्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरेकी छन् । सांसद ओलीले सुनसरी घटना किन भएको हो भन्ने कुरा सत्तारुढ दल र विपक्षी दलहरुले स्पष्ट भन्न नसकेको भन्दै घटना के भएको हो भन्न नसकी कसरी समस्याको समाधान हुन्छ भन्दै प्रश्न गरेकी छन् । उनले नेपालमा रोग्हिन्या, सोमालिया र पाकिस्तान मुलका मानिसहरुको आगमनले सुरक्षा चुनौती बढेको बताउदै सबै पक्ष जिम्मेवारी हुनुपर्ने बताएकी छन् ।

१६- सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहीबार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर सभामुख अर्यालले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था, सङ्घीय संसद्का गतिविधि तथा संसदीय अभ्याससँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त भेटमा संसद्को वर्तमान अवस्था, संसदीय प्रक्रियालाई प्रभावकारी बनाउने विषय तथा समसामयिक राष्ट्रिय मुद्दाबारे समेत विचार विमर्श भएको बताइएको छ।

१७-  नेपाली बजारमा आज सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ८ सयले बढेर २ लाख ८४ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८३ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४३१० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४३२० मा कारोबार भएको थियो ।

१८- नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न १५ दिनको समय सीमासहित समिति गठन गरेको जनाएको छ । समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोगसमक्ष प्रक्रिया अघि बढाउनेछ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार अनुसार पछिल्ला वर्षहरूमा जलविद्युत् उत्पादन उल्लेख्य रूपमा बढ्दै गएको छ । विशेषगरी वर्षायाममा उत्पादन भएको विद्युत् पूर्ण रूपमा खपत हुन नसक्दा आन्तरिक उपभोग बढाउने नीति आवश्यक देखिएको छ । सोही सन्दर्भमा घरायसी तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसुल संरचनामा सुधार गर्ने तयारी गरिएको हो । प्राधिकरणले गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत प्रदान गर्ने तथा उच्च विद्युत खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त दरमा विद्युत् उपलब्ध गराउने लक्ष्य राखिएको जनाएको छ । यसबाट उपभोक्ताको मासिक विद्युत् खर्चमा कमी आउनुका साथै उद्योगहरूको उत्पादन लागत घट्ने अपेक्षा गरिएको छ। महसुल पुनरावलोकनका लागि सञ्चालक समितिका सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति गठन गरिएको छ ।  समितिमा ऊर्जा मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा तथा वित्त क्षेत्रका विज्ञ, उपभोक्ता प्रतिनिधि तथा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।  त्यस्तै सञ्चालक समितिले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजनासम्बन्धी उजुरी तथा गुनासोको अध्ययन गर्न अर्को छुट्टै छानबिन समिति पनि गठन गरेको छ । सञ्चालक समितिका सदस्य शम्भु केसीको संयोजकत्वमा प्राविधिक, कानुनी तथा सार्वजनिक खरिदसम्बन्धी तीन जना विज्ञ सदस्य रहनेछन् भने प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशक सदस्य सचिव रहनेछन् । छानबिन समितिलाई विगतका खरिद प्रक्रिया, सञ्चालन परियोजना तथा प्राप्त उजुरीहरूको अध्ययन गरी सुधारका सुझावसहित दुई महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

१९-  राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रभावकारी बनाउन सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ । आयोगको साउन ५ गते बसेको बैठकको निर्णयअनुसार साउन ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई संशोधनका लागि औपचारिक सिफारिससहित पत्र पठाइएको हो। उक्त सिफारिसको बोधार्थ प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समिति, कानुन, न्याय तथा मानव अधिकार समिति तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा पनि पठाइएको आयोगले जनाएको छ। आयोगले ऐनमा कारागार वा हिरासतमा रहेका महिला कैदी तथा थुनुवाले पनि सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार उपभोग गर्न सक्ने गरी विशेष व्यवस्था थप गर्न प्रस्ताव गरेको छ। यस्तो व्यवस्थाको कार्यविधि सरकारले तोकेबमोजिम हुने उल्लेख गरिएको छ । त्यस्तै, सरकारी, गैरसरकारी तथा निजी संस्थामा कार्यरत पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने अवस्थामा सम्बन्धित कर्मचारीलाई सुत्केरीअघि वा पछि पारिश्रमिकसहित ४५ दिन प्रसूति स्याहार बिदा दिने व्यवस्था गर्न आयोगले सिफारिस गरेको छ । आयोगले गर्भवती महिलाका लागि हानिकारक ठहरिएका कामबाट जोगाउन कार्यस्थलमा प्रजनन स्वास्थ्य संरक्षणसम्बन्धी विशेष व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि अघि सारेको छ। साथै, ऐनअन्तर्गत हुने कसुरका कारण पीडित बनेका व्यक्तिको स्वास्थ्य उपचार र जीवनयापन खर्च कसुरदारबाट भराइने कानुनी व्यवस्था गर्न पनि सुझाव दिएको छ । यसका अतिरिक्त ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने महिलाको प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्ने तथा प्राकृतिक विपद्, महामारीजस्ता जटिल परिस्थितिमा गर्भवती र सुत्केरी महिलाले विशेष संरक्षण पाउने अधिकार कानुनमै स्पष्ट रूपमा व्यवस्था गर्न आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ ।

२०- आइसीसी विश्वकप लिग- २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ । जारी सिरिजको अन्तिम खेलमा नेदरल्यान्डसँग पराजित भएसँगै नेपालले सिरिजमा लज्जास्पद प्रदर्शन गर्दै चारै खेलमा पराजित भएको छ । यस खेलमा नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२५ रन बनाएको थियो भने २२६ रनको विजयी लक्ष्य पछाएको नेपाल ४८ ओभरमा १६८ रन बनाउँदै अलआउट भएको हो ।  नेपालको यस सिरिजमा समग्रमा सबै पक्षमा कमजोर देखिएको छ । नेपालले यस सिरिजको पहिलो खेलमा नामिबीयासँग ८ विकेट, दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेट र तेस्रो खेलमा नामिबीयासँग ३ रनले पराजित भएको थियो । यस सिरिजपछि अब नेपाल शिर्ष चारमा पर्ने सम्भावना पनि लगभग समाप्त भएको छ । नेपालको हाल ३२ खेलमा २४ अंक छ र हाल छैटौं स्थानमा छ । अब विश्वकप लिग- २ मा एक सिरिज खेल्न बाँकी रहेको छ । अब ओमानमा आगामी अक्टोबरमा ओमान, क्यानडासँग अन्तिम सिरिज खेल्ने छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्