घोराही । घोराही उपमहानगरपालिका–१५ बुद्ध हस्पिटलनजिकै भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
बिहीबार बेलुकी विपीचोकदेखि ट्राफिक चोकतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकललाई सोही दिसातर्फ जाँदै गरेको रा ६ प ६६७५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा नम्बर नखुलेको मोटरसाइकलका चालक घोराही–२ निवासी ४० वर्षीय टोपबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गम्भीर घाइते वलीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा ठक्कर दिने मोटरसाइकलका चालक बंगलाचुली गाउँपालिका–४ का २३ वर्षीय सुनिल खत्री र पछाडि सवार सोही ठाउँका २० वर्षीय रामबहादुर डाँगी गम्भीर घाइते हुनुभएको छ । खत्रीको टाउको, छातीमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने अर्का घाइते रामबहादुर डाँगीको अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार बंगलाचुली–४ कै २० वर्षीय मोहन डाँगी फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा नम्बर नखुलेको मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


