चीनको सीमामा बनेको ताल फुट्ने क्रममा, उच्च सतर्कता अपनाउन आग्रह – Kanika Khabar
Friday, August 28Nepali News Portal

चीनको सीमामा बनेको ताल फुट्ने क्रममा, उच्च सतर्कता अपनाउन आग्रह

    मा प्रकाशित

काठमाडौँ । भोटेकोशी नदीमा फेरि बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले चीन सरकारबाट प्राप्त सूचनाका आधारमा भूउपग्रहका तस्बिर तथा प्रारम्भिक विश्लेषण गर्दा भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर ताल बनेको र उक्त तालको पानीको सतह बढिरहेको र ताल फुट्न सक्ने जोखिमसमेत देखिएको महाशाखाले जनाएको छ ।

अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरिएको छ ।

यसैबीच आज पाँचथर, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, दैलेख र अछाम तथा आसपासका जिल्लामा बहने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमसमेत रहेको छ। त्यसैले नदी तथा खोलाको आसपासमा बसोबास गर्ने र यात्रा गर्ने व्यक्तिलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

त्यसैगरी, भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि अहिले भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहेको भए पनि जोखिमको अवस्था कायम रहेकाले उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्