काठमाडौं । बाराको फेटा गाउँपालिकामा रोजगार संयोजक पदमा कार्यरत ओम प्रकाश गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार गिरीले २०७८ जेठ १ गतेदेखि नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृतसरहको रोजगार संयोजक पदमा नियुक्ति पाउन पेस गरेको तीनवर्षे बीएड तहको लब्धाङ्कपत्र अनुसन्धानका क्रममा नक्कली रहेको खुलेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा उक्त लब्धाङ्कपत्र गिरीको नभई अन्य व्यक्तिको भएको पुष्टि भएपछि उनले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पद प्राप्त गरेको आयोगको निष्कर्ष छ ।
आयोगले गिरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबीसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।


