संघर्षदेखि केन्द्रको यात्रासम्म : लुम्बिनीबाट कांग्रेस केन्द्रीय सदस्यमा गिरिजादेवी न्यौपानेको दाबी – Kanika Khabar
Wednesday, October 7Nepali News Portal

संघर्षदेखि केन्द्रको यात्रासम्म : लुम्बिनीबाट कांग्रेस केन्द्रीय सदस्यमा गिरिजादेवी न्यौपानेको दाबी

    मा प्रकाशित


दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट महिला भूगोलतर्फ केन्द्रीय सदस्य पदमा गिरिजादेवी न्यौपानेले उम्मेदवारी प्रस्तुत गरेकी छन्। लामो समयदेखि कांग्रेसको संगठन निर्माण र पार्टीका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएकी न्यौपाने यसपटक केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्दै महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेकी छन्।

दाङको राजनीतिक तथा संगठनात्मक वृत्तमा परिचित न्यौपाने पार्टीको स्थानीय तहदेखि क्षेत्रीय र जिल्लास्तरका गतिविधिमा निरन्तर सक्रिय नेतृका रूपमा स्थापित छिन्। उनको राजनीतिक यात्राले संगठनमा महिलाको सहभागिता र नेतृत्वलाई अघि बढाउने प्रयासलाई समेत प्रतिनिधित्व गर्छ।

न्यौपाने यसअघि नेपाली कांग्रेसको महासमिति सदस्यका रूपमा पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेकी थिइन्।उनको राजनीतिक सक्रियता नयाँ भने होइन। दाङ कांग्रेसको संगठनात्मक इतिहासमा समेत गिरिजादेवी न्यौपानेको नाम देखिन्छ।

राष्ट्रियसभा निर्वाचनमा पनि उम्मेदवार

न्यौपानेले यसअघि राष्ट्रिय राजनीतिमा आफ्नो दाबी प्रस्तुत गरिसकेकी छन्। २०७६/७७ को राष्ट्रियसभा निर्वाचनमा तत्कालीन प्रदेश नं. ५ बाट नेपाली कांग्रेसका तर्फबाट महिला समूहमा उम्मेदवारी दिएकी थिइन्।

पार्टीको संगठनात्मक गतिविधिमा उनको सक्रियता निरन्तर रहँदै आएको देखिन्छ।

प्रदेश र केन्द्रबिचको सेतु बन्ने दाबी

कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेका बेला लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यका आकांक्षीहरूबिच प्रतिस्पर्धा तीव्र बनेको छ।
यही प्रतिस्पर्धाबिच न्यौपानेले महिला भूगोलतर्फ आफ्नो उम्मेदवारी अघि सारेकी हुन्। उनको उम्मेदवारीलाई लुम्बिनी प्रदेशका महिला नेतृहरूको केन्द्रीय राजनीतिमा प्रतिनिधित्व बढाउने प्रयासका रूपमा पनि हेरिएको छ।

पार्टी संगठनलाई थप सुदृढ बनाउने, महिलाको नेतृत्व विकासलाई प्राथमिकता दिने र स्थानीय तहमा रहेका कांग्रेस कार्यकर्ताको आवाज केन्द्रसम्म पुर्‍याउने प्रतिबद्धतासहित उनी महाधिवेशन प्रतिनिधिसँग समर्थन मागिरहेकी छन्।

लुम्बिनी प्रदेशको राजनीतिक भूगोल, कांग्रेसको सांगठनिक संरचना र महिलाको नेतृत्व विकासको विषयलाई केन्द्रमा राखेर केन्द्रीय सदस्यमा आफ्नो भूमिका प्रभावकारी बनाउने उनको दाबी छ।

लामो राजनीतिक तथा सांगठनिक अनुभवलाई आधार बनाउँदै न्यौपानेले यसपटक केन्द्रीय सदस्यका रूपमा कांग्रेसको नीति निर्माण तहमा पुग्ने लक्ष्य लिएकी छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्