काठमाडौं । बंगालको खाडीबाट विकसित चक्रवात ‘अर्नब’का कारण भारतका आन्ध्र प्रदेश र ओडिशामा पाँच जनाको मृत्यु भएको छ । तीव्र हावाहुरी र भारी वर्षाले विभिन्न क्षेत्रमा रुख ढल्नुका साथै पुल तथा सडकमा क्षति पुगेको छ ।
चक्रवातको प्रभाव मध्य प्रदेश, राजस्थान, बिहार, उत्तर प्रदेशसहित १५ राज्यमा देखिएको छ । ती क्षेत्रमा वर्षा भइरहेको र आगामी दुई दिनसम्म वर्षा जारी रहने अनुमान गरिएको छ । छत्तीसगढका १२ र ओडिशाका १६ जिल्लामा बिहीबार विद्यालय बन्द गरिएका छन् ।
ओडिशामा करिब ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । गजपति जिल्लामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने छ गाउँको सडक सम्पर्क टुटेको बताइएको छ । चक्रवात मंगलबार राति आन्ध्र प्रदेशको तटीय क्षेत्रमा पुगेका बेला प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावा चलेको थियो ।
भारतको मौसम विभागका अनुसार चक्रवात कमजोर हुँदै गहिरो न्यून चापीय प्रणालीमा परिणत भएको छ । मध्य प्रदेश, राजस्थान, बिहार र उत्तराखण्डका विभिन्न जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको चेतावनी जारी गरिएको छ । खराब मौसमका कारण उत्तराखण्डको केदारनाथ क्षेत्रमा हेलिकप्टर सेवा पनि रोकिएको छ ।
यता, नेपालमा पनि मौसम पूर्वानुमान महाशाखाले आजदेखि चक्रवात ‘अर्नब’ को प्रभाव देखिने भन्दै सतर्क रहन अपिल गरेको छ ।


