दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दाङकी नेतृ अनिता देवकोटाले केन्द्रीय सदस्य महिला खुलातर्फ उम्मेदवारी दिएकी छन्। विद्यार्थी तथा पार्टी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउँदै आएकी देवकोटा संविधानसभा सदस्यको भूमिकादेखि राष्ट्रियसभा सदस्यसम्मको संसदीय अनुभव बोकेकी नेतृ हुन्।
दाङको कांग्रेस राजनीतिमा लामो समयदेखि सक्रिय देवकोटाले पार्टी संगठनसँगै संसदीय राजनीतिमा पनि आफ्नो पहिचान बनाएकी छन्। उनको राजनीतिक यात्राको महत्वपूर्ण अध्याय २०६४ सालको पहिलो संविधानसभा निर्वाचनसँग जोडिन्छ। उक्त निर्वाचनमा उनी दाङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेकी थिइन्। २०७० मा संविधानसभा सदस्य बनेकी देवकोटा राष्ट्रिय सभाकी पूर्व प्रमुख सचेतक पनि हुन् ।
संविधान निर्माणको ऐतिहासिक चरणमा कांग्रेसबाट सक्रिय रहेकी देवकोटा त्यसपछि पनि पार्टी राजनीतिमा निरन्तर सक्रिय रहिन्।
राष्ट्रियसभामा रहँदा देवकोटाले महिला अधिकार, संविधानको कार्यान्वयन, लोकतन्त्र, सामाजिक न्याय तथा समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्दै आएकी थिइन्।
विशेषगरी महिला अधिकार र राजनीतिक सहभागिताको विषयमा देवकोटाले निरन्तर आवाज उठाउँदै आएकी छन्।
दाङ कांग्रेसको संगठनात्मक इतिहासमा पनि देवकोटाको नाम लामो समयदेखि जोडिँदै आएको छ।
पछिल्लो समय पनि देवकोटाले दाङमा पार्टी संगठन र कांग्रेसको आन्तरिक राजनीतिमा आफ्नो सक्रियता कायम राखेकी छन्। १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नम्बर २ बाट उनी महासमिति सदस्यमा निर्विरोध चयन भएकी छन्।
महिला नेतृत्वको सवालमा पनि देवकोटाको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
संविधानसभा सदस्य, राष्ट्रियसभा सदस्य हुँदै पार्टीको केन्द्रीय तहमा नेतृत्वदायी भूमिका खोजिरहेकी देवकोटाले अब कांग्रेसको नीति, संगठन र नेतृत्वमा आफ्नो अनुभवलाई थप प्रभावकारी रूपमा प्रयोग गर्ने लक्ष्य लिएकी छन्।
१५औँ महाधिवेशनमा महिला खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवारी दिएसँगै देवकोटाको राजनीतिक यात्राले नयाँ मोड लिएको छ। संसदीय अनुभव, संगठनमा लामो सक्रियता र महिला नेतृत्वको पक्षमा उठाउँदै आएको आवाजलाई आधार बनाएर उनी महाधिवेशन प्रतिनिधिहरूको विश्वास जित्ने प्रयासमा छन्।
देवकोटाको उम्मेदवारीले कांग्रेसभित्र महिला नेतृत्वको प्रश्नसँगै दाङबाट केन्द्रीय तहमा प्रभावकारी प्रतिनिधित्वको बहसलाई समेत थप बल दिएको छ। अब उनको राजनीतिक यात्राको अर्को परीक्षा भनेको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूको मतमार्फत केन्द्रीय नेतृत्वमा पुग्ने प्रयास हुनेछ।


