असोज ६, दाङ ।
एसियाली विकास बैंक (एडीबी) ले नेपालमा चालु आर्थिक वर्ष २०७८÷७९ को आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने प्रक्षेपण गरेको छ । बैंकले आज सार्वजनिक गरेको प्रक्षेपणमा यस्तो उल्लेख गरेको छ । चालु आर्थिक वर्षमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान सरकारले गरेको छ । उक्त प्रक्षेपणको तुलनामा करीब आधा कम मात्र लक्ष्य भेट्ने अनुमान बहुराष्ट्रिय निकायको छ ।
एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नौड काचोइसले नेपालमा जारी कोरोना विरुद्धको खोप अभियानले विकासको गतिमा ठूलो समर्थन मिल्ने बताउनुभयो । कोरोना महामारीका कारण प्रभावित क्षेत्रको पुनरुत्थान र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउने घोषणाको सकारात्मक प्रभाव समेत अर्थतन्त्रमा पर्नेछ । खुद्रा व्यापार, यातायात र वित्तीय सेवामा भइरहेको चलायमान अवस्थाले समेत आर्थिक वृद्धिमा सघाउ पुग्ने एडीबीले जनाएको छ ।
पर्यटक आगमनमा ८० प्रतिशत भन्दा बढीको गिरावट आएको छ । यो वर्ष मुद्रास्फिति भने ५ दशमलव २ प्रतिशतसम्म पुग्ने अनुमान छ । अघिल्लो आवमा मुद्रास्फिति ३ दशमलव ६ प्रतिशत मात्र रहेको छ ।