काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य वासना थापाले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालका तर्फबाट उठाएको जलवायु न्याय र जलवायु परिवर्तनका मुद्दाप्रति समर्थन जनाएकी छन्।
थापाले प्रधानमन्त्रीले विश्वमञ्चमा नेपालको जलवायु संवेदनशीलता, हालैका विपद् तथा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिका विषयलाई स्पष्ट रूपमा उठाउनु सकारात्मक र सान्दर्भिक भएको बताएकी हुन्। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित नराखी जिम्मेवारी, निर्णय प्रक्रियामा सहभागिता र भावी पुस्ताको भविष्यसँग जोडेर प्रस्तुत गरेका थिए।
थापाका अनुसार नेपाल जलवायु परिवर्तनमा नगण्य योगदान गर्ने मुलुक भए पनि यसको असरबाट सबैभन्दा बढी प्रभावित हुने देशमध्ये एक हो। पछिल्लो समय भोटेकोशी बाढी लगायतका जलवायुजन्य विपद्ले नेपालको संवेदनशीलता थप उजागर गरेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायबाट सहानुभूतिभन्दा जलवायु न्याय, राहत, पुनर्निर्माण, सुरक्षित पुनर्स्थापना र दीर्घकालीन अन्तर्राष्ट्रिय प्रतिबद्धता आवश्यक रहेको धारणा राखेकी छन्।
उनले देशभित्र तथा बाहिर रहेका नेपालीहरूले जलवायु न्यायका पक्षमा आवाज उठाइरहेको अवस्थामा प्रधानमन्त्रीले विश्वमञ्चमा पुगेर नेपालको वास्तविक अवस्था र सरोकारलाई स्पष्ट रूपमा प्रस्तुत गर्नु सकारात्मक भएको बताएकी छन्।
यद्यपि, राष्ट्रिय महत्त्वका विषयमा प्रधानमन्त्रीको विदेश भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा हुने प्रस्तुतिका सन्दर्भमा संसद्लाई पूर्वजानकारी गराउने स्थापित संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने थापाको भनाइ छ।
उनले यसपटकको भ्रमणका क्रममा संसद्लाई जानकारी गराउने प्रक्रिया छुटेको विषयमा आफ्नो चासो रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता विषयमा विधि, प्रक्रिया र संसदीय अभ्यासलाई थप गम्भीरतापूर्वक पालना गर्नुपर्ने बताएकी छन्।
“विधि र प्रक्रियाका सन्दर्भमा हाम्रा केही चासोहरू रहे पनि, राष्ट्रको प्रतिनिधित्व गर्दै विश्वमञ्चमा जलवायु न्याय, राहत, पुनर्निर्माण र अन्तर्राष्ट्रिय उत्तरदायित्वको पक्षमा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको विचार र अडानप्रति नेपाली कांग्रेसको पूर्ण ऐक्यबद्धता र समर्थन रहेको छ,” थापाले भनेकी छन्।
थापाको यो धारणा कांग्रेसले प्रधानमन्त्रीको जलवायु कूटनीतिक पहललाई समर्थन गर्दै संसदीय जवाफदेहिता र प्रक्रियागत पक्षलाई समेत समान रूपमा महत्त्व दिएको सन्देशका रूपमा आएको छ। कांग्रेसले यसअघि पनि भोटेकोशी विपद्लाई नेपालको जलवायु कूटनीतिमा महत्त्वपूर्ण विषयका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने धारणा सार्वजनिक गरेको थियो।
वासना थापा नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक हुन् र प्रतिनिधिसभामा दैलेख–१ बाट प्रतिनिधित्व गर्छिन्।


