अफगानिस्तान सीमामा गोली हानाहान, सात पाकिस्तानी सैनिकको मृत्यु – Kanika Khabar
Sunday, October 18Nepali News Portal

अफगानिस्तान सीमामा गोली हानाहान, सात पाकिस्तानी सैनिकको मृत्यु

    मा प्रकाशित

काठमाडौँ । पाकिस्तान र अफगानिस्तानको सीमामा भएको भीषण गोली हानाहानमा सात पाकिस्तानी सैनिकको मृत्यु भएको छ । सञ्चारमाध्यमका रिपोर्टअनुसार विवादित डुरान्ड रेखामा दुवै देशका सुरक्षाकर्मीबीच झडप भएको हो ।

पाकिस्तानले जवाफी कारबाहीमा अफगान तालिबानका लडाकुहरू मारिएको र उनीहरूको एउटा सैन्य अखडा ध्वस्त पारेको दाबी गरेको छ । यद्यपि, दुवै पक्षले एकअर्कालाई गोलीबारी सुरु गरेको आरोप लगाएका छन् ।

पाकिस्तानका अनुसार अफगान सीमा सुरक्षाकर्मीले कुनै उक्साहटबिना खैबर पख्तुनख्वा प्रान्तको उत्तरपश्चिमी कुर्रम जिल्लास्थित पाकिस्तानी जाँच चौकीमा गोली चलाएका थिए । त्यसपछि पाकिस्तानी सेनाले जवाफी कारबाही गरेको उसको भनाइ छ ।

अफगान सुरक्षा स्रोतहरूले भने पाकिस्तानी सैनिकले पहिले गोली चलाएको र अनुमति नलिई सीमा चौकी निर्माण गर्न खोजेको आरोप लगाएका छन् । अफगान पक्षले जवाफी कारबाहीमा पाकिस्तानी सैनिकलाई क्षति पुर्‍याएको दाबी गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनअनुसार सन् २०२६ मा सीमापार हिंसाका कारण अफगानिस्तानमा ११०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । पाकिस्तान र अफगानिस्तानबीच पछिल्लो समय सीमा क्षेत्रमा सैन्य तनाव बढ्दै गएको छ ।

पाकिस्तानले अफगानिस्तानको तालिबान प्रशासनले तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) का लडाकुलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । टीटीपीले अफगानिस्तानको भूमिबाट पाकिस्तानमा आक्रमणको योजना बनाउने र कार्यान्वयन गर्ने गरेको इस्लामाबादको दाबी छ । तर, काबुलले यी आरोप अस्वीकार गर्दै आएको छ ।

अफगान तालिबान र टीटीपीबीच निकट सम्बन्ध रहेको बताइन्छ । सन् २०२१ मा अफगान तालिबान पुनः सत्तामा फर्किएपछि पाकिस्तानले टीटीपीलाई लक्षित गर्दै अफगानिस्तानभित्र पनि आक्रमण गरेको छ ।

गत अक्टोबर १ मा पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई आक्रमणमा महिला र बालबालिकासहित नौ जनाको मृत्यु भएको तथा ११ जना घाइते भएको तालिबान प्रशासनले जनाएको थियो ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आक्रमणमा तीनवटा घर ध्वस्त भएको दाबी गर्दै त्यसलाई अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन भनेका थिए । पाकिस्तानले भने अफगानिस्तानमा रहेका दुई आतङ्कवादी अखडालाई लक्षित गरी आक्रमण गरेको र त्यसमा कम्तीमा २२ लडाकु मारिएको दाबी गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्