काठमाडौँ । बलिउड अभिनेता इमरान खानलाई भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मुम्बईको अगस्त क्रान्ति मैदानमा भएको प्रदर्शनमा सहभागी भएपछि प्रहरीले इमरानलाई अक्टोबर २८ भित्र भारत छाड्न नोटिस दिएको हो । अमेरिकी राहदानी भएका इमरानमाथि भारतीय नागरिक नभई प्रदर्शनमा सहभागी भएको आरोपमा आप्रवासन कानुनअन्तर्गत कारबाही अघि बढाइएको बताइएको छ ।
इमरानका वकिलले विदेशमा बस्ने भारतीय मूलका नागरिकका लागि जारी गरिने ओसीआई कार्डधारकलाई प्रदर्शनमा सहभागी हुन कानुनले रोक नलगाएको दाबी गर्दै प्रहरीको निर्णयलाई अदालतमा चुनौती दिने बताएका छन् ।
इमरानले भने आफू मुम्बईको नागरिकका रूपमा प्रदर्शनमा सहभागी भएको र नागरिकको आवतजावत तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइएको विषयमा प्रश्न उठाउन गएको बताएका थिए ।
मतदाता सूचीको विशेष पुनरावलोकनका क्रममा लाखौँ मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको विपक्षी दल तथा प्रदर्शनकारीहरूको आरोप छ । यही विषयलाई लिएर मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन भएको थियो ।


