दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै चाडपर्वलाई सभ्य, मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गरेको छ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने र सचिव आदिम केसीद्वारा जारी प्रेस विज्ञप्तिमार्फत विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति तथा परम्पराले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, सहकार्य र सामाजिक एकतालाई बलियो बनाउँदै आएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा विजयादशमीले सत्यको विजय र असत्यमाथि सत्यको जितको सन्देश दिने, दीपावलीले अन्धकारबाट उज्यालोतर्फ तथा निराशाबाट आशातर्फ अघि बढ्न प्रेरणा दिने र छठ पर्वले प्रकृति, सूर्य तथा जलप्रतिको सम्मान एवं आस्थालाई उजागर गर्ने उल्लेख गरिएको छ। यस्ता पर्वहरूले नेपालको मौलिक पहिचान, ऐतिहासिक गौरव र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने प्याब्सन दाङको भनाइ छ।
प्याब्सन दाङले चाडपर्व केवल उत्सव मनाउने अवसर मात्र नभई मौलिक संस्कार, संस्कृति, परम्परा र सामाजिक मूल्य–मान्यताको संरक्षण तथा पुस्तान्तरण गर्ने महत्वपूर्ण अवसर भएको जनाएको छ। नयाँ पुस्तालाई चाडपर्वका ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे परिचित गराउँदै संस्कारयुक्त, जिम्मेवार र असल नागरिक निर्माणमा अभिभावक तथा विद्यालयको भूमिका महत्वपूर्ण हुने विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, चाडपर्वका क्रममा हुने अनावश्यक खर्च, विकृति तथा विसङ्गतिबाट टाढा रहँदै सादगी, शान्ति, आपसी सद्भाव र सामाजिक मर्यादालाई प्राथमिकता दिन प्याब्सन दाङले आग्रह गरेको छ। वातावरणीय स्वच्छता, स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिन तथा पर्वका नाममा हुने अनावश्यक तडकभडक र खर्च नियन्त्रण गर्नसमेत अपिल गरिएको छ।
प्याब्सन दाङले विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, विद्यालय सञ्चालक, शिक्षाप्रेमी, सञ्चारकर्मी तथा सरोकारवाला सबैमा आपसी सम्मान, सहकार्य र एकताको भावना थप सुदृढ बनाउन आग्रह गरेको छ।
प्याब्सन दाङले विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ ले सम्पूर्ण नेपालीको जीवनमा नयाँ उत्साह, उमङ्ग, आशा, सकारात्मक ऊर्जा, सुख, शान्ति, समृद्धि र सद्भाव ल्याओस् भन्ने शुभकामना व्यक्त गरेको छ।
यसैबिच प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण ओली र सचिव बिमल भण्डारी , प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगी र सचिव कमल सापकोटा, प्याब्सन लमहीका अध्यक्ष नारायण भुसाल र सचिव लोकमान रिजाल, प्याब्सन राप्तीका अध्यक्ष रामप्रसाद शर्मा र सचिव भेषबहादुर बुढाथोकी, प्याब्सन गढवाका अध्यक्ष विकास रजौरे र सचिव थानेश्वर न्यौपाने, प्याब्सन शान्तिनगरका फोकल पर्सन ज्ञानु वली, प्याब्सन दङ्गीशरणका फोकल पर्सन दुर्गा खड्का तथा प्याब्सन बबईका फोकल पर्सन राजु शर्माले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी शुभकामना व्यक्त गरेका छन् ।



