अध्यक्ष तथा प्रअ भेला : जर्नी टु जिनियस एक्स्पो बारे छलफल – Kanika Khabar
Sunday, August 16Nepali News Portal

अध्यक्ष तथा प्रअ भेला : जर्नी टु जिनियस एक्स्पो बारे छलफल

    मा प्रकाशित


दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले आज आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक भेला सम्पन्न भएको छ । भेलामा जर्नी टु जिनियस एक्स्पो २०८३ का बारेमा छलफल गरिएको हो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेले एक्स्पोले शैक्षिक क्षेत्रमा नयाँ उचाइ थप्ने बताए । `जर्नी टु जिनियस एक्स्पो’ विद्यार्थीको प्रतिभा पहिचान, सिर्जनशीलता विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने महत्वपूर्ण मञ्च भएको बताएका छन्।

एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले परम्परागत रूपमा शिक्षालाई परीक्षा, अङ्क र प्रमाणपत्रमा मात्र सीमित गर्ने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष पाण्डेले विज्ञान तथा प्रविधि, कृत्रिम बौद्धिकता, रोबोटिक्स, सूचना प्रविधि लगायतका क्षेत्रमा भइरहेको तीव्र विकाससँगै विद्यालय शिक्षालाई पनि सिर्जनशील, अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउनुपर्ने धारणा राखे।

उनले निजी क्षेत्रका विद्यालयहरू शिक्षाको गुणस्तर सुधार, प्रविधिको प्रयोग तथा विद्यार्थीको प्रतिभा विकासमा अझ जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए। विद्यालयबिच स्वस्थ प्रतिस्पर्धासँगै ज्ञान, प्रविधि, अनुभव र सिर्जनाको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

पाण्डेले ‘जर्नी टु जिनियस एक्स्पो’लाई विद्यार्थीका प्रतिभा प्रदर्शन गर्ने कार्यक्रम मात्र नभई नेपालको शैक्षिक भविष्यसँग जोडिएको अभियानका रूपमा लिनुपर्ने बताए। यस्ता कार्यक्रमलाई जिल्ला हुँदै प्रदेश र राष्ट्रियस्तरसम्म विस्तार गर्न प्याब्सन लुम्बिनी प्रदेश सकारात्मक र सहयोगी भूमिकामा रहने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

भेलालाई सम्बोधन गर्दै प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार तथा ‘जर्नी टु जिनियस एक्स्पो’ मूल आयोजक समितिका संयोजक नारायणप्रसाद अधिकारीले शिक्षालाई केवल पाठ्यपुस्तक र परीक्षामा सीमित नराखी सिर्जनशील, प्रयोगात्मक र नवप्रवर्तनमुखी बनाउनुपर्ने बताएका छन्।

भेलालाई सम्बोधन गर्दै अधिकारीले विद्यार्थीभित्र रहेको प्रतिभा र क्षमतालाई पहिचान गरी त्यसलाई व्यवहारमा उतार्ने वातावरण निर्माण गर्नु आजको शिक्षाको प्रमुख आवश्यकता भएको बताए। उनले विद्यार्थीलाई आफ्ना नयाँ सोच, सीप, प्रतिभा र सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले ‘जर्नी टु जिनियस एक्स्पो’ आयोजना गर्न लागिएको जानकारी दिए।

अधिकारीले कार्यक्रमलाई सफल बनाउन विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षा क्षेत्रसँग सम्बन्धित संघसंस्था तथा स्थानीय समुदायको सहकार्य आवश्यक रहेको बताए। उनले ‘जर्नी टु जिनियस एक्स्पो’लाई दाङको शैक्षिक क्षेत्रमा नयाँ अभ्यासको सुरुवातका रूपमा स्थापित गर्दै आगामी दिनमा यसको प्रभावलाई अझ व्यापक बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा पूर्व केन्द्रीय सचिव तथा प्राज्ञिक परिषद् सदस्य यादव गिरीले कार्यक्रमको स्वरूप तथा ढाँचाका बारेमा बताएका थिए ।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार केशव थापा, प्याब्सन दाङका प्रमुख सल्लाहकार मधुसुदन केसी , सल्लाहकार जीवनकुमार आचार्य , डा. जीवराज आचार्य , प्याब्सन घोराहीका सचिव बिमल भण्डारी लगायतले विचार राखेका थिए ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्दले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्