स्वर्णिमप्रति टिप्पणी गर्दै सुर्य थापाले भने- महत्वाकांक्षी र पदलोलुपहरूका कारण देश बर्बादीतर्फ गयो – Kanika Khabar
Tuesday, October 27Nepali News Portal

स्वर्णिमप्रति टिप्पणी गर्दै सुर्य थापाले भने- महत्वाकांक्षी र पदलोलुपहरूका कारण देश बर्बादीतर्फ गयो

    मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैली र अभिव्यक्तिमाथि कडा टिप्पणी गरेका छन् ।

थापाले महत्वाकांक्षी र पदलोलुप व्यक्तिहरूका कारण देश बर्बादीतर्फ गइरहेको आरोप लगाउँदै वाग्लेलाई अर्थमन्त्रीबाट हटाउन प्रधानमन्त्रीसँग माग गरेका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत वाग्लेको आलोचना गर्दै राष्ट्रिय योजना आयोगको सदस्य तथा उपाध्यक्ष भइसकेका व्यक्तिले आफूलाई नयाँ पात्रका रूपमा प्रस्तुत गर्नु उचित नभएको बताएका छन् । प्रतिनिधिसभाको अर्थ समितिमा सँगै काम गर्दाको अनुभव उल्लेख गर्दै उनले समितिको बैठकमा वाग्लेको भूमिका र उपस्थितिबारे पनि प्रश्न उठाएका छन् ।

थापाले वैकल्पिक विकास वित्त परिचालन कोषसम्बन्धी विधेयक संसद्बाट पारित भएपछि अर्थमन्त्री वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले त्यसका महत्वपूर्ण प्रावधान परिवर्तन गरेको आरोप लगाएका छन् । यसले संसद् र अर्थ समितिको प्रयास कमजोर बनाएको उनको दाबी छ । साथै, वाग्लेको आर्थिक विज्ञताबाट अर्थतन्त्र सुधारमा अपेक्षित परिणाम नदेखिएको र विद्युतीय गाडीको भन्सारसम्बन्धी विषयमा पनि प्रश्न उठेको थापाको भनाइ छ ।

भारत भ्रमणका क्रममा वाग्लेले दिएको अभिव्यक्तिप्रति पनि थापाले आपत्ति जनाएका छन् । भारतको विरोध गरेर मात्रै राष्ट्रवादी देखिने युग सकिएको भन्ने वाग्लेको भनाइलाई नेपालको राष्ट्रिय स्वाभिमान र हितविपरीत भएको उनको आरोप छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका अतिक्रमित भूभाग फिर्ता गर्न आवाज उठाउनु भारतविरोधी राष्ट्रवाद नभएको उल्लेख गर्दै थापाले नेपालको सीमा र राष्ट्रिय हितको विषयमा स्पष्ट अडान आवश्यक रहेको बताएका छन् ।

थापाले अर्थमन्त्री वाग्लेको अभिव्यक्ति उनको मन्त्रालयको कार्यक्षेत्रभन्दा बाहिर रहेको दाबी गर्दै प्रधानमन्त्रीले उनलाई यथाशीघ्र पदबाट हटाउनुपर्ने बताएका छन् । विदेशी विश्वविद्यालयको उपाधि र अन्तर्राष्ट्रिय संस्थाको अनुभवलाई मात्रै योग्यताको आधार मान्न नहुने उल्लेख गर्दै उनले देशको हित, स्वाभिमान र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । थापाका यी टिप्पणी अर्थमन्त्री वाग्लेमाथि लगाइएका राजनीतिक आरोप र उनको कार्यशैलीप्रतिको आलोचनाका रूपमा आएका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्