
दाङ ।घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई कक्षा ९ का विद्यार्थीहरूले वनभोजसहित विशेष कार्यक्रम आयोजना गरी विदाई गरेका छन्।
कक्षा ९ का छात्र निश्चल जी.एम.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष हिमलाल राणा प्रमुख अतिथि तथा विद्यालयका प्रिन्सिपल पोषण न्यौपाने विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा विद्यालय सञ्चालक समितिका सदस्य तथा शिक्षक बसन्त जी.एम.,टिकाराम चौधरी, भाइस प्रिन्सिपल सुरेश डी.सी., शिक्षक चन्दन गुप्ता र विनोद ढकाल लगायतले कक्षा १० का विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रिन्सिपल पोषण न्यौपानेले विद्यार्थी जीवनलाई व्यक्तित्व निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै अनुशासन, परिश्रम र सकारात्मक सोचले मात्र जीवनमा सफलता हासिल गर्न सकिने बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यार्थीले विद्यालयबाट प्राप्त गरेको शिक्षा, ज्ञान र संस्कारलाई व्यवहारमा उतार्न सके मात्र त्यो शिक्षा सार्थक हुन्छ। आगामी एसईई परीक्षा तपाईंहरूको जीवनको महत्वपूर्ण मोड हो, त्यसैले आत्मविश्वासका साथ मेहनत गर्दै उत्कृष्ट नतिजा हासिल गर्नुस्।”
उहाँले विद्यार्थीहरूलाई समयको सदुपयोग गर्न, लक्ष्यप्रति दृढ रहन र समाजप्रति जिम्मेवार नागरिकका रूपमा अघि बढ्न प्रेरणा समेत दिनुभयो।
कार्यक्रमको सुरुवात कक्षा ९ की छात्रा भावना भण्डारीको स्वागत मन्तव्यबाट भएको थियो भने कक्षा ९ का छात्र सुजित कुमार परियारले उपस्थित सम्पूर्ण अतिथिहरूलाई कक्षा ९ को तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन तथा सहजीकरण कक्षा ९ का छात्र प्रज्वल विकले गर्नुभएको थियो।
वनभोज, शुभकामना आदानप्रदान तथा आत्मीय वातावरणबीच सम्पन्न उक्त विदाई कार्यक्रमले विद्यार्थीहरूबीचको सद्भाव, सम्मान र आपसी सम्बन्धलाई अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।


