कनिका खबर
भदौ १७, झापा
रिएजेन्टको अभावमा रोकिएको मेची अञ्चल अस्पतालको पीसीआर प्रयोगशाला अबको केही दिन भित्रमा पुनः सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्बर ठाकुरले दिनु भएको जानकारी अनुसार मेची अस्पतालको प्रयोगशालामा भई रहेको पीसीआर परीक्षण बिगत केही दिनयता स्थगित भएको छ । पीसीआर परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट (सिलिङ फोयल) को अभावका कारण प्रयोगशालाको नियमित परीक्षण रोकिएको प्रयोगशालाकी इन्चार्ज डा. प्रतिमा शर्माले बताउनु भयो । डा. शर्माका अनुसार नेपालमानै २ वटाको संख्यामा मात्र रहेका उच्च गुणस्तर सहितको परीक्षण मेशिन मेची अस्पतालको प्रयोशालामा प्रयोग भएकाले समेत पीसीआर परीक्षणका लागि आवश्यक पर्ने प्लेट कभरको अभाव भएको हो । स्विस सरकारको अनुदानमा प्राप्त मेशिन मेची अस्पतालको प्रयोगशालामा प्रयोगमा ल्याइएको थियो । डा. शर्माले दिनु भएको जानकारी अनुसार आवश्यक पर्ने रिएजेन्ट भारतबाट माग गरिएको र आउँदो शनिबारसम्ममा आई पुग्ने अनुमान गरिएको छ । रिएजेन्ट प्राप्त भएमा आउँदो आईतबारबाट प्रयोगशालाको नियमित परीक्षण सुरु हुनेछ । डा. शर्माले दिनु भएको जानकारी अनुसार प्रयोगशालामा हाल सम्म २५ सयबढीको पीसीआर परीक्षण गरिसकिएको छ । जसमा ३२ वटा नतिजा पोजेटिभ आउँदा बाँकी सबै नतिजा नेगेटिभ आएको छ । प्रयोगशालाले एकपटकमा करीब सयवटा नमुनाको परीक्षण नतिजा दिदैं आएको छ । प्रयोगशाला दुई सिफ्टमा सञ्चालन आएको थियो ।
मा प्रकाशित