दाङ । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका नगर कार्यसमितिले विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै पर्वले समाजमा आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै सकारात्मक परिवर्तनका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेको छ।
नगर सभापति तिलक रावत र सचिव सनत गिरीद्वारा जारी शुभकामना सन्देशमा विजयादशमीलाई सत्य, न्याय र सदाचारको पक्षमा उभिन प्रेरित गर्ने सांस्कृतिक पर्वका रूपमा उल्लेख गरिएको छ। सन्देशमा चाडपर्वले पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै सामाजिक एकता, सहिष्णुता र पारस्परिक सम्मानको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिबीचको विविधता नेपाली समाजको विशिष्ट पहिचान भएको उल्लेख गर्दै नगर कार्यसमितिले त्यसको संरक्षण र प्रवर्द्धनमा चाडपर्वको महत्वपूर्ण भूमिका रहने जनाएको छ। साथै, पर्वको खुसी र उमङ्गलाई समाजका सबै वर्ग तथा समुदायसम्म पुर्याउँदै सहयोग, सहकार्य र मानवीय सेवाको भावनालाई व्यवहारमा उतार्नुपर्ने सन्देश दिएको छ।
शुभकामना सन्देशमार्फत नगर कार्यसमितिले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समुन्नत समाज निर्माणको यात्रामा सबैलाई सकारात्मक सोच र साझा प्रतिबद्धताका साथ अघि बढ्न प्रेरणा मिलोस् भन्ने अपेक्षा व्यक्त गरेको छ।


