काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। त्यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक पनि बन्द अवस्थामा रहेको छ । पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर राजमार्ग सञ्चालनमा ल्याउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको मन्त्रालयले जनाएको छ । बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सरकारले ५० मिटरसम्म लम्बाइका सात वटा बेलिब्रिज उपलब्ध गराएको छ । आवश्यकता र सम्भाव्यता पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको छ । भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ । पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउनुका साथै रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम भइरहेको छ । त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी गरिएको छ। वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ । सडक खुलाउने कामलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी २० वटा उपकरण परिचालन गरिएको छ । क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
२- सर्वोच्च अदालतले काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यबहाक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन रोक्न दिएको पूरक निवेदनमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ । विहिबार सर्वोच्चका न्यायाधीश डा.नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेल संलग्न पूर्ण इजलासके अन्तरकालीन आदेश दिन अस्वीकार गरेको हो । योसँगै काँग्रेस सभापति गगन थापालाई १५औं महाधिवेशनका कार्यक्रम अगाडी बढाउन बाटो खुलेको छ ।
३- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट सिर्जित राष्ट्रिय संकट, उद्धार तथा राहत व्यवस्थापनका विषयमा मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपत्कालीन छलफल गरेका छन् । बाढी प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएलगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय बैठक बोलाएका हुन् । बैठकमा विपद् व्यवस्थापन, उद्धार तथा राहतसँग प्रत्यक्ष जोडिएका रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन, घाइतेको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका छन् । विस्थापितका लागि सञ्चालन गरिएका राहत शिविर व्यवस्थित र सफा राख्नुपर्नेमा उनले विशेष जोड दिएका छन् । शिविरमा व्यक्तिगत गोपनीयता कायम गर्न तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकतासहित राख्न पनि उनले निर्देशन दिएका छन् । त्यस्तै, बाढीबाट क्षतिग्रस्त सडक, विद्युत् तथा सञ्चार संरचना यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालयलाई एकीकृत कार्ययोजनासहित अघि बढ्न प्रधानमन्त्री शाहले निर्देशन दिएको सचिवालयले जनाएको छ ।
४- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ३५९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार अहिलेसम्म ३५९ जनाको शव फेला परेको हो । जसमा रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३२, गोरखामा ३०, तनहुँमा २२, नवलपरासी पूर्वमा ८२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ । यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २८ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ । त्यस्तै प्रहरीले हाल काठमाडौँका विभिन्न अस्पतालमा कुल ६३ जना उपचाररत रहेको बताएको छ ।
५- सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकेको छ । सरकारका अनुसार विदेशबाट हवाई माध्यममार्फत आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा संकलन गरिनेछ । त्यहाँ जम्मा भएका सामग्री आवश्यकताअनुसार सरकारले बाढी प्रभावित क्षेत्रमा पठाउनेछ । त्यस्तै, स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरिनेछ । संकलित सामग्री आवश्यकताअनुसार प्रभावित क्षेत्रमा वितरण गरिने सरकारले जनाएको छ । बाढी प्रभावितका लागि राहत सामग्री सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाले सरकारले तोकेका यी तीन स्थानमा सामग्री पुर्याउनुपर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राहत सामग्री बुझाउने स्थान र सम्पर्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय आपतकालीन गोदामघरमा सम्पर्क: श्रद्धा भट्टराई- ९८४१८७९२२२, मैथेली ब्यारेक, बट्टार, नुवाकोट सम्पर्क : आविष्कार- ९८५१२३४३२४, बैरेनी ब्यारेक, धादिङ- सम्पर्क : दिलीप घले-९८५११५४२२६ रहेका छन् । यसका अतिरिक्त इच्छुक दाताले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, आर्थिक सहयोग गर्न चाहने स्वदेश र विदेशीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा योगदान गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिइएको छ ।
६- रसुवा, नुवाकोट, धादिङ र गोरखाका क्षेत्रमा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीपछि पर्यटक तथा यात्रुको अवस्थाबारे खोजी र उद्धार कार्य तीव्र पारिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रबाट २७ जना विदेशी पर्यटकको उद्धार गरिएको नेपाल पर्यटन वोर्डले जानकारी दिएको छ । जसमा ११ जना भारतीय, ४ जना दक्षिण कोरियाका तथा अमेरिका र इटालीका २-२ जना रहेको बोर्डले जनाएको छ । त्यस्तै उद्धार गरिएका ८ जना विदेशी नागरिकको राष्ट्रियता नखुलेको बोर्डले जनाएको छ । बोर्डले अहिलेसम्म सो क्षेत्रमा नेपालीसहित ६४४ जना सम्पर्कविहीन रहेको यस अघि जानकारी दिएको थियो । बाढीबाट प्रभावित क्षेत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित निकायले पर्यटक तथा यात्रुको अवस्था यकिन गर्ने काम गरिरहेका छन् । प्रभावित क्षेत्रमा रहेका वा ती क्षेत्र हुँदै यात्रा गरिरहेका पर्यटक तथा यात्रुको अवस्था पत्ता लगाउने र सुरक्षित स्थानमा पुर्याउने प्रयास भइरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । घाइते तथा प्रभावित क्षेत्रमा फसेका व्यक्तिको उद्धार र सुरक्षित स्थानान्तरणका लागि पनि सबै प्रयास जारी रहेको बोर्डको भनाइ छ । बाढीबाट प्रभावित क्षेत्रमा रहेका अन्य पर्यटक तथा यात्रुको अवस्थाबारे पनि सम्बन्धित निकायले खोजी तथा समन्वय गरिरहेको बोर्डले जनाएको छ ।
७- सरकारले बाढी, पहिरो र आगलागीजस्ता प्राकृतिक विपद्का समयमा ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले सुरक्षा निकायका जनशक्तिको सेवा सुविधामा परिमार्जन गर्ने निर्णय गरेको हो । विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोलेर अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको योगदानको कदर गर्दै सुविधा बढाउने निर्णय गरिएको हो । विपद् व्यवस्थापनको कामलाई अझ प्रभावकारी, छिटो र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउन आवश्यक भएकाले सेवा सुविधा परिमार्जन गरिएको प्राधिकरणले जनाएको छ । कार्यकारी समितिको निर्णयअनुसार सम्बन्धित सुरक्षा निकायले सेवा सुविधा परिमार्जनसम्बन्धी प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाउनुपर्नेछ। त्यसपछि सम्बन्धित मन्त्रालयले आवश्यक निर्णय गर्नेछन् ।
८- भोटेकोशी नदीमा सम्भावित बाढीको जोखिम देखिएपछि बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । चीनतर्फबाट परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाअनुसार भू-उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणबाट भदौ १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ । उक्त तालको पानीको सतह बढिरहेको र जुनसुकै बेला ताल फुट्न सक्ने जोखिम रहेको सूचनामा उल्लेख छ । महाशाखाले भनेको छ- ‘चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुंदै प्राप्त पछिल्लो सूचना अनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार, हिजो भाद्र १० मा बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेको जनाइएको छ। उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको उक्त सूचनामा उल्लेख छ ।’ सम्भावित जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट टाढा रही सुरक्षित स्थानमा बस्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।
९- भारतले भोटेकोसीमा आएको बाढीमा अहिलेसम्म आफ्ना २८८ नागरिक सम्पर्कविहीन रहेको बताएको छ । भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरेर नेपालको बाढीमा बेपत्ता भएका आफ्ना नागरिक बारे विवरण दिएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सम्पर्कविहीन रहेका भारतीय नागरिकमध्ये ७३ जना त्रिशुली–१ जलविद्युत् आयोजनामा कार्यरत रहेको बताएका छन् । त्यस्तै सम्पर्कविहीन हुनेहरुमा कैलाश मानसरोवर यात्रामा गएका तमिलनाडुका ३७ र ४९ जनाको अलग अलग समूहमा सम्राट ट्राभल्स र फ्लाई एभरेस्ट ट्राभल्समार्फत यात्रामा गएका भारतीय नागरिक सम्पर्कमा नरहेको प्रवक्ता जैसवालले जानकारी दिएका छन् । त्यस्तै, पश्चिम बंगालका ३२ जना भारतीय नागरिक पनि सम्पर्कमा छैनन् । उनीहरूपनि सम्राट ट्राभल्सको सहयोगमा टिमुरेबाट सम्पर्कविहीन भएको उनले जनाएका छन् । यसका अतिरिक्त भारतका विभिन्न प्रदेशका ६१ जना नागरिक रिचा टुर्समार्फत नेपाल पुगेको र केरेलका ३३ जना भारतीय नागरिक पनि सम्पर्कविहीन रहेको उनले बताएका छन् । भारत सरकार नेपाली अधिकारीहरूमार्फत आफ्ना नागरिकसम्म पहुँचको अधिकत्तम प्रयास गरिरहेको बताएको छ । बिहीबार अपराह्न १ बजेसम्ममा २१ जना भारतीय नागरिकको सफल उद्धार समेत भएको उनले जानकारी दिएका छन् । उनीहरुलाई काठमाडौं ल्याइसकेपछि यथसक्य छिटो भारत ल्याइपुर्याउने तयारी रहेको जैसवालले जानकारी दिएका छन् ।
१०- संयुक्त अरब इमिरेट्सका क्रिकेट खेलाडी आसिफ खान प्रतिबन्धित पदार्थ सेवनसम्बन्धी नियम उल्लंघन गरेको पुष्टि भएपछि १५ महिनाका लागि प्रतिबन्धमा परेका छन् । आसिफले सन् २०२५ सेप्टेम्बर ८ मा गरिएको प्रतियोगिताबाहिरको परीक्षणमा प्रतिबन्धित पदार्थ मेस्टेरोलोनको चयापचयबाट बन्ने पदार्थ प्रयोग गरेको देखिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को प्रतिबन्धित पदार्थविरुद्धको नियम उल्लंघन गरेको स्वीकार गरेका हुन् । ३६ वर्षीय आसिफले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को प्रतिबन्धित पदार्थसम्बन्धी नियमको धारा २.१ उल्लंघन गरेको स्वीकार गर्दै विश्व प्रतिबन्धित पदार्थ नियन्त्रण निकाय र अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग भएको सहमति सम्झौतामार्फत सजाय स्वीकार गरेको आइसीसीले जनाएको छ । उनको प्रतिबन्ध अवधि सन् २०२५ सेप्टेम्बर ८ देखि लागू भएको मानिनेछ र सन् २०२६ डिसेम्बर ७ सम्म रहनेछ । आसिफले सन् २०२६ अक्टोबर ८ देखि टोलीसँग प्रशिक्षण गर्न वा क्लब तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का सदस्य संस्थाका अभ्यासस्थल प्रयोग गर्न पाउनेछन् । तर प्रतिस्पर्धात्मक क्रिकेटमा भने डिसेम्बर ८ देखि मात्र फर्कन पाउनेछन् । नियमअनुसार सन् २०२५ सेप्टेम्बर ८ देखि डिसेम्बर २९ मा अस्थायी प्रतिबन्ध सुरु हुनुअघिसम्म आसिफले खेलेका व्यक्तिगत प्रदर्शनका सबै नतिजा रद्द गरिएको छ । यससँगै उनले प्राप्त गरेका पदक, अंक, पुरस्कार रकम तथा अन्य पुरस्कारसमेत गुमाउनेछन् । आसिफले सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेयता संयुक्त अरब इमिरेट्सका लागि ३८ एकदिवसीय र ५६ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
११- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले आर्थिक सहयोग गर्न अपिल गरेको छ । सरकारले यसअघि नेपाली बैंकका खाता नम्बर सार्बजनिक गरेकोमा अब विदेशमा रहेका नेपाली तथा नेपालको विपद्को घडीमा सहयोग गर्न चाहने विदेशी नागरिक र संस्थाले सिधै नेपाल सरकारको खातामा सहायता रकम पठाउन सक्ने गरि वेब पोर्टल संचालनमा ल्याएको छ । सहयोगका लागि https://pmdrf.nchl.com.np/ वेब पोर्टल प्रयोग गर्न सकिने सरकारले जानकारी दिएको छ । भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन् । विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्न आवश्यक भएकाले सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न आग्रह गरेको हो ।
१२- नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १.०४ अंकले घटेर २५५७.३१ विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका एक करोड ६ लाख २६ हजार ३७० कित्ता शेयर ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार ७० मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, फाइनान्स, होटल्स, लगानी, उत्पादन, माइक्रोफाइनान्स र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने घोराही सिमेन्टको शेयर ८.१९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपर हेवाखोला हाइड्रोको शेयर ९.४५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको २१ करोड ७५ लाख बराबरको कारोबार भएको छ भने एसबिआई बैंकको १६ करोड ६६ लाख बराबरको कारोबार भएको छ ।
१३- प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । आज बिहान ९: ३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गरेका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात् काठमाडौँ फर्किएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढीलगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुभएका उहाँले विदुर र त्यस आसपासका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो। सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिएका थिए । स्थलगत निरीक्षण र आवश्यक निर्देशन पश्चात् प्रधानमन्त्रीको टोली आजै काठमाडौँ फर्किएको छ ।
१४-एक लाख घुससहित पक्राउ परेका नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर भएको छ । भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै पटक–पटक दुःख हैरानी दिने र घुस माग्ने गरेको सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले तामाङलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा तामाङले आर्थिक वर्ष २०८२/८३ मा म्यागङ गाउँपालिका, नुवाकोटअन्तर्गत सौर्य सडक बत्ती खरिद तथा जडानको काममा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस मागेर एक लाख रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुर भएको भन्दै अख्तियारले तामाङविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी कैद तथा बिगो बराबर जरिवाना मागदाबी गरेको छ । अख्तियारले आज विशेष अदालत, काठमाडौंमा तामाङविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ ।
१५- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि ३३ देशका ६४४ पर्यटक तथा नेपाली नागरिक अझै सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । नेपाल पर्यटन बोर्डको बिहीबार दिउँसो १२ बजेसम्मको अपडेट जानकारी अनुसार बाढीमा सबैभन्दा धेरै भारतका १७८ जना सम्पर्कविहीन छन् भने नेपालका १२७ जना पर्यटक सम्पर्कविहीन रहेका छन् । देशअनुसार सम्पर्कविहीन हुने पर्यटकमा भारतका १७८ जना, नेपालका १२७ जना, अमेरिकाका ६५ जना, मलेसियाका ५१ जना, युक्रेनका ५३ जना, अष्ट्रेलियाका ३५ जना, बेलायतका ३३ जना, क्यानडाका २५ जना, सिंगापुरका ९ जना, जर्मनी र रुसका ८- ८ जना रहेको बोर्डले जनाएको छ । त्यस्तै, लात्भिया र दक्षिण अफ्रिकाका ६-६ जना, जापान र न्यूजील्याण्डका ५-५ जना, फ्रान्सका ४ जना, बेल्जियम र स्पेनका ३-३ जना, इटाली, आयरल्याण्ड, काजकिस्तान, नेदरल्याण्डस, पोर्चुगलका २-२ जना सम्पर्कविहिन रहेका छन् । त्यसैगरी, बेलारुस, बुल्गेरिया, हंगेरी, इजरायल, लिथुआनिया, फिनल्याण्ड, फिलिपिन्स, सर्बिया, स्विडेन र स्वीजरल्याण्डका एक एक पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ । बोर्डले कुल ६४४ जना बाढीपछि हालसम्म फेला नपरेका वा सम्पर्कमा नआएका व्यक्तिका रूपमा राखिएको जनाएको छ ।
१६- सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत संकलन गर्न एकद्वार प्रणाली लागू गरेको छ । अर्थ मन्त्रालयले बिहीबार सूचना जारी गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा नगद तथा जिन्सी सहयोग गर्न चाहने परोपकारी व्यक्ति, निजी क्षेत्र, दातृ निकाय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई अर्थ मन्त्रालयमार्फत समन्वय गर्न आग्रह गरेको हो । मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय दातृ निकाय तथा संघसंस्थाका प्रतिनिधिले राहत सहयोगका लागि अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालसँग समन्वय गर्न सक्नेछन् भने निजी क्षेत्र तथा सहयोग गर्न इच्छुक व्यक्तिले अर्थमन्त्रीको सचिवालयमार्फत राहत सहयोगका लागि समन्वय गर्न सक्ने मन्त्रालयले जनाएको छ । राहत सहयोगसम्बन्धी समन्वयका लागि नवीन ढुंगाना, कञ्चन बस्नेत, खोमनाथ अधिकारी र माधव भण्डारीलाई सम्पर्क व्यक्तिको रुपमा तोकिएको छ । सम्पर्कका लागि ९८५११८३००१, ९८४१९७९०७५, ९८४९१९७१११, ९८५१३५४३४४ र ९८५१२०६२०१ नम्बर समेत उपलब्ध गराइएको छ । मन्त्रालयले राहत तथा सहयोगलाई व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सहयोग उपलब्ध गराउन आग्रह गरेको जनाएको छ ।
१७- अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत नेपाल ए ले तेस्रो हार बेहोरेको छ । विहिबार सम्पन्न खेलमा नेपाल ए हैदरावाद किंग्सम्यान एकेडेमीसँग ३१ रनले पराजित भएको हो । हैदरावादले दिएको १९८ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा अल आउट हुदै १६६ रन बनाएको थियो । नेपाल ए का लागि कुशल भुर्तेलले सर्बाधिक ६६ रन बनाए भने लोकेश बमले ३८ रन बनाएका थिए । यसअघि हैदरावादले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाएको थियो । यस प्रतियोगितामा नेपालको यो पाँचौं खेलमा तेस्रो हार हो । अब नेपालले अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ ।
१८- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकले १० बुँदे अपिल जारी गरेको छ । सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा भएको सर्बदलीय बैठकले विद्प व्यवस्थापन बारे सर्वदलीय संयुक्त १० बुँदे अपिल जारी गरेको हो । अपिलमा रवि लामिछाने, सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी, गगन थापा, सभापति, नेपाली कांग्रेस, पुष्पकमल दाहाल, संयोजक, नेपाली कम्युनिष्ट पार्टी, शंकर पोखरेल, महासचिव, नेकपा एमाले, ध्रुव राई, श्रम संस्कृति पार्टी, राजेन्द्र लिङ्देन, अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी, उपेन्द्र यादव, अध्यक्ष, जनता समाजवादी पार्टी र चन्दन सिंह, जनमत पार्टीले हस्ताक्षर गरेका छन् । सर्वदलीय संयुक्त वक्तव्य तथा अपिल: नेपाल र मित्रराष्ट्र चीनको सीमावर्ती क्षेत्रबाट भोटेकोशी लगायतका नदी बेसिनमा आएको अप्रत्याशित र अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायतका जिल्लाहरूमा पर्न गएको असीमित मानवीय क्षति, भौतिक संरचनाको विनाश र वातावरणीय सङ्कटप्रति आज सम्पन्न सर्वदलीय बैठक गहिरो शोक र राष्ट्रिय पीडा व्यक्त गर्दछ । यस अकल्पनीय प्राकृतिक विपत्तिमा परी निधन भएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं। घाइते नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, विपत्तिमा परी घरबारविहीन भएका तथा रोजगारी र पूर्ण रूपमा आफ्नो जीवन गुमाएका नागरिकको अभिभावक राज्यले वहन गर्नुपर्ने कुरामा हामी सबै राजनीतिक दलहरू एकमत छौं । विपद्को यो संवेदनशील घडी केवल एउटा भूगोल वा सरकारको मात्र सङ्कट नभई सिङ्गो राष्ट्रको साझा परीक्षाको समय हो। यस विषम परिस्थितिमा हामी सम्पूर्ण राजनीतिक दलहरू आफ्नो वैचारिक मतभेद भन्दा पर रही नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखी एकीकृत हुने प्रतिबद्धता व्यक्त गर्दछौं । यस सङ्कटको दिगो समाधान र पूर्वतयारीका लागि हामी निम्न साझा सङ्कल्प प्रस्तुत गर्दछौंः १. राहत कार्यको गैर–राजनीतीकरण: विपद्को समयमा गरिने सहयोग कुनै लोकप्रियता वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बन्न हुँदैन भन्नेमा हामी सम्पूर्ण दलहरू स्पष्ट छौं। तसर्थ, उद्धार र राहत कार्यमा खटिँदा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यको भावनालाई प्रोत्साहित गर्न आह्वान गर्दछौं। दलहरूका नेता, सदस्य र शुभचिन्तकहरूलाई दलगत पहिचानभन्दा माथि उठेर विशुद्ध मानवीय स्वयंसेवकका रूपमा मात्र खटिन आग्रह गर्दछौं । २. आर्थिक सङ्कलनमा सरकारी एकद्वार प्रणालीको पालना: विपद् व्यवस्थापनमा हुने आर्थिक सङ्कलन पारदर्शी र व्यवस्थित हुनुपर्छ। कोही–कसैले पनि दलगत वा व्यक्तिगत रूपमा आफूखुसी आर्थिक सङ्कलन गर्ने कार्य नगर्न/नगराउन हामी आ–आफ्नो पार्टी पङ्क्तिलाई निर्देशन दिन्छौं। सम्पूर्ण पार्टी पङ्क्ति, स्वदेश तथा विदेशमा रहेका नागरिक र शुभचिन्तकहरूलाई नेपाल सरकारको आधिकारिक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा सरकारले तोकेको आधिकारिक खातामा मात्र आर्थिक सहयोग जमा गर्न हामी विशेष आह्वान गर्दछौं । ३. सामाजिक सञ्जालको विवेकसम्मत प्रयोग र संवेदनशील सूचना प्रवाह: विपद्को संवेदनशील घडीमा सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक सूचना र अतिरञ्जित दृश्यहरूले समाजमा मनोवैज्ञानिक त्रास सिर्जना गर्नुका साथै प्रभावितहरूको गोपनीयता र आत्मसम्मानमा चोट पु¥याउन सक्छ। तसर्थ, आधिकारिक निकायबाट प्रमाणित सूचनाहरू मात्र सम्प्रेषण गर्न र सामाजिक सञ्जालको संयमित, विवेकसम्मत र उत्तरदायी प्रयोग गर्न हामी सम्पूर्ण नागरिक तथा सञ्चारमाध्यमहरूलाई अनुरोध गर्दछौं । ४. हिमतालहरूको वैज्ञानिक अध्ययन र सीमापार संयुक्त पहल: जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र र मित्रराष्ट्र चीनको तिब्बत क्षेत्रमा रहेका हिमतालहरू पग्लिने र विस्फोट हुने उच्च जोखिममा छन् । यसपटकको बाढीले भविष्यमा हुन सक्ने अझ ठूलो महाविपत्तिको सङ्केत गरिसकेको छ। तसर्थ, भविष्यको अकल्पनीय क्षतिलाई रोक्न अहिलेदेखि नै नेपालभित्रका जोखिमपूर्ण हिमतालहरूको विस्तृत वैज्ञानिक अध्ययन र नक्साङ्कन अविलम्ब सुरु गर्न हामी सरकारसँग माग गर्दछौं । साथै, सीमापार (चीनतर्फ) रहेका हिमतालहरूको जोखिम आकलन र न्यूनीकरणका लागि मित्रराष्ट्र चीनसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी संयुक्त वैज्ञानिक तथा प्राविधिक अध्ययन संयन्त्र गठन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं । ५. विपद् कूटनीति र पूर्वसूचना प्रणाली: नदी प्रणालीहरूको सीमापार प्रकृतिका कारण हुँदै देशबीच पूर्वसूचना प्रणालीको ‘रियल टाइम डाटा’ आदानप्रदानलाई अझ सुदृढ र संस्थागत गर्न आवश्यक छ। माथिल्लो तटीय क्षेत्रमा कुनै पनि प्राकृतिक हलचल हुनासाथ तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित गर्न सक्ने गरी प्रविधिमैत्री र भरपर्दो संयन्त्र विकास गर्न सरकारलाई सुझाव दिन्छौं । ६. राष्ट्रिय एकता र समावेशी उद्धार: विपद् व्यवस्थापनमा पहिलो प्रतिकार्यकर्ताका रूपमा स्थानीय तहले निर्वाह गरेको भूमिकालाई हामी उच्च मूल्याङ्कन गर्दछौं। महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई विपद्मा सर्वाधिक जोखिममा पर्ने यथार्थलाई मनन गर्दै उनीहरूको उद्धार, राहत र व्यवस्थापनमा पहिलो प्राथमिकता दिन आग्रह गर्दछौं । ७. उत्थानशील पुनर्निर्माण र शून्य सहनशीलता: भत्किएका संरचनाको अझ उन्नत र सुरक्षित पुनर्निर्माणको राष्ट्रिय अभियान अविलम्ब सुरु गरिनुपर्दछ। साथै, विपद्को समयमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा राहतको दुरुपयोग गर्ने कुनै पनि प्रवृत्ति राष्ट्रहितको गम्भीर अपराध भएकाले त्यस्ता कार्यमा संलग्न जोकोहीलाई ‘शून्य सहनशीलता’ को नीति अनुरूप कडा कानुनी कारबाही गर्न हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं । ८. जलवायु न्याय र विश्वव्यापी उत्तरदायित्व: हिमाली क्षेत्रमा बढ्दै गएको हिमताल विस्फोट र असामान्य बाढीको शृङ्खला विश्वव्यापी जलवायु परिवर्तनको असर हो, जसमा नेपालको योगदान नगण्य छ । नेपालले भोगिरहेको यस्ता ‘हानि र नोक्सानी’ को विषयलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त रूपमा उठाउँदै, जलवायु न्यायको सिद्धान्त अनुरूप अन्तर्राष्ट्रिय समुदाय र बहुपक्षीय विकास साझेदारहरूलाई दायित्वबोध गराउन सरकारलाई आग्रह गर्दछौं । ९. अन्तर्राष्ट्रिय समुदायको सहयोग: अकल्पनीय क्षतिपछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा आवश्यक मानवीय, प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ, मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मित्रराष्ट्र चीन तथा प्रवासी नेपाली समुदायलगायतलाई अपिल गर्दछौं । १०. दीर्घकालीन समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन: विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यलाई अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नगरी दिगो र दीर्घकालीन समाधान खोज्नु नितान्त आवश्यक छ। तसर्थ, विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार र सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘सर्वदलीय संयन्त्र’ गठन गर्न हामी सहमत छौं। यस संयन्त्रले सङ्कटको समयमा मात्र नभई विपद् पूर्वतयारी र दिगो विकासको एजेन्डामा राष्ट्रिय सहमति निर्माण गर्दै नीतिगत सुधारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
१९- स्पेनिस ला लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडलाई ४-१ गोल अन्तरले पराजित गरेको छ । गएराति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल म्याड्रिडका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए भने भिनिसियस जुनियरले एक गोल गरेका थिए । खेलको ४०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए । तर चार मिनेटपछि लुका सुचिचले रियल सोसिडाडका लागि बराबरी गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने रियल म्याड्रिडले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो । ६०औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए । त्यसको आठ मिनेटपछि जुड बेलिङ्घमको पासमा भिनिसियस जुनियरले गोल गर्दै रियलको अग्रता ३-१ बनाए । त्यसपछि, खेलको ८०औँ मिनेटमा भिनिसियसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै एम्बाप्पेले गोल गरेपछि उनको ह्याट्रिक पूरा भएको थियो । त्यससँगै रियल म्याड्रिडले ४-१ को प्रभावशाली जित पक्का गरेको हो । यो जितसँगै रियल म्याड्रिडले लिगमा लगातार दोस्रो जित हात पारेको छ ।
२०- माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले रोजगारी र मानव जीवनमा गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका छन् । बुधबार करिब ६ हजार शब्दको गेट्सनोट्स डट कममा लेख सार्बजनिक गर्दै गेटले यस्तो चेतावनी दिएका हुन् । उनले कृत्रिम बौद्धिकताबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण गर्नु विश्वकै प्रमुख प्राथमिकता हुनुपर्ने बताएका छन् । गेट्सका अनुसार प्रविधि उद्योगले कृत्रिम बौद्धिकताका सम्भावित जोखिमलाई जानाजान कम आँकिरहेको छ। यस क्षेत्रमा ठूलो मात्रामा लगानी भइरहेकाले कम्पनी तथा लगानीकर्ताले यसको जोखिमबारे सार्वजनिक रूपमा खुलेर बोल्न नचाहेको उनको भनाइ छ । गेट्सले कृत्रिम बौद्धिकताको क्षमता तीव्र रूपमा बढिरहेको कुरा निजी रूपमा बुझ्ने धेरै मानिस गम्भीर रूपमा चिन्तित रहेको बताएका छन् । तर, उनीहरू सार्वजनिक रूपमा आफ्नो चिन्ता व्यक्त गर्न तयार नभएको उनको भनाइ छ । उनका अनुसार कृत्रिम बौद्धिकताका जोखिमबारे खुलेर बोल्दा कम्पनीको आगामी लगानी तथा आर्थिक अवसरमा असर पर्न सक्ने भएकाले प्रविधि क्षेत्रका व्यक्तिहरू मौन बसिरहेका छन् । गेट्सले यस वर्षको अन्त्यतिर चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गर्ने इच्छा रहेको बताएका छन् । भेटमा कृत्रिम बौद्धिकताबाट उत्पन्न हुन सक्ने जोखिम घटाउन विश्वव्यापी पहल अघि बढाउने विषयमा छलफल गर्ने उनको योजना छ । उनले अमेरिकाले जोखिमपूर्ण कृत्रिम बौद्धिकता प्रणालीमा प्रतिबन्ध लगाउने पहल गरेमा चीनले पनि त्यसलाई पछ्याउन सक्ने धारणा राखेका छन् । गेट्सले देशहरूले कृत्रिम बौद्धिकताको प्रयोगबाट जैविक हमला तथा आणविक हतियार निर्माण गर्न सकिने सम्भावनामा विशेष निगरानी राख्नुपर्ने बताएका छन् । कृत्रिम बौद्धिकताको व्यवस्थापन तथा नियमनका लागि नयाँ अन्तर्राष्ट्रिय संस्था आवश्यक रहेको उनको प्रस्ताव छ । यस्तो संस्थाको संरचना आणविक निरीक्षण व्यवस्था, हवाई उड्डयनसम्बन्धी नियम तथा ओजोन तह संरक्षणका लागि भएका अन्तर्राष्ट्रिय सम्झौताबाट सिकेर बनाउन सकिने उनको धारणा छ । गेट्सले कृत्रिम बौद्धिकताले ठूलो संख्यामा रोजगारी विस्थापित गर्न सक्ने विषयमा पनि चिन्ता व्यक्त गरेका छन् । साथै, यसले मानिसलाई मनोवैज्ञानिक रूपमा प्रभावित तथा निर्भर बनाउन सक्ने जोखिम रहेको बताएका छन् । उनले कृत्रिम बौद्धिकताको क्षमता देखाउने पछिल्ला साइबर सुरक्षा परीक्षणलाई पनि गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । उनका अनुसार ओपनएआई, एन्थ्रोपिक र मेटा प्लेटफर्मका प्रविधिले साइबर सुरक्षा परीक्षणका क्रममा वास्तविक वेबसाइटमा अनधिकृत प्रवेश गर्न सफल भएका घटना निकै चिन्ताजनक छन् । गेट्सले यस्ता घटना कृत्रिम बौद्धिकता कति शक्तिशाली बन्दै गएको छ भन्ने संकेत भएको भन्दै यसको विकाससँगै सुरक्षा र नियन्त्रणका उपायलाई पनि समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।


